Shittalpati
पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक

पाल्पा, पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गरेका छन् । प्रत्यक्ष निर्वाचन जितेर पहिलो पटक संसद पुगेका गैरेले शनिबार तानसेनमा पत्रकार भेटघाट गरी संसदको अनुभवसहित वार्षिक प्रगति सार्वजनिक गरेका हुन् ।  

एमालेबाट निर्वाचित सांसद गैरेले सांसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रूपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे । उनले संसद्को एक वर्षमा उपलब्धि कम हुनुमा सरकारको कमजोरीले काम गरेको बताए । उनले उपलब्धिका दृष्टिले संसद्को उपलब्धी कमजोर देखिए पनि अनुभव भने प्रशस्त भएको र त्यसले संसद्को आगामी समयलाई चाहिँ अझ प्रखर, प्रभावकारी, परिणाममुखी र उपलब्धिमूलक बनाउनुपर्ने आत्मा बोध भएको पनि सुनाए ।

कार्यक्रममा उनले सदन, विकास निर्माण, जनतासँग गरेका काम र अनुभवको एक वर्षको प्रगति सार्वजनिक गरे ।  सांसद गैरेले संसदीय काम, संसदमा निर्वाचन क्षेत्रको विषयमा उठाएका विषय, संसदमै उठाएका राष्ट्रिय मुद्दा बारे उल्लेख गरेका छन् । निर्वाचन क्षेत्रमा जनतासँग संवाद र पहिलो वर्षमा पूरा भएका र थालनी गरिएका विकास निर्माणका कामबारे  पनि उनले बताए । पाल्पाली जनताको अपार माया र  सद्भावकै कारण आफू प्रतिनिधि सभा सदस्यमा बिजयी हुन सफल भएको बताउँदै सांसद गैरेले पाल्पाली जनताका आवाजलाई सदनमा सशक्त ढंगले उठान गरेको बताए । उनले भने‘ संसदमा एक वर्षको अवधिमा साढे तीन घण्टा बोलेको छु, त्यसमा अधिकासं विषय पाल्पाली जनताका समस्याबारे आवाज बुलन्ध गरेको छु ।’ ९० दिन सदन चलेकोमा शून्य समयबाहेक ३० वटामा आफुु उपस्थित रहेको सांसद गैरेले बताए । उनले एक बर्षमा जम्मा एउटा कानुन मात्र पास गर्न सफल भएको बताए । सांसद गैरेले भने‘ मिटर ब्याज सम्बन्धित एउटा मात्र कानुन पारित गर्न सक्यौं, यो बिडम्वना हो ।’  उनले केही विधेयक टेबुल भए पनि पास हुन नसकेको  बताए ।  सांसद गैरेले आफुले संसदमा उठाएका केही कुराहरु कार्यान्वयन भएको र केही हुन नसकेको उल्लेख गरे । बुटवल–तानसेनको सडकमा केही सुधार भएको, बेवारिसे अवस्थामा रहेको सालझण्डी सडक खण्डको पिच गर्ने काम भएको,कालिगण्डकी करिडोर अन्र्तगत राम्दी–अर्गली सडक पिच गरिएको, जंगली जनावर बादरबाट क्षति पुुगेका किसानलाई केही भए पनि राहत दिलाउन सकेको सांसद गैरेले बताएका छन् । उनले पाल्पामा बन्द रहेको स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः सुुचारु गर्न पहल गरेको, बादर नियन्त्रण र ब्यवस्थित गर्ने कुरामा आफुले निरन्तर आवाज उठाई रहेको, आफ्नै सालको काठ काट्दा जेल जान नपर्ने कानुन बनाउन पहल भइरहेको, रिब्दीकोटमा उत्पादित सुन्तला र अकबरे खुर्सनीको व्यवस्थापन गर्न उचित भण्डारणको ब्यवस्थाका लागि आवश्यक पहल गरेको, स्थानीय खरिद ऐन बानाउन पहल भैरहेको, भगवती जात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन र त्यसको उचित संरक्षण गर्न र रानीमहल सडक स्तरनोन्तीको लागि सदनमा कुरा उठाएको समेत सांसद गैरेले बताए । त्यसैगरी उनले निर्वाचन क्षेत्रमा आएर जनताको अत्यावश्यक विकास निर्माणको काममा पहलकदमी लिएको उल्लेख गरेका छन् । खासगरी स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा रहेका समस्या र स्थानीय तहले बनाउने बजेटलाई जनतामुखी बनाउन प्रयत्न गरेको पनि सांसद गैरले बताए ।  सासंद गैरेले एक बर्षको अवधि सिकाई र अभ्यासमै बितेको बताए । संसदको एक बर्षमा संसदीय अभ्यासको अनुभव गरिएको र सिकाईमै एक बर्ष बितेको उनको भनाई छ । जन अपेक्षा अनुसार परणाममुखी काम गर्न नसके पनि जनताका जल्दाबल्दा समस्याहरुलाई संसदमा जोड तोडका साथ राखेको सांसद गैरेले बताए । उनले भने ‘संसदीय अभ्यासमा निकै कुरा सिक्न पाइएकाले पहिलो बर्षलाई आफूले सिकाई र अभ्यासको वर्षको रुपमा लिएको छु ।’ केही कामहरु गरेको र गर्ने प्रयासमा रहे पनि आफु त्यत्तिले सन्तुुष्ट नरहेको उनको भनाई छ ।

कार्यक्रममा पत्रकारहरुले सदनमा बोल्ने मात्र नभई बोलेका कुराहरु कार्यान्वयन गर्ने दिशामा लाग्न सांसद गैरेलाई आग्रह गरे । उनीहरुले संसदमा जनताका आवाजहरुलाई सशक्त ढंगले उठाए पनि सदन अवरोध गर्ने, नारा जुुलुस गर्ने जस्ता असभ्य गतिविधि नगर्न सांसद गैरेलाई सुझाव दिए ।

कार्यक्रममा सांसद गैरेले संसदमा बोलेका मुख्य मुख्य बुदाहरुको भिडियो नै पत्रकार माझ सार्वंजनिक गरेका थिए । पत्रकार रामचन्द्र रायमाझीले जस्तो सुकै काम भए पनि जनता माझ आफुले गरेका क्रियाकलाप सार्वजनिक गरेर सांसद गैरेले नमुना अभ्यास  गरेको भन्दै कार्यक्रमको प्रशंसा गरे । 

 

 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update