Shittalpati
बामदेव पाल्पाबाट चुनाव लड्ने विषय झुठो : सासद राना

रामचन्द्र रायमाझी
पाल्पा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले बामदेव गौतमलाई पाल्पाबाट चुनाव लडाउने विषय झुठो रहेको बताएका छन् । शनिबार आफुलाई राजिनामा गर्न लगाएर गौतमलाई चुनाव लडाउने नेकपाको निर्णय भन्ने समाचार विभिन्न सञ्चार माध्यममा आएकाले त्यो विषय झुठो रहेको सांसद रानाले बताएका हुन् ।

शनिबार साँझ बसेको नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णयपछि गौतमलाई पाल्पाको क्षेत्र नं. १ मा उम्मेदवार बनाउने विषयले चर्चा पाएपनि सांसद रानाले भने भ्रामक र झेुठो रहेको बताएका छन् । विभिन्न सञ्चार माध्यमबाट एका एक पाल्पा–१ का सांसद रानालाई राजिनामा गराउने र बामदेवलाई उम्मेदवार बनाउने समाचार आएपछि जिल्ला तरति बनेको थियो ।

उनले पाल्पा १ बाट बामदेवलाई चुनाव लडाउने भन्ने समाचार आए लगत्तै सामाजिक सञ्जाल फेसबुकमा समेत प्रतिक्रिया दिँदै लेखेका छन् ‘केही समयदेखि हाम्रो पार्टीभित्र देखापरेको आन्तरिक विवादलाई आजको सचिवालय बैठकमा सम्बन्धित नेताहरुले आत्मलोचना गर्ने, २५ गते स्थायी समितिको बैठक बस्ने, ३ जना अध्यक्ष राख्ने विषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रवक्ता कमरेडबाट जानकारी पाउँदा खुसी भएका छौं । तर बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको विषय बामदेव गौतमलाई पाल्पा क्षेत्र नं. १ बाट चुनाव लडाउने सहमति भएको भन्ने समाचार झूठो, भ्रमपूर्ण र पार्टीको एकता विरोधी षड्यन्त्रबाट प्रेरित भएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।’ सांसद रानाको यस्तो प्रक्रिया आएसँगै सामजिक सञ्जालमा प्रतिक्रिया दिर्दै मिन श्रीसले ‘नेकपाका शीर्ष नेतृत्व तहमा गम्भीरता र परिपक्वताको वातावरण नबन्दासम्म यस्ता हल्ला र भ्रमहरू छाइरहन्छन् । शिर्ष नेताहरूको केटाकेटीपन र व्यक्तिकेन्द्रित प्रवृति तत्काल रोकिनु पर्छ । कार्यकर्ता र शुभेच्छुकहरूलाई सधैं अन्यौल र निरासामा अल्झाउने काम गर्न भएन ।’ पाल्पाली जनताले सांसद रानालाई आफ्नो पक्षमा अडिग रही जनमतको कदर गर्न विभिन्न सामाजिक सञ्जालबाट सुझाव दिएका छन् । सांसद राना यसअघि भूमिसुधार मन्त्री समेत भएका थिए । हाल उनी नेकपा प्रदेश ५ कमिटीको सह–इन्चार्ज समेत हुन् । बामदेवलाई प्रधानमन्त्री बनाउनका लागि चुनाव जिताउने सहज क्षेत्र खोज्न नेकपाभित्र ठूलो चलखेल सुरु भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा लागेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धनमा सामेल भएका उपाध्यक्ष बामदेव अन्तिम समयमा आएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पुगेका छन् । सांसद रानालाई राजिनामा गर्न लगाएर उनको क्षेत्रबाट गौतमलाई निर्वाचित गराएर प्रतिनिधिसभामा लैजाने व्यवस्था मिलाएसँगै गौतम प्रधानमन्त्री ओलीको पक्षमा उभिएका हुन् । गएको बुधबार बसेको सचिवालय वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदत्याग गर्नुपरे कोभिड–१९ महामारीपछि बामदेवलाई प्रधानमन्त्री बनाउने गरी पद त्याग गर्ने प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update