Shittalpati
तानसेन खानेपानी उपभोक्ता समितिमा मनोनयन दर्ता  : अध्यक्ष र सचिव बाहेक सबै निर्विरोध 

पाल्पा, तानसेन खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । यही पुस १४ गते हुन लागेको समितिको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको हो । 

मनोनय दर्ता अनुसार अध्यक्ष र सचिव बाहेका पद निर्विरोध भएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि प्रज्ञासागर शाक्य, भुगोलप्रसाद बैजु श्रेष्ठ, राजु महर्जन र मोहनप्रसाद श्रेष्ठले मनोनय दर्ता गराएका हुन् । 

यस्तै उपाध्यक्षमा लालमने  अदै पुनको एकल उम्मेदवारी परेको छ । सचिवमा  दुई जनाले उम्मेदवारी दिएका छन् । जसमा प्रेम बहादुर मल्ल र विष्णुबहादुर कार्की रहेका छन् । यस्तै कोषाध्यक्षमा शुसिला श्रेष्ठ कर्माचार्य र सह–सचिव विर्जु खातीको एकल उम्मेदवारी परेको छ । खुला सदस्यमा बसन्त कुमार गहतराज, महेन्द्र खाती, रेनुका बस्याल, महिला सदस्यमा फूलमाया सुनारी रहेका छन् । उपाध्यक्ष, कोषाध्यक्ष, सह–सचिव , खुला सदस्य र महिला सदस्यहरुमा परेका उम्मेदवारहरु निर्विरोध चयन भएका छन् । 
जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले समितिको पद भागबण्डाको  लागि सहमति कायम गरे पनि अध्यक्ष र सचिव पदमा भने प्रतिष्प्रर्धा देखिएको छ । सहमति अनुसार अध्यक्ष र एक सदस्य नेपाली काँग्रेसलाई, उपाध्यक्ष नेकपा माओवादीलाई, सचिव र एक सदस्य एमालेलाई, सह–सचिव राप्रपालाई, कोषाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टीलाई, नेकपा एकिकृत  र राष्ट्रिय जनमोर्चालाई एक/एक सदस्य दिने समझदारी भएको थियो । 

नेपाली काँग्रेसले अध्यक्षमा मोहन प्रसाद श्रेष्ठ र सदस्यमा महेन्द्र खातीलाई सिफारिस गरेको थियो भने नेकपा एमालेले सचिवमा प्रेम बहादुर मल्ल र सदस्यमा रेनुका बस्याललाई सिफारिस गरेको थियो । समितिको अध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठ नेपाली काँग्रेससहित सबै राजनीतिक दलको साझा उम्मेदवार हुन् भने, शाक्य र बैजु स्वतन्त्रबाट र महर्जन नेपाली काँग्रेसबाट बागी उम्मेदवार बनेका हुन् ।  सचिवमा उम्मेदवारी दिएका मल्ल एमाले सहित राजनीतिकदलको साझा उम्मेदवार, कार्कीले एमाले बाटै बागी उम्मेदवारी दिएका छन् । अध्यक्षमा मोहन प्रसाद श्रेष्ठ र सचिवमा प्रेम बहादुर मल्लसहित निर्विरोध निर्वाचित भएका सबै व्यक्तिहरुलाई दलिय सहमतिमा उम्मेदवारी दिन लगाएको वार्ता समितिका संयोजक  तथा नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र  गैरेले जानकारी दिए । 

निर्विरोध निर्वाचित भएकाहरुमा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा अदै पुन, राप्रपाबाट सह सचिवमा खाती, कोषाध्यक्षमा रास्वबाट श्रेष्ठ कर्माचार्य, खुला सदस्यमा गहतराज नेकपा एकिकृत समाजवादीबाट, खाती नेपाली काँग्रेसबाट, बस्याल नेकपा एमालेबाट, महिला सदस्यमा सुनारी राजमो बाट रहेका छन् । निर्वाचन समितिले पुस ११ गते उम्मेदवार विरुद्ध दावी विरोध पेस गर्ने, १२ गते उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिई समितिले अन्तिम नामावली प्रकाशन गर्ने र १४ गते निर्वाचनको तालिका  तय गरेको प्रमुख निर्वाचन अधिकृत दुर्गा बहादुर थापाले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update