Shittalpati
सुधारिएनन् आप्रवासी कामदारका समस्या

पाल्पा,नेपालसहित विश्वभर आप्रवासी कामदारको हक–अधिकारको वकालत गर्दै हरेक वर्ष डिसेम्बर १८ लाई ‘आप्रवासी कामदार दिवस’को रुपमा मनाइँदै आइएको छ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि’ डिसेम्बर १८, १९९० मा पारित गरेको थियो । उक्त महासन्धि’ पारित गरेको आज ३३ वर्ष पुगेको छ ।

महासन्धि पारित भएकै दिन डिसेम्बर १८ लाई स्मरण गर्दै आज विश्वव्यापी रूपमा ‘अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस’ मनाइँदैछ । सन् २००० देखि हरेक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आप्रवासी दिवस मनाइए पनि यसले आप्रवासी कामदारको अवस्थामा भने खासै सुधार ल्याउन सकेको छैन । विदेशमा मजदुरी गर्नेको श्रम हिस्साले घरखर्च मात्रै चलेको छैन, राष्ट्रिय अर्थतन्त्रको आँकडा समेत बदलेको छ तर, लाखौं आप्रवासी मजदुरले भोग्नु परेका समस्या भने ज्यूका त्यू छन् । उनीहरुको अधिकार संरक्षणका लागि नेपालले केही प्रयास गरेको भए पनि कामदार भने समस्यामुक्त हुन सकेका छैन । रोजगारीमा गएपछि भने अनुसारको काम र तलब नपाउने, कठिनपूर्ण काममा लगाइने, करार अवधि सकिएपछि पनि घर फर्कन नदिने जस्ता यातना कामदारले भोग्नु परेको गुनासो छ । 

गुल्मी इस्माका बलराम पन्थी ३ वर्ष अघि मलेसिया गए । उनलाई काठमाडौंको एक म्यानपावर कम्पनीले कपडा उद्योगमा काम लगाइदिने आश्वासनमा विदेश पठायो तर त्यहाँ पुगेपछि पन्थीले फलामको काम गर्ने कम्पनीमा काम गर्नु प¥यो । ‘म्यानपावर कम्पनीले काम सजिलो र पैसा पनि राम्रै हुन्छ भनेर विदेश पठाए पनि सम्झौता अनुसार न काम पाइयो नत पैसा नै ’पन्थीले भने । अहिले उनले त्यो कठिनपूर्ण फलामको काम छाडेर साथीको सहारामा एक होटलमा काम गर्दै आएका छन् । पन्थी त एक प्रतिनिधि पात्र मात्रै हुन् । बिचौलियाबाट थुप्रै आप्रवासी कामदारहरु निरन्तर ठगिइरहेका छन् ।

म्यानपावर कम्पनीले मजदुरलाई झुट्टा आश्वासन र नक्कली सम्झौता बनाएर विदेश पठाउने अनि अवैध पैसा असुल्ने गरेका घटना भने नयाँ होइनन् । बेला–बेला सञ्चारमाध्यममा अनियमितताका यस्ता प्रकरण सार्वजनिक भइरहेका छन् । बिचौलियाहरू उता रोजगारदाता कम्पनीसँग निःशुल्क भिसाको सम्झौता गर्छन् र यता श्रमिकसँग अतिरिक्त रकम लिन्छन् । तलब सुविधाबारे विदेशी कम्पनीसँग एउटा सम्झौता गर्छन्, यता श्रमिकलाई देखाउन बढी तलब रकमको नक्कली कागज बनाउँछन् । त्यस्तो नक्कली सम्झौता देखाएर उनीहरूले ऋण काढेर विदेश जाँदै गरेका श्रमिकलाई लुट्न सम्म लुटेका छन् । हरेक वर्ष नेपालले लाखौं रकम रेमिट्यान्स मात्रै भित्र्याउँदैन, त्यसको बदलामा दर्जनौं नेपाली मजदुरको शव पनि बाकसमा भित्र्याइरहेको छ । नेपालबाट बर्सेनी चार लाखको हाराहारीमा वैदेशिक रोजगारीमा युवा जाने गरेका छन् । विदेशमा करिब ३० लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान गरिए पनि आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन । मेनपावर व्यवसायीले अधिक रकम असुल्ने गरे पनि सरकारले चासो दिइको छैन । चासो दिएपनि आन्तरिक सेटिङमा कुरा मिल्ने पटक–पटकका अनुसन्धानले खुल्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update