Shittalpati
बाली जोगाउन किसानलाई भोटे कुकुर

अर्घाखाँची, पाणिनी गाउँपालिका पोखराथोकमा वन्य जन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ ।   पाणिनी गाउँपालिका–२ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।

बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी किसानका मागका आधारमा भोटे कुकुर वितरण गरिएको जनाइएको छ । बाँदरका कारण बाली जोगाउन मुस्किल भएका तथा वन्यजन्तुबाट हैरानी खपेका किसान पनि भोटे कुकुर पाएपछि खुशी भएका छन् । पोखराथोकका किसान भाष्करराज पौडेलले भने,‘वन्यजन्तुबाट खेतीपाती तथा फलफुल जोगाउन मुस्किल छ । बाँदर तथा वन्ययजन्तुबाट पाइरहेको हैरानी भोगेका हामीलाई भोटे कुकुर पाएपछि खुसी भएका छौँ ।’ किसानहरुको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागतमा ती कुकुर वितरण गरिएको हो ।

वडा अध्यक्षसहित गाउँपालिकाको कृषि तथा पशु शाखाका प्राविधिकहरु समेतले धादिङ भोटे कुकुर क्लव अफ नेपाल, पोखरा महानगर पालिकाको वडा नं २१ र माछापुच्छ्रे गाउँपालिकाबाट खरिद गरी ल्याइएका ती भोटे कुकुर किसानलाई एक कार्यक्रममार्फत वितरण गरिएको हो । सबै कुकुरको स्वास्थ्य प्रतिवेदन, डीएनए परीक्षण भइसकेको वडा अध्यक्ष पौडेलले जानकारी दिए । चालिसदेखि ६० दिनसम्मका कुकुरहरुको खरिद मूल्य प्रतिकुकुर ३५ हजार छ । बाँदर र बँदेल जस्ता वन्यजन्तुले सताउन थालेपछि अर्घाखाँचीसहित पहाडी जिल्लाका मानिसहरुको बढ्दो बसाइसराइ रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकृत रोमाकान्त न्यौपानेले बताए । 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update