Shittalpati
संकटमा प्रजातन्त्र

पाल्पा, ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

सोमबार पनि राजनीतिक दल, नेता र सरकारका सम्पूर्ण निकायले प्रजातन्त्रको स्मरण गरे । प्रजातन्त्र ल्याउन योगदान दिएका योद्वा र उनीहरूको सपनाको सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्, प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन् । तर, उतिबेलाको परिवर्तनले देखाएको बाटोमा हिँड्न भने कोही पनि तयार देखिँदैनन् । ००७ सालको क्रान्ति सफल तुल्याउन एकताबद्ध भएका पक्ष वा शक्तिहरू संविधानसभाको संयुक्त प्रतिबद्धता अघि बढाउने दिशामा सहकार्य, मेलमिलाप तथा ऐतिहासिक दायित्व पूरा गर्न चुकेका छन् । प्रजातन्त्र स्थापना भएको ७४ वर्ष हुँदासम्म पनि दलहरूले मुलुकलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउन सकेका छैन ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २००७ सालको जनक्रान्तिको स्मरण गर्दै प्रजातन्त्रले नेपालको लोकतन्त्र र नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराएको बताएका छन् । उनले संविधानको प्रगतिशील कार्यान्वयन मार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको भन्दै ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्ने जोड दिएका छन् । प्रचण्डले मात्र होइन विभिन्न राजनीतिक दलका नेताहरुले समेत प्रजातन्त्रको योगदानको स्मरण गरेका छन् । तर भाषणमा प्रजातन्त्रको स्मरण गरिए पनि व्यवहारमा भने कसैले पनि उतार्न सकेका छैनन् । प्रजातन्त्र दिवस पितृको वार्षिक श्राद्ध गरेजसरी औपचारिकतामा सीमित गरेर मात्र यसको औचित्य पुष्टि हुन सक्दैन । प्रजातन्त्र दिनदिनै शिथिल बन्दै गएको कसैले देखिरहेको छैन । निर्वाचित जनप्रतिनिधिबाटै हाम्रो प्रजातन्त्र संकटमा पर्दै गएको छ ।

प्रजातन्त्रलाई अवशान हुनबाट जोगाउने एकमात्र वैधानिक उपाय नागरिक निगरानी नै हो । गुठीसम्बन्धी विधेयकको विरोधमाजसरी सरकार र दलहरूको निरंकुश शैलीविरुद्ध नागरिक निगरानी बढाउन सकियो भने मात्र प्रजातन्त्रलाई हत्या हुनबाट जोगाउन सकिनेछ । त्यसपछि मात्र नीतिगत सुनिश्चितता सहित पद्धति र प्रणालीको विकास भई विकासले आफ्नो गति आफैं पहिल्याउनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update