Shittalpati
भोलिदेखि हुने एसइई परीक्षामा पाल्पाबाट ४ हजार बढी परीक्षार्थी सहभागी हुँदै

पाल्पा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा भोलि बिहीबारदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसइई लिन लागेको हो ।

चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि पाल्पामा आवश्यक तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । यस वर्ष पाल्पाबाट ४ हजार १ सय ८२ परीक्षार्थी परीक्षामा सहभागी हुदैछन् । जसमा नियमिततर्फ ४ हजार १० र ग्रेड बृद्धितर्फ १ सय ७२ जना विद्यार्थी रहेका छन् । नियमिततर्फ २ हजार ८८ छात्रा र १ हजार ९ सय २२ छात्रले परीक्षा दिन लागेका हुन् । यस्तै ग्रेडवृद्धितर्फ ७६ जना छात्रा र ९६ जना छात्रले परीक्षा दिने छन् ।  

सामुदायिक विद्यालयतर्फका तीन हजार ६ सय ९५ र संस्थागत विद्यालयका ४ सय ८७ जनाले परीक्षा दिन लागेका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार सामुदायिक विद्यालयबाट छात्रा एक हजार ९ सय ६४ र छात्र १ हजार ७ सय ३१ परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन् । यस्तै संस्थागतर्फका छात्रा २ सय र छात्र २ सय ८७ जना रहेका छन् ।

परीक्षामा सहभागी परीक्षार्थी मध्ये २ सय ६७ जना विद्यार्थी प्राविधिकधारतर्फका रहेका छन् । जसमा १ सय २६ जना छात्रा र १ सय ४१ जना छात्र रहेको समन्वय इकाई प्रमुख सुवेदीले शितलपार्टीलाई जानकारी दिए । उनका अनुसार एक जना कारागारबाट, एक जना हिरासतबाट र एक जना अपाङ्ग दृष्टिविहिन विद्यार्थीले परीक्षा दिन लागेका छन् । जिल्लामा सबै भन्दा बढी २ सय ८७  दरैठाँटी मावि रामपुर केन्द्रबाट परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाको लागि २७ वटा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुवेदीले जानकारी दिए ।

७ सय ९४ जनशक्ति परिचालन

एसइई परीक्षा सञ्चालनका लागि पाल्पामा ७ सय ९४ जना जनशक्ति परिचालन गरिएको छ । जसमा  ४ सय ५ जना सुरक्षाकर्मी, २७ जना केन्द्राध्यक्ष, २८ जना सहायक केन्द्राध्यक्ष, २ सय १० निरीक्षक, ४० परीक्षा सहायक निरीक्षक र ८४ कार्यालय सहयोगी रहेछन् । समन्वय इकाइका अनुसार एउटा परीक्षा केन्द्रमा कम्तीमा पनि सबै गरी २५ जना जनशक्ति खटिने छन् । सुरक्षा संवेदनशीलता भएका केन्द्रमा भने बढी जनशक्ति परिचालन हुनेछ ।

४ सय ५ सुरक्षाकर्मी खटिँदै

एसइई परीक्षालाई सुरक्षित र मर्यादित बनाउन जिल्लाभरका परीक्षा केन्द्रहरूमा ४ सय ५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षाको प्रश्नपत्र केन्द्र पुर्‍याउनेदेखि उत्तरपुस्तिका परीक्षण केन्द्रसम्म पु¥याउने जिम्मा पनि प्रहरीलाई नै दिइएको छ । परीक्षाका बेला सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

 परीक्षालाई सभ्य एवं भव्य बनाउन परीक्षा समन्वय समितिले सबैलाई आग्रह गरेको छ । उसले परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत समेत बनाएको छ । आज हुन लागेको परीक्षामा पाल्पासहित देशभरबाट पाँच लाख चार हजार ४ सय १४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ परीक्षार्थी सहभागी हने बोर्डले जनाएको छ । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा पर्ने छन् । दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update