Shittalpati
मानव अधिकार संगठनको राष्ट्रिय सम्मेलन पाल्पामा, संगठनको अध्यक्षमा अर्याल

पाल्पा, नेपाल मानव अधिकार संगठनको १५ औं राष्ट्रिय सम्मेलन पाल्पाको ऐतिहासिक नगर तानसेनमा भएको छ  । संगठन पाल्पा शाखाको आयोजनामा सोमबार राष्ट्रिय सम्मेलन २०८० भएको हो । 

नयाँ नेतृत्व चयन गर्नेदेखि संगठनलाई थप बलियो र प्रभावकारी बनाएर लैजाने सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलनले संकटमा रहेको लोकतन्त्रलाई बलियो बनाएर लैजान मानव अधिकार आन्दोलनलाई थप सशक्त बनाएर लैजानुपर्नेमा जोड दिएको छ । द्धन्द्ध कालका पिडित नागरिकहरुले अझै पनि न्याय पाउन नसकेको र लोकतन्त्र थप कमजोर बन्दै गएको भन्दै मानव अधिकारवादीहरुले संगठनलाई थप सशक्त बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।  

सम्मेलनको लुम्बिनी प्रदेशका सभामुख तुलराम (बसन्त) धर्तीले उद्घाटन गरेका हुन् । सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका सभामुख घर्तीले मानव अधिकारवादीहरु सशक्त ढंगले लाग्न जरुरी  रहेको बताएका छन् । उनले पछिल्लो समय मानवअधिकार हनन् गर्नु हुँदै भन्नेहरुबाटै  हनन् हुने गरेको बताउँदै त्यसतर्फ सचेत हुन संगठनलाई आग्रह गरे । सभामुख घर्तीले मानवअधिकारवादीका नाममा नेताहरुको स्वार्थ अनुकूलको काम  गर्न नहुने बताए । उनले भने‘ मानव अधिकारवादी भन्ने तर नेताहरुको वरिपरी रहेर उनीहरुकै अनुकूल आवाज बोल्नु गलत हो । ’ जनताको अधिकार हनन् भयो भन्दै आवाज उठाउने मानव अधिकारवादी कुनै न कुनै स्वार्थमा  लिप्त हुने गरेको सभामुख घर्तीले  आरोप लगाए । उनले भने ‘यहाँ जनताको अधिकार मात्र हनन् भएको छैन् सरकारका अधिकार सरकारबाटै हनन् भएको छ, सानो पहाड भएको राज्यमा ठूलो पहाड भएको राज्यबाट पिडित हुँदा कले न्याय दिने ?’  
‘जनता पिडित हुँदा मानव अधिकारले न्याय दिलाउन आन्दोलन गर्छ तर स्थानीय, प्रदेश सरकार संघीय सरकारबाट पिडित हुँदा कल्ले आन्दोलन गर्ने ? सभामुख घर्तीले भने । अधिकारको विषयमा मानवअधिकारवादीहरु उर्फरहने तर कर्तव्यको पालना नगर्ने उनले बताए । सभामुख घर्तीले कर्तव्यको पालना गरी अगाडि बढ्न संगठनलाई आग्रह गरे । 

कार्यक्रममा संघीय सांसद ठाकुर गैरेले  जनतामा लोकतन्त्र र मानव अधिकारको  प्रत्याभूति हुँदा मात्र समाज स्थापित हुने बताए । उनले भने‘ जब जनताले लोकतन्त्रको अनुभूति गर्छन् तब मानवअधिकारको सार्थकता रहन्छ ।’ जनजिविका र न्यायको पक्षमा पाल्पाले महत्वपूर्ण भूमिका खेलेको सांसद गैरेले बताए । उनले  पछिल्लो समय सरकारले नै लोकतन्त्रमाथि प्रहार गरेको धारणा व्यक्त गरे । सांसद गैरेले  भने ‘लोकतन्त्र खतरामा छ त सरकारकै कारण ।’ उनले जति सको संक्रमणकालीन न्याय टुगोमा पुर्‍याउनुपर्नेमा जोड दिए । सांसद गैरेले भने ‘यो जति ढिला हुन्छ, मानवअधिकार त्यत्ति नै कमजोर हुँदै जान्छ ।’ पिडितले न्याय पाउने गरी टिआरसी विधेयक पारित गरिनुपर्ने उनले बताए । सांसद गैरेले गलत कानुन पारित गर्नबाट भने एमाले सचेत रहेको धारण व्यक्त गरे । लोकतन्त्र र मानवअधिकार रक्षाका लागि गलत कानुन पारित हुनबाट जोगाउन सशक्त ढंगले आवाज उठाउन समेत उनले संगठनलाई आग्रह  गरे । लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले दल र सरकारलाई सशक्त ढंगले खबरदारी गर्न मानवअधिकारवादीहरुलाई आग्रह गरे । उनले अहिलेको व्यवस्था  खराब नभएको तर पद्धती उपयोग गर्ने केही व्यक्तिहरु खराब रहेको बताए ।  खराब व्यक्तिहरुका विरुद्ध सशक्त रुपमा आवाज  उठाउन समेत सांसद रानाले संगठनलाई आग्रह गरे । उनले राजनीतिक दल र कर्मचारीहरुप्रति जनताको वितृष्ण पैदा भएकाले त्यसतर्फ मानवअधिकारीवादीहहरुले चासो देखाउनुपर्नेमा जोड दिए । सांसद रानाले ऐतिहासिक जिल्ला पाल्पालाई छनौट गरेर राष्ट्रिय सम्मेलन गरेकोमा संगठलाई आभार व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सम्मेलनले पाल्पा घोषणपत्र जारी गर्दै मानवअधिकार सुनिश्चित गर्ने दिशामा संगठन  अगाडि बढ्नुपर्नेमा जोड दिए ।

संगठनका पूर्व अध्यक्षहरु प्रा.डा.कपिल श्रेष्ठ, सुदीप पाठक, इन्द्रप्रसाद अर्याल, चरण प्रसाई, संगठनका संस्थापक बाबुराम गिरी, वरिष्ठ अधिवक्ता तथा संविधान विद् दिनेश त्रिपाटी, संगठनका केन्द्रीय सदस्य एवं कार्यक्रम निर्देशक त्रिलोचन पौड्याल लगायतले संविधानमा मानवअधिकारका तमाम अधिकारहरु समावेश गरिए पनि कितावमै सिमित बन्न पुगेको बताएका छन् । उनीहरुले जबसम्म संविधानका आइडलहरु कार्यान्वयन हुँदैनन् तबसम्म मानवअधिकारले सार्थकता पाउन नसक्ने समेत बताए । उनीहरुले दमन, उत्पीडनमा परेका नागरिकहरुका लागि सम्मेलन महत्वपूर्ण हुनेमा समेत जोड दिए । मानवअधिकार संगठन कुनै दान, दक्षिण कसैले दिएको नभई आवाजविहिनहरुको आवाज रहेको उनीहरुको भनाई छ । सम्मेलनको संगठनका केन्द्रीय अध्यक्ष महामुनीश्वर आचार्यको अध्यक्षता, महासचिव नरेन्द्र बास्तोलाको सञ्चालनमा कार्यक्रम भएको थियो । ७७ वटै जिल्लाका मानवअधिकारवादीहरुको उल्लेखीय सहभागीता रहेको पाल्पा शाखाका सभापति बंकीन चन्द्र खनालले बताए ।  
संगठनको अध्यक्षमा अर्याल

यस्तै नेपाल मानव अधिकार संगठनको केन्द्रीय अध्यक्षमा इन्द्र प्रसाद अर्याल चयन भएका छन् । सोमबार पाल्पाको तानसेनमा भएको सगठनको १५ औं राष्ट्रिय सम्मेलनले अर्याललाई अध्यक्षमा  सर्वसमत चयन गरेको हो । उनी काठमाडौंका हुुन् । 
यस्तै सम्मेलनले केन्द्रीय सदस्यहरुमा बागमती प्रदेशबाट राजुु सिग्देल, कोशी प्रदेशबाट हिराबहादुर निरौला, मदेश प्रदेशबाट विमल ठाकुर, गण्डकी प्रदेशबाट लक्ष्मीदेवी जिसी कार्की, लुम्बिनी प्रदेशबाट त्रिलोचन पौड्याल, कर्णली प्रदेशबाट लिलाराज रोकाया, सुुदुरपश्चिमबाट दिनेशराज जोसीलाई चयन गरेको  छ ।   केन्द्रीय सदस्यमा चयन भएकाहरु प्रदेश अध्यक्षको जिम्मेवारीमा रहने जनाइएको छ ।  

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update