Shittalpati
‘खुला दिसामुक्त’ पाल्पामै छैनन् सार्वजनिक शौचालय

पाल्पा, ६ वर्षअघि पाल्पालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि कागजमै सीमित भएको छ । अनुगमन र घोषणा कार्यान्वयन नहुँदा जिल्ला घोषणामै सिमित बन्न पुगेको हो । २४ चैत्र २०७४ मा तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जिल्ला समन्वय समिति पाल्पालाई खुल्ला दिसामुक्त जिल्लाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

खुला दिशामुक्त घोषणा गरिएको लामो समय बितिसक्दा पनि यहाँका शहर र राजमार्गमा भने पर्याप्त शौचालय छैनन् । पर्याप्त सार्वजनिक शौचालय नहुँदा यात्रुले चरम समस्या झेल्नुपरेको छ । भएका शौचालयहरु पनि प्रयोगलायक  छैनन् । घरदेखि बाहिर निस्कनसाथ हरेक मानिसले दैनिक सार्वजनिक शौचालयका कारण विविध समस्या भोग्न बाध्य छन् । शुक्रबार त्यस्तै समस्या भोग्न बाध्य भइन्, बुटवलबाट तानसेन घुम्न आएकी सम्झना पन्त । तानसेनस्थित दरबार घुमेर सम्झना नारायणस्थानतर्फ लागिन् । तर, त्यहाँ नपुग्दै उनलाई पिसाबले च्याप्यो । पिसावले च्यापेकाले यताउती शौचालय छ कि भनेर सम्झनाले हेरिन तर त्यहाँ कतै देखिनन् । नारायणस्थानका मन्दिर हेर्न जानुपर्ने सम्झना शौचालय हेर्दै शितलपटी पुगिन । तर, त्यहाँ  पनि उनले शौचालय देखिनन् । ‘होटल वा घरमा जाउँ कोही कसैलाई चिनेकी छैन, नजाऊ पिसावले च्यापेको छ, धेरै समय लगाएर बल्ल तल्ल टँुडिखेल छेउमा रहेको शौचालयमा छिरेर शौच गरे’ पन्तले भनिन् । बजार क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा आफु जस्ता बाहिरबाट आउनेहरुले सास्ती खेप्नु परेको उनको गुनासो छ ।

यस्तै तानसेन बसपार्कबाट मिसन अस्पताल जाँदै गर्दा सुनिता बज्राचार्यलाई पिसाबले च्याप्यो । उनले शौचालय खोजिन् । नभेटिएपछि शौचालयकै लागि गैरगाउँबाट तल खुला सडक छेउमा जानुपर्‍यो । ‘महिला भएकाले जथाभावी बस्न सकिँदैन,’ उनले भनिन्, ‘२० मिनेट पिसाब च्याप्नुपर्‍यो ।’ पिसाब च्याप्दा स्वास्थ्यमा असर पर्छ भन्ने उनलाई थाहा छ । तर विकल्प नभएको उनले बताइन् । यस्तै समस्या पर्‍यो, बुटवलबाट तानसेन आएका कार चालक प्रेम रिजाललाई पनि । शनिबार झिसेमिसेमै बुटवलबाट हिडेका रिजाललाई तानसेन टक्सारटोलमा आएपछि पिसाबले च्याप्यो । बीचमा केही छिन परेको जामले त्यो समस्या थप बढाइदियो । ‘भनेको ठाउँमा शौचालय पाइँदैन, खाली हुँदा चियापानी खायो, यात्रु लिएर हिँडेपछि गाह्रो पर्छ,’ उनले भने । रैनादेवी छहराकी विष्णुमाया थापा दशै अघि नागरिकता बनाउँन तानसेन आइन् । उनी बस चढेर गुल्मी घुम्टी रोडमा ओर्लिन् । थापालाई पिसावले च्यापेकाले यताउती शौचालय छ कि भनेर हेरिन् तर त्यहाँ कतै देखिनन् । सार्वजनिक शौचालय त थियो तर वर्षौदेखि प्रयोग विहीन । शौचालय कतै नदेखिपछि उनी सडक छेउमा गएर पिसाव गर्न बाध्य भइन् । यि त केही प्रतिनिधि पात्र मात्र हुन् । यो आमनागरिकको समस्या हो । पर्याप्त सार्वजनिक शौचालय छैनन् र भएका पनि दुर्गन्धित र अव्यवस्थित । नागरिकता, राहदानी वा अन्य प्रशासनिक कामका लागि आएका हुन् वा बिरामी भएर औषधी गर्नका लागि तानसेन आउने हुन्, जो केहीलाई पनि यस्तै समस्याले सताउने गर्दछ । यो जिल्लाका शहरी क्षेत्रको समस्या मात्र होइन, यहाँका स्थानीय तहका केन्द्रहरुको समस्या पनि यस्तै छ । ६ वर्ष अघि पाल्पालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको भए पनि यहाँ अझैसम्म पर्याप्त सार्वजनिक शौचालय निर्माण हुन सकेका छैनन् । जसले गर्दा सर्वसाधारणले सास्ती भोग्न बाध्य छन् । बेला–बेलामा सरकारले सार्वजनिक शौचालयको योजनाहरू ल्याउने गरेको भए पनि ति कार्यान्वयन भएका छैनन् । भएका शौचालयहरूको पनि स्तरोन्नति हुन सकेको छैन । संघीय संरचना निर्माण भएपछि खानेपानी तथा सरसफाई डिभिजनको सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यक्रम स्थानीय सरकार समक्ष गएको छ । तर स्थानीय तहमा जग्गा अभावले सार्वजनिक शौचालय बन्न नसकेको सम्बन्धित स्थानीय सरकार बताउँछन् । १० स्थानीय तह रहेको पाल्पामा अहिले ५२ देखि ६० वटा मात्र सार्वजनिक शौचालय रहेका छन् । जस मध्ये ३० वटामात्र प्रयोगमा छन् । मानिसहरुको बाक्लो उपस्थिति रहने क्षेत्रमै सार्वजनिक शौचालय निर्माण हुन सकेका छैनन् । सार्वजनिक शौचालय निर्माणमा भने स्थानीय सरकारहरूले कुनै चासो देखाएका छैनन् । जसका कारण यी क्षेत्रमा सार्वजनिक शौचालय भेट्न मुस्किल छ । शौचालय प्रयोग गर्नकै लागि सर्वसाधारण होटल, खाजा घर छिरेर केही न केही उपभोग गर्न बाध्य हुने गरेका छन् । 

कुनै पनि स्थानीय तहको बजार क्षेत्रमा सार्वजनिक शौचालय नबनाउँदा नागरिकले सास्ती त पाएका छन् नै, जथाभावी शौच गर्दा वातावरणसमेत दुर्गन्धित हुन थालेको छ । तानसेन नगरपालिकाको बजार भित्र अहिले ३ वटा मात्र सार्वजनिक शौचालय प्रयोगमा छन् । टुँडिखेल,विद्युत कार्यालय अगाडि र  श्रीनगरमा सार्वजनिक शौचालय  प्रयोगमा छन् भने बसपार्कमा अहिले प्रयोगमा छैन । यहाँको जनसंख्या र बाहिरबाट आउनेहरुको संख्यालाई हेर्ने हो भने यि शौचालय पर्याप्त देखिदैन । पहिले कैलाशनगर, बसन्तपुर, मेहल्धारा, मिसन अस्पताल, नारायणस्थान, टक्सारटोल लगायतका स्थानमा सार्वजनिक शौचालय  थिए तर अहिले भने देख्न पाइदैन । 

कतिपय भत्केर गए भने कतिपय सार्वजनिक शौचालय अतिक्रमणको चपेटामा परे । नारायणस्थानमा रहेको डोजर लगाएर जिप पार्क बनेको छ । टक्सारमा रहेको शौचालय भने प्रयोगमा आउन सकेको छैन । पर्यटनको आवश्यक पूर्वधार मध्य शौचालय महत्वपूर्ण रहे पनि यसतर्फ कसैको पनि ध्यान पुग्न नसकेको तानसेन नगरपालिका– ६ का वडा अध्यक्ष तथा पर्यटन व्यवसायीको छाता संगठन नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पाल्पाका पूर्व अध्यक्ष सागरमान महर्जनले बताए ।  उनी भन्छन्,‘बसपार्कमा सार्वजनिक शौचालयको आवश्यकता हो । यसै आर्थिक वर्षमा आवशयकता र चाहना अनुरुप वडाकै बजेटमा भएपनि निर्माण गरिने छ ।’ बजारमा चोक चोकमा सार्वजनिक शौचालयको आवश्यकता रहेको महर्जन बताउनुहुन्छ । उनी भन्छन्,‘हामीसँग शौचालय निर्माणका लागि आवश्यक  ज्ञान भएका होनहार इन्जिनियरहरु छन्, केही महिना अघि मात्र धनगढीमा भएको सार्वजनिक शौचालय निर्माणका लागि भएको प्रतियोगितामा देशभरका इन्जिनियरहरु मध्येबाट पाल्पाका राहुल बज्राचार्यले उत्कृष्ट अवार्ड प्राप्त गर्न सफल भएका  छन् । यस्ता इन्जिनियरहरुलाई यही नै वातावरण सिर्जना गरिदिन सक्ने हो भने  पनि यस्ता समस्या आउने थिएनन् ।’ सहरीकरण विस्तार भइरहँदा सार्वजनिक शौचालय निर्माणमा कुनै स्थानीय तहले योजना बनाएका छैनन् । अहिले स्थानीय तहका केन्द्रहरुमा सेवाग्राहीहरुको चाप बढे पनि सार्वजनिक शौचालय भने निर्माण हुन सकिरहेका छैनन् ।  बगनासकाली गाउँपालिकामा ३, माथागढी गाउँपालिकामा २, तिनाउ गाउँपालिकामा ४, रम्भा गाउँपालिकामा १८, पूर्वखोला गाउँपालिकामा ६, निस्दी गाउँपालिकामा २, रिब्दीकोट गाउँपालिकामा २, रामपुर नगरपालिकामा ३ वटामात्र सार्वजनिक शौचालय छन् । भएका शौचालय छिरिसक्नु छैनन् । केहीको चुकुल लाग्दैन, कुनैमा ढोकाको पाता फुटेको छ । केहीमा पानी छैन । दिसापिसाबको दुर्गन्ध पनि उस्तै छ । गाउँपालिकाका धेरै ठाउँहरुमा सार्वजनिक शौचालयको आवश्यक भए पनि जग्गा अभावका कारण बनाउन नसकिएको स्थानीय सरकारहरु बताउँछन् । 

नेपाली काँग्रेसका नेता राजेन्द्र गोपाल सिंह स्थानीय सरकार,  स्थानीय समुदाय र राजनीतिक दलहरुले चासो नदिदासम्म कुनै संरचनाको पनि संरक्षण हुन नसक्ने बताउन्छन् । ‘हामी देखिरहेका छौँ अहिले अधिकांश जिल्ला खुल्ला दिशामुक्त भनेर भनिएको छ । एकातिर खुला दिशामुक्त भन्ने अर्कातिर दिशापिसाब गर्ने ठाउँ पनि नबनाउने, यो अलिकति मिलेको छैन । यसमा चाहीँ स्थानीय सरकार र राजनीतिक दलहरुले ध्यान दिनुपर्नेछ ।’ संघीय सरकारले सरसफाइको जिम्मेवारी स्थानीय सरकारलाई दिएकाले उनीहरुले स्पष्ट नीति बनाएर सार्वजनिक शौचालयको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । तर, सार्वजनिक शौचालय स्थानीय सरकारको कम प्राथमिकतामा पर्ने गरेका छन् । सार्वजनिक शौचालय निर्माणमा कार्यविधि र इच्छाशक्ति नहुँदा बजेट पचाउन हतारमा गरिएको खुला दिसामुक्त क्षेत्र घोषणाको प्रभावकारिता देखिएको छैन । अधिकांश पालिका जग्गा अभाव देखाएर शौचालय बनाउने जिम्मेवारीबाट पन्छिएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update