Shittalpati
 नेपाल डेरी एशोसियसन  पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा  तानसेनमा 

 पाल्पा, डेरी व्यवसायीहरुको छाता संगठन नेपाल डेरी एशोसियसन पाल्पा, गुल्मी र अर्घाखाँचीको संयुक्त साधारण सभा  पाल्पाको तानसेनमा भएको छ । नेपाल डेरी एशोसियसन लुम्बिनी प्रदेश र पाल्पा शाखाको संयुक्त आयोजनामा सोमबार तीनै जिल्लाका डेरी व्यवसायीहरुको उपस्थितीमा संयुक्त साधारण सभा भएको हो ।
  
सभाको प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले उद्घाटन गरेका हुन्  । सभाको उद्घाटन गर्दै प्रवक्ता कार्कीले डेरी उद्योगहरुमा देखिएको समस्या समाधानमा स्थानीय सरकारले आवश्यक सहयोग गर्न तयार रहेको  बताए । डेरी व्यवसायीहरुले आफुहरु  पलायन हुने अवस्थामा आईपुगेको गुनासो गरेपछि उनले सो गुनासो सम्बोधन गर्दै समस्याको कारण पहिचान गरी योजना बनाएर ल्याएमा नगर सरकारले सहयोग गर्ने  प्रतिवद्धता व्यक्त गरे । नगर सरकारले बाख्रा, भैसी, कुखुरा पालनमा लगानी गर्दै आएको बताउँदै नगर प्रवक्ता कार्कीले कृषकलाई प्रोत्साहन गरे मात्र पनि डेरी व्यवसायी सबल बन्ने  बताए । उनले कृषकहरुले उत्पादन गरेका कृषिवस्तुहरु खपत हुन उपभोक्ताको संख्याले निर्धारण गर्ने समेत बताए । प्रवक्ता कार्कीले भने ‘ पछिल्लो समय पाल्पाको जनसंख्या घट्दै गएकाले पनि दुध खपतमा कमी आएको हुन सक्छ, यसतर्फ ध्यान दिन जरुरी छ ।’  नगर सरकार तानसेनलाई मासु र दूधमा आत्मनिर्भर बनाउने गरी अगाडि बढेको समेत उनले बताए ।


 
विशिष्ट अतिथि तानसेन नगरपालिका–६ का वडा अध्यक्ष सागरमान महर्जनले आफ्ना समस्याहरु हुँदा हुँदै पनि कृषकहरुलाई बचाई राखेको भन्दै डेरी व्यवसायीहरुलाई धन्यवाद दिए । उनले कृषकहरुले उत्पादन गरेको दूधलाई डेरीहरुले बजार व्यवस्थापन गरिदिएका कारण नै कृषकहरु आम्दानी गर्न सफल भएको बताए । अध्यक्ष  महर्जनले  बेला बेलामा कृषकहरुले भुक्तानी नपाएका गुनासो आउने गरेकाले त्यसतर्फ डेरी एसोसियसनले ध्यान दिनुपर्ने बताए । उनले भने‘ अध्ययन अनुसन्धान गरेर मात्र काम  गरेमा समस्या आउँदैन । ’ 

 कार्यक्रममा नेपाल डेरी एशोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष  थानेश्वर न्यौपानेले पछिल्लो समय दुध खपत नहुँदा डेरी उद्योगहरु समस्यामा परेको बताए । उनले अब सबै डेरी उद्योग र कृषकहरुलाई बचाउन एशोसियसनले फरक ढंगले योजना बनाएर अगाडि बढेको बताए । अध्यक्ष न्यौपानेले दूध तराईमा निर्भर रहेकाले समस्या आएको धारणा व्यक्त गरे ।  एशोसियसन पाल्पाका अध्यक्ष टिकाराम खरालले आफुले ठूलो संघर्ष  गरेर पाल्पामा डेरी उद्योग स्थापित गर्न सफल भएको बताए । उनले जो समस्यासँग जुध्न सक्छ उही नै व्यवसायी भएको बताउँदै मेहनत र धर्य गर्न डेरी व्यवसायीहरुलाई आग्रह गरे । अध्यक्ष खरालले कृषक र डेरी व्यवसायीहरुका समस्या समाधानमा एशोसियसन सशक्त ढंगले लाग्ने बताए ।

कार्यक्रममा नीजि वन सरोकारवाला महासंघका अध्यक्ष एवं अधिवक्ता विष्णु ज्ञवाली, नेपाल प्रेस युनियन पाल्पाका उपाध्यक्ष रामचन्द्र रायमाझी, देउराली छुर्पी उद्योग अर्घाखाँचीका सञ्चालक तिलक गैरे, डुम्रे दूग्ध सहकारी संस्थाका व्यवस्थापक  गोपाल जिसी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।  एशोसियसन पाल्पाका अध्यक्ष टिकाराम खरालको अध्यक्षता, एशोसियसनका केन्द्रिय सदस्य भुवनेश्वर न्यौपानेको स्वागत, एशोसियसन लुम्बिनी प्रदेशका सचिव विजय सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।  
 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update