Shittalpati
रानीवन तथा वडभान वनमा पर्यटन विकास गरिँदै

रामपुर (पाल्पा), सामान्यतः घाँस, दाउरा, स्याउलाका रुपमा मात्र प्रयोग गरिने सामुदायिक वनक्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न लागिएको छ । वन क्षेत्रभित्र सम्भावित क्षेत्रमा पूर्वाधार निर्माणमा उपभोक्ताको सक्रियता बढ्दो छ ।

पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको पाल्पा रामपुर नगरपालिका–४ स्थित रानीवन तथा वडभान सामुदायिक वन अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ । करिब एक सय तीन दशमलब १२ हेक्टरकोे यस वनको विभिन्न स्थानमा पर्यटकीय संरचना तयार पारिएको छ । वन क्षेत्रको ब्लक नं ५ मा लखनपार्क, बरडाँडा क्षेत्रमा रानीपोखरी निर्माण, दृश्यावलोकन स्तम्भ (भ्यु टावर) निर्माणाधीन, वडभान क्षेत्रमा अम्रिसो खेती, तेजपत्ता खेतीसँगै पर्यटकीय पूर्वाधार विकासका कार्य भइरहेको वन समूहका अध्यक्ष प्रेमबहादुर पोखरेल बताउँछन् । बरडाँडा वनको बीच भागमा निर्माण गरिएको रानीपोखरी यतिबेला सबैलाई लोभ्याउने खालको छ । यहाँ लुम्बिनी प्रदेश सरकारको ‘एक पालिका, एक पोखरी’ निर्माण गर्ने कार्यक्रम अन्तर्गत रु चार  लाख सहयोगमा रामपुर नगरपालिकाले वडा नं ४ मा रहेको रानीवन तथा वडभान सामुदायिक वनलाई छनोट गरी पोखरी निर्माण गरेको वडाध्यक्ष रामबहादुर रानाले बताए । “सामुदायिक वनलाई घाँसदाउरा र स्याउलाको उपयोगमा मात्र सीमित राखिनुहुदैन” उनले भने, “हरियाली वनजंगल संरक्षण गर्दै आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरियो भने आन्तरिक तथा बाÞय पर्यटक भित्र्याउन सकिन्छ, नगरपालिकाले यस कुरामा जोड दिएको छ” । यो पोखरी वन क्षेत्रको बीच भागमा अवस्थित छ, त्यहाँबाट तलतिर रामपुर बजार अवलोकन गर्न सकिने, हरियाली मनोरम दृश्य, चारैतिर जंगलले घेरेकाले हरियाली मनोरम दृश्य हेर्दै घुम्न लायकको वातावरण छ । यहाँ रानीपोखरी निर्माणमा मात्र करिब रु पाँच लाख खर्च भएको छ । वन क्षेत्रमा अवलोकन गर्न पुगेका पर्यटकलाई चिसो हावापानीका साथै जंगली जनावर, चराचुरुङ्गीको लागि पानी खुवाउन पोखरी निर्माण गरिएको हो । 
चारैतिर पक्की पर्खाल, भूइँमा सोसेको पानी बोटबिरुवाले उपयोग गरुन् भनेर माटो मुछेर समथर बनाएर पानी संकलन हुने संरचना बनाइएको छ । पोखरीदेखि करिब सातसय मिटर टाढा रहेको सपाङ्गी खोलाबाट पाइप विच्छ्याइएर नियमितरुपमा पानी ल्याइएको छ । यसले वन्यजन्तु र चराचुरुङ्गीलाई पानी उपभोग गर्न अति सहज भएको छ । 

रामपुरको मुख्य बजारदेखि माथिल्लो भागमा वनको बीचमा पोखरी निर्माण गरिएपछि अहिले त्यहाँ अवलोकन गर्न आउने पर्यटकको आकर्षण बढ्न थालेको युवा तुलबहादुर राना बताउँछन् । यहीँ क्षेत्रमा दृश्यावलोकन स्तम्भ निर्माणाधीन अवस्थामा रहेको र सम्पन्न भएपछि कालीगण्डकी बँेसीको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । बरडाँडाको माथिल्लो भागमा स्थानीयवासीको बसोबास रहेकाले घरबास (होमस्टे) सञ्चालन गरेर आयआर्जन गर्न सकिन्छ । लखनपार्क क्षेत्रमा लखनपार्क, शौचालय, विश्रामस्थल, चौतारी निर्माण गरिएको छ । अन्य संरचना पनि निर्माण गर्दै जाने समितिले जनाएको छ । यो क्षेत्र कालीगण्डकी करिडोर सडकखण्डले घेरेको र नजिकै कालीगण्डकी नदी, आडैमा अधँेरीखोला बगेकाले पर्यटलाई आकर्षण गर्न सक्ने देखिन्छ । उपभोक्ताको आयआर्जन वृद्धि गर्न काँसजरी क्षेत्रमा वनको पतझर संकलन गरी प्राङ्गारिक मल उत्पादन, वडभान क्षेत्रमा करिब तीन हेक्टर जमिन अम्रिसो, तेजपत्ता खेती गरिएको छ । वन समूहमा पाँच सय ५० उपभोक्ता घरधुरीबाट दुई हजार सात सय २५ जनसंख्या प्रत्यक्ष लाभान्वित छन् । वनको पूर्वाधार विकास, उपभोक्ता हितका लागि १७ जनाको मूल समिति सक्रिय भएर लागेको छ । समय–समयमा झाँडी सरसफाइ कार्यले वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहज भएको छ । विसं २०४०/४२ देखि स्थानीय उपभोक्ताले संरक्षण गर्दै आइरहेको यस वन विसं २०४७ मा समितिलाई हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update