Shittalpati
सद्भाव र रंगको पर्व होली : आज र भोलि

पाल्पा,  देशभरी सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागु वा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाका दिन रङहरुको होली पर्व मनाउने गरिन्छ ।  यस वर्षको होली आइतबार (आज) पहाडमा र सोमबार (भोली) तराई/मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ ।  

यो पर्वले हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने गर्दछ । वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेल्ने परम्परा छ । होलिकै भोलिपल्टबाट ऋतुराज वसन्तको आगमन हुने विश्वास रहेको छ । विशेषगरी, तराईमा विशेष उल्लासका साथ मनाइने होली पछिल्लो समयमा पहाडमा पनि नाचगान गरेर, साथीभाइ एकआपसमा मिलेर मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ । आसुरी शक्तिकी द्योतक होलिकालाई आगोले भस्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपिनीले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथालगायतका प्रसंग होलीसँग जोडिएको कुरा धार्मिक ग्रन्थमा उल्लेख छ ।

नेपाल, भारत र अन्य राष्ट्रमा हिन्दू तथा गैरहिन्दूहरूका लागि होली महत्वपूर्ण पर्व हो । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिनमा मनाइने प्रमुख चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा भगवान् विष्णुका परम् भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैं आगोमा भष्म भएकी थिइन् र विष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरु भएको मानिन्छ ।

वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रंगहरूबीचको सम्बन्ध अनि रंगले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । होलीका दिन मानिसहरूले एक–अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक–अर्कालाई रंगीन बनाउँछन् । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यो चाडमा विशेष गरी थकालीहरू रङ्गी बिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् ।

आज पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू हातमा रङ र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाउँदै छन् । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरीलगायत रङ लगाउने चलन छ । तर पछिल्लो समय पर्वका नाममा होली खेल्न मन नहुने वा होली नखेलेका व्यक्तिलाई जबर्जस्ती रंग लगाइदिने गरिन्छ । यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय पाल्पाले भने सबैमा अनुुरोध गरेको छ । उसले होलीका अवसरमा लोला हान्ने, पानी छ्याप्ने, जथाभावी रंग दल्ने, बाटोमा ढुकेर बाटो हिड्नेहरुलाई रंग लगाईदिने, सडक अवरोध गरेर सवारी साधनबाट रकम असुल्ने जस्ता अराजक कार्य नगर्न अनुरोध गरेको छ । प्रशासनले सूचना निकालेर यति कोही कतै अराजक गतिविधि गरेको पाइएमा कानुनी कारवाही गर्ने जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । उसले एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ । कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गरिने समेत प्रहरीले जनाएको छ । प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न भनेको छ । रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न  पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update