Shittalpati
पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता

पाल्पा,  पाल्पामा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले मंगलबार पहिलो पटक तानसेन नगरपालिका –४ सिल्खानटोलका  १९ वर्षीय फेलिक्स बज्राचार्यलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

बज्राचार्यलाई प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लामा पहिलो गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । उनी विगत १८ वर्षदेखि आमा फ्रेडीरिके बुर्केट र बुवा सुमेध रत्न बज्राचार्यसँग जर्मनको कोनिगस्विन्टरामा बस्दै आएका छन् । 
  नेपालको संविधानमा भएको व्यवस्था अनुसार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) अन्तर्गत नागरिकता ऐन, २०६३ को दफा ७ (क) बमोजिम शर्त तथा अवस्था पुरा गरेकाले उनलाई नागरिकता प्रदान गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी  बन्धुप्रसाद बास्तोलाको हातबाट जिल्लामै पहिलो गैरआवासीय नागरिकता लिन पाउँदा असाध्यै हर्षित भएको बज्राचार्यको भनाई छ । उनले नागरिकता दिएकोमा जिल्ला प्रशासन कार्यालय पाल्पा र नेपाल सरकारलाई  धन्यवाद समेत दिए । 

नेपालको नागरिकता ऐन २०६३ को तेस्रो संशोधन अन्तर्गत नेपाल नागरिकता नियमावली, २०८० जारी भएसँगै जिल्लामा पहिलो पटक गैर आवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलले बताए । उनका अनुसार नागरिकता प्राप्त गरेसँगै बज्राचार्यले राजनीतिकबाहेकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने छन् । प्रजिअ बास्तोलाले भने ‘विदेशमा नेपालीपनको महसुुस गर्न पाउन र आर्थिक कुटनीतिक अन्तर्गत नेपालमा विदेशी लगानी भित्र्याउन गैरआवसीय नेपालीले पनि लगानीको वातावरण सिर्जना गर्न पाउन भन्ने उद्देश्यले गैरआवसीय नेपालीलाई नागरिकता दिन थालिएको हो ।’ बज्राचार्यलाई तानसेन नगरपालिका –४ का वडा अध्यक्ष हेमन्तराज  शाक्य, तानसेन –६ का वडा अध्यक्ष सागरमान महर्जन, पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरे, जेसिसका अर्जुन कार्की लगायतका व्यक्तिहरुको उपस्थितीमा नागरिकता प्रदान गरिएको थियो । 

गैरआवासीय नेपालीले लामो समयदेखि नेपाली नागरिकता दिनुपर्ने माग गर्दै आएका थिए । उनीहरूकै मागलाई सम्बोधन गर्दै संविधान जारी भएको लामो समयपछि नेपाल नागरिकता ऐन, २०६३ संशोधन गरी नागरिकता प्रदान गर्ने व्यवस्था मिलाइएको हो । नेपाल नागरिकता नियमावली गत असोज ४ गते राजपत्रमा प्रकाशित भएको थियो । उक्त नियमावली प्रकाशित भएसँगै गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको हो । पछिल्लो प्रकाशित राजपत्रमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र र विदेशी बुवाको हकमा नेपाली आमाको सन्तानलाई अंगिकृत नागरिकता उपलब्ध गराउने मुख्य दुई विषय रहेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update