Shittalpati
सबैको उत्सव, तानसेन महोत्सव आजदेखि

पाल्पा,तानसेनको टुँडिखेल मैदानमा आजदेखि प्रथम तानसेन महोत्सव २०८० हुँदैछ । १० महिनापछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बुढाबुढी, युवा र युवती, सबैको लागि तानसेन महोत्सव उत्सवमय बन्ने छ । 

गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । आजदेखि यहाँ फरक प्रकृतिको माहोल हुँदैछ । केही वर्ष यता सुनशान बनेको तानसेन फेरि एक पटक गुञ्जायमान बन्दैछ । मानिसहरुको चहलपहल बढ्दो छ । तानसेन नगरपालिकाको  आयोजना र राजधानी राइड्र्स नेपालको व्यवस्थापनमा पहिलो पटक तानसेन महोत्सव हुन लागेको हो । पाल्पा उद्योग वाणिज्य संघले २०६० यता हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । उसले यस अघि वैशाख १४–२४ गतेसम्म १३ औं पाल्पा महोत्सव गरेको थियो । यस पटक तानसेनमा महोत्सव भएको एक वर्ष नपुग्दै पुनः तानसेन महोत्सव हुन लागेको हो । कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापारको प्रवद्र्धन गर्ने उद्देश्यले नगर सरकारले पहिलो पटक व्यापार महोत्सव गर्न लागेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनले महोत्सवमा पाल्पा र नगरभित्र उत्पादित कृषि तथा घरेलु उद्योगका मात्रै ५० स्टल रहने बताए । महोत्सवमा ३ सय स्टल राखिनेछ । महोत्सवबाट नगरको आन्तरिक राजश्वमा वृद्धि हुने र त्यसले तानसेनको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने  नगर प्रमुख श्रेष्ठको भनाई छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको नगर प्रवक्ता यादवसिंह कार्कीले बताए । महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीय स्तरका कलाकारहरुको नृत्य, झाँकी जस्ता प्रतियोगिता हुने उनले बताए । महोत्सवमा समाचार संकलनका लागि पत्रकारहरुलाई परिचयपत्र अनिवार्य गरिएको र थप पासको आवश्यक नपर्ने नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले बताए । 

महोत्सवबाट ६१ लाख बढी बचत गर्ने नगरपालिकाले लक्ष्य लिएको छ । महोत्सवले चौतर्फी व्यवसायमा सहयोग गर्नेछ । सुस्ताएको व्यवसाय माथि उठाउन महोत्सवले इट्टा थप्ने नगर सरकारले विश्वास लिएको छ । यसले व्यवसायी बीच सहकार्य गर्ने समेत अवसर दिन्छ । 

महोत्सवमा पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा विक्रि समेत राखिने छ । मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति पनि रहने छ । महोत्सव फागुन १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update