Shittalpati
ठगी अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

पर्वत, ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

 प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए । सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप थियो । कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले राससलाई जानकारी दिए । तत्कालीन रजिस्ट्रार पराजुलीलाई एक करोड पाँच लाख घूस लिएको आरोप लागेको छ । 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update