Shittalpati
अब सहकारीहरु प्रविधिमैत्री बन्नुपर्छ : अध्यक्ष पाण्डेय

पाल्पा, जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष भूपति पाण्डेयले अब सहकारीहरु प्रविधिमैत्री बन्नुपर्ने बताएका छन् । शुक्रबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको २४ औं साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले पछिल्लो समय सहकारीहरुमा समस्या देखा परेकाले अब सहकारीहरु प्रविधिमैत्री बन्न आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष पाण्डेयले सहकारीमा देखिएको देशव्यापी समस्या आउन नदिन सहकारीहरु प्रविधिमै बन्न जरुरी रहेको धारणा व्यक्त गरे । उनले भने ‘हामीले  सदस्य र पुँजी भित्र्यायौं, तर पुँजी प्रविधि भित्र्याउन सकेका छैनौं, जसले गर्दा अहिले देशव्यापी सहकारीमा समस्या देखिएको हो ।’ सदस्य र पुँजीसँगसँगै प्रविधि भिर्याउने संस्थामा समस्या नआएको तर प्रविधिको प्रयोग नगरेका संस्थाहरुमा समस्या देखिएकाले सबै सहकारी प्रविधिमैत्री बन्नुपर्ने उनले बताए । अध्यक्ष पाण्डेले भने ‘सहकारीले आफ्नो संस्थाको आवश्यकता के हो ? त्यसलाई पहिचान गरेर प्रविधि भित्र्याई हाल्नुहोस् ।’ ‘हामीले अहिले भर्खरै राष्ट्र वाणिज्य बैंक र अन्य विकास बैंकहरुले सञ्चालन गरेका प्रविधिहरु प्रयोग गर्नुहोस् भनेका छैनौं, संस्थाको आवश्यकता अनुसारको प्रविधि प्रयोग गर्नुहोस् मात्र भनेका हौं ’उनले भने । सहकारीलाई प्रविधिमैत्री बनाउन सकियो भने मात्र पनि धेरै समस्या समाधान हुने अध्यक्ष पाण्डेले बताए । उनले प्रविधिको प्रयोगले मानिसका आकांक्षाहरु फरक हुँदा पनि ति आकांक्षा पुरा हुन नदिदां समस्या नआउने उल्लेख गरे । अध्यक्ष पाण्डेयले भने ‘हाम्रा आकांक्षहरु  फरक हुँदा पनि प्रविधिले ति पुरा हुन दिदैन, प्रविधिले तलाई त यो दिन मिल्दैन नि भन्छ, त्यसलाई सुधार गर्न अर्काको सहयोग लिनुपर्ने हुन्छ । अर्काको सहयोग लिने सन्दर्भमा डराइन्छ । त्यसैले प्रविधि यस्तो चिज हो, कहिलेकाही हाम्रो दिमागले गलत काम गर्न खोज्दा खोज्दै पनि रोक्न सक्छ ।’ गलत प्रवृत्ति गर्न खोज्ने कामलाई रोक्नका लागि प्रविधिमैत्री बन्न जिल्लाका सबै सहकारी सञ्चालकहरुलाई उनले आग्रह गरे ।

अध्यक्ष पाण्डेयले जिल्ला सहकारी संघ र बचत संघहरु प्रवद्र्धनात्मक रहेको समेत बताए । अध्यक्ष पाण्डेयले भने ‘हामी निर्देशात्मक होइनौं, प्रवद्र्धनात्मक हौं, चाहे जिल्ला संघ भन्नुहोस् चाहे बचत संघ भन्नुहोस् हामी प्रवद्र्धनात्मक हौं । हामीले यो गर, यो गर्नै पर्छ भन्दैनौं, यदि त्यसो भनियो भने सदस्य मैत्री हुँदैनौं । त्यसैले हामीले सल्लाह र सुझाव मात्र दिन्छौं ।’ संघहरुबाट प्रवद्र्धनात्मक सहयोग लिन समेत उनले सहकारीहरुलाई आग्रह गरे । पाण्डेयले सबै सहकारीहरु संस्थागत बन्नुपर्नेमा जोड दिए । उनले संघहरुले अब सदस्य संख्या वृद्धि नगरी भएका सदस्यहरुलाई व्यवस्थापन गर्न जरुरी रहेको समेत उल्लेख गरे । स्वनियमनका लागि अभियान्ता र सदस्यहरू पनि सजग हुनुपर्ने पनि अध्यक्ष पाण्डेले बताए । कर्जा समयमै तिर्ने, सञ्चालकहरूले ऋण लिएका छन् भने समयमै तिर्नु उनीहरूको दायित्व रहेको उनले उल्लेख गरे । सहकारीलाई आन्तरिक सुशासनमा ल्याउन स्वनियमन प्रभावकारी हुनुपर्नेमा पाण्डेयले जोड दिए । उनले भने ‘सहकारीले मापदण्ड पालना गर्नुपर्छ । हरेक काम नीति, विधि र प्रविधिमा रहेर काम गर्नुपर्‍यो । यसो भएमा स्वनियमनमा राख्न सकिन्छ । ऐन, कानुनको परिपालना गर्नुपर्छ । सहकारीका मूल्य, सिद्धान्त परिपालना गर्नुपर्छ । सुशासनमा ल्याउनु अनुगमनलाई पनि प्रभावकारी बनाउनुपर्छ ।’

कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका सचिव कृष्णप्रसाद भूसालले पछिल्लो समय राष्ट्रियस्तरमै सहकारीको बारेमा नराम्रो सन्देश आइरहेकाले त्यसतर्फ सचेत बन्न सहकारी सञ्चालकहरुलाई आग्रह गरे । उनले भने ‘पाल्पामा अहिलेसम्म त्यस्तो कुनै गतिविधि भएका छैनन् तर त्यस्तो आधिभेरी आयो भने हामी रोक्न सक्दैनौं, आफै सचेत हुनुको विकल्प छैन ।’ सचिव भूसालले एउटा संस्थामा मात्रै हावा छिर्‍ यो भने पनि सबै सहकारीहरु धरासाय हुन सक्नेतर्फ सचेत गराए । उनले सहकारीको विधि, सिद्धान्न र प्रक्रिया अनुसार काम गर्न सहकारीहरुलाई आग्रह गरे । सचिव भूसालले भने ‘हामीले विधि, विधान र सिद्धान्न अनुसार काम गर्‍यो भने समस्या आउँदैन, नत्र भने देशका अन्य ठाउँहरुमा फैलिएको हावाले हामीलाई पनि छुन सक्छ ।’ संघका अध्यक्ष जगदीश भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तीनै तहका सरकारले बनाएका र बन्दै गरेका ऐन, नियम अनुरुप संघ  र सदस्य संस्थाहरुको माध्यमबाट प्रवद्र्धनात्मक कार्य गर्दै आएको बताए । उनले आगामी वर्ष संघले रजत महोत्व मनाउने तयारी गरेको समेत बताए ।

अध्यक्ष भट्टराईले संघले संदस्य संस्थाहरुको व्यवस्थापन, नयाँ सदस्य संख्या वृद्धि, सहकारी तालिम सञ्चालन गर्ने उल्लेख गरे । उनले सदस्य संस्थाहरुलाई चलायमान बनाउन प्रत्येक महिना एक हजार बचत गर्ने अभियानलाई चालु आर्थिक वर्षदेखि सञ्चालन गरिएको पनि बताए । अध्यक्ष भट्टराईले सहकारीहरुमा समस्या आउन सक्ने केही संकेतहरु देखा परेकाले त्यसतर्फ सचेत बन्न सबै सहकारीहरुलाई आग्रह गरे । कार्यक्रममा संघका लेखा समिति संयोजक भेषराज सुवेदीले लेखा प्रतिवेदन सार्वजनिक गर्दै संघका आर्थिक गतिविधहरु पारदर्शी भएकाले प्रतिवेदन तयार गर्दा कुनै पनि समस्या नरहेको बताए । उनले अहिले सहकारी अभियान अत्यन्त कठिन मोडमा रहेको उल्लेख गर्दै सहकारीहरु सबै पारदर्शी बन्नुपर्नेमा जोड दिए । संघका अध्यक्ष जगदीश भट्टराईको अध्यक्षता, उपाध्यक्ष तुल्सीराम भुसालको स्वागत, सचिव धनबहादुर रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update