Shittalpati
पाल्पामा एमालेले गर्यो जनप्रतिनिधिसँग अन्तर्क्रिया

पाल्पा, नेकपा एमाले पाल्पाले पार्टीबाट उम्मेदरवार भई निर्वाचित भएका जनप्रतिनिधीहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । उसले स्थानीय तह, प्रदेश तथा प्रतिनिधीसभामा निर्वाचित जनप्रतिनिधीहरुसँग एक दिने अन्तक्र्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटिव्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले निर्वाचित जनप्रतिनिधीहरुलाई वर्तमान संविधान, ऐन नियम तथा कानुनलाई सर्वाेपरी मानी, पार्टीको केन्द्रीय घोषणापत्र र पार्टी तथा उम्मेदवारले जनतामाझ सार्वजनिक गरेका प्रतिवद्धतापत्र अनुसार काम गरेर एमाले पार्टीको नाम उचो राख्न सम्पुर्ण जनप्रतिनिधीहरुलाई अनुरोध गरे । जनताको भावना, विचार, आवश्यकता अनुसार एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले काम गरेर जनतामैत्री बन्न पोलिटिव्युरो सदस्य गैरेले जोड दिए ।

संघीयता सफल बनाउने वा असफल बनाउने जिम्मेवारी स्थानीय सरकारमा भएकाले एमालेबाट निर्वाचित जनप्रनिधीहरुले  आ–आफ्नो पदीय दायित्व तथा जिम्मेवारी अनुसार  जनतामा परिवर्तन महशुस गर्ने गरी काम गर्न, तथा पार्टीसँग समन्वय गरी जनमुखी काम गर्न  पोलिटिव्युरो सदस्य गैरेले स्थानीइ जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेंलले अहिले पार्टी भित्र जुनसुकै पद लिन मरिहत्ते गर्ने तर काम नगर्ने  परिपाटी बसेकाले त्यसको अत्यन्त गर्नुपर्ने बताए । उनले भने ‘ पद लिन मरिहत्ते गर्ने, तर काम पर्दा समयमा भ्याउदिन भन्ने, व्यस्त छु भन्ने, बैठकहरुमा उपस्थित नहुने, पार्टीको नीति, नियम सिद्धान्त विपरित काम, आचारण तथा व्यवहार गर्ने, पार्टीको अनुसासनमा नबस्ने जस्ता विकृति पाटीभित्र बढेको छ , अब त्यसको अत्यन्त गर्नुपर्छ  ।’ पछिल्लो समय पार्टीबाट टिकट पाई जनप्रनिधी बनाएका व्यक्तिहरुले आफु भन्दा ठूूलो व्यक्ति कोहि छैन भन्ने व्यहार बढेकाले आगामी दिनमा   कामको आधारमा जिम्मेवारी दिईने परिपाटी लुम्बिनी प्रदेशका सबै जिल्लामा शुरु  भएको प्रदेश कमिटी अध्यक्ष कडेंलले बताए ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य नारायण प्रसाद आचार्यले सबै तह र तप्काका जनप्रतिनिधीहरुले आ–आफ्नो क्षेत्रबाट जनताको मन जित्ने गरी काम गर्नुु पर्नेमा जोड दिए । उनले भने‘ जनताको घर–घरमा जनप्रतिनिधीहरु पुगौं, यती काम गरे एमाले पार्टी सधै भरी अग्रस्थानमा रही रहने छ ।’ पार्टीले टिकट दिएर नै आज जनप्रतिनिधी भएका हौं, जनताको सेवक भएका हौं, जनताबाट अनुमोदित भएका हौं, त्यसैले पार्टीको नीति नियम सिद्धान्तमा विचलन आउने गरी कुनै पनि जनप्रतिनिधीहरुले काम गर्न नहुने प्रतिनिधीसभा सदस्य आचार्यले बताए ।

कार्यक्रममा प्रदेश सांसद खेमबहादुर सारु, राजु प्रसाद श्रेष्ठ र इन्द्रा गहतराजले लुम्बिनी प्रदेश सरकारबाट माग भएका प्रतिपक्ष सासंदका योजना भन्दा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफुखुसी अरबांै बजेट राखेर दुरुपयोग गरेको बताएका छन् । एमाले सरकारबाट शुरु गरिएका बहुबर्षिय योजनाहरु समेत कटौती गरी विकास विरोधी काम गर्दा पार्टीले सक्रिय भुमिका प्रवाह नगरेकाले प्रदेश सांसदहरु निरिह बन्नु परेको तीनै जना प्रदेश सांसदले गुनासो गरे ।

कार्यक्रममा नेकपा एमालेकी उप–सचिव सुनिता शर्माले प्रतिनिधीसभा र प्रदेशसभासँग नबाझिने गरी ऐन नियम बनाएर जनताको भावना अनुसार काम गर्ने अधिकार स्थानीय सरकारलाई दिएकाले अधिकांश समस्याहरु पालिकाबाट सम्बोधन गर्न सकिनेमा जोड दिईन । पार्टीका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले स्थानीय सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि एमालेबाट उम्मेदवार भई निर्वाचित जनप्रनिधीहरुलाई शुसासन कायम हुने गरी काम गर्न अनुरोध गरेका छन् । जनताको कामलाई पहिलो प्राथमिकता दिएर, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, गरिवी निवारण, उत्पादनमुखी कार्यक्रम, आयआर्जनमुखी कार्यक्रमहरु समेटेर, पार्टीका घोषणपत्रलाई आत्मसात गरी काम गर्न पनि उनले अनुरोध गरे । जनप्रतिनिधीहरुले आ–आफ्नो पदिय दायित्व अनुसार गरेका कार्यप्रगती विवरण पेश गर्न समेत अध्यक्ष घिमिरेले निर्देशन दिएका छन् ।

 कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारी, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठक, तानसेन नगरपालिका –९ का वडा अध्यक्ष राजेश कुमार अर्याल लगायतले पदिय जिम्मेवारी अनुसारको प्रतिवेदन पेश गर्दै पालिका पिच्छे समस्याहरु फरक–फरक रहेकाले पार्टीको समयन्वय र सम्पर्कमा रहेर काम गर्दै आएको बताए । अन्य पालिकाको तुलनामा एमालेको नेतृत्वमा सञ्चालन भएका पालिकाहरुमा जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम भएको भए पनि प्रचार–प्रसारमा कमी भएको उनीहरुले बताए ।

एमाले लुम्बिनी प्रदेश सदस्य दलबहादुर गुरुङ्ग, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, वडा अध्यक्षहरु नविन्द्र थापा सोती, विष्णु रेग्मी, दानबहादुर कुवँर, सोमनाथ अर्याल, पर्यटन व्यबसायी धनिश्वर बस्याल, पुर्वखोला गाउँ कमिटी अध्यक्ष जीवन आचार्य लगायतले स्थानीयतहमा काम गर्दा आईपरेका समस्याहरुको बारेमा पार्टीका नेतृत्वकर्ता तथा प्रदेश, संघीय सांसदहरुलाई जानकारी राखेका थिए । कार्यक्रममा ४१ वडाका वडा अध्यक्ष, ६ वटा पालिका प्रमुख, ५ वटा पालिका उपप्रमुख, ३ जना प्रदेशसभा सदस्य, २ जना प्रतिनिधीसभा सदस्य, १० वटै पालिका कमिटीका अध्यक्ष, जिल्ला कमिटीका सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम पार्टी  अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षता, उपाध्यक्ष देविलाल लामिछानेको स्वागत, सचिव रामजी पोखरेलको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update