Shittalpati
तिहारलाई झिनिया

पाल्पा, यति बेला पाल्पाको तानसेन नगरपालिका– ३ टक्सारटोलमा तिहारका लागि झिनियाँ रोटी तयारी अवस्थामा राखिएको छ । नेवारी समुदायमा बढी चलनचल्तीमा रहेका झिनियाँ रोटी तिहारका लागि तयार गरिएको हो ।

तिहारको आगमनसँगै पाल्पामा व्यापार फष्टाउँदै गएको छ । तानसेनका हरेक गल्ली गल्ली, पसल पसलमा रङ्गी विरङ्गी झिनियाँ रोटी राखिएका छन् । एक हप्तादेखि पाल्पाका अधिकांश पसलहरूमा झिनियाँ रोटीको व्यापार सुरु भएको हो ।  तिहारको आगमनसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ । तिहारमा रोटीको परिकारलाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन छ । तानसेनको टक्सारमा उत्पादित झिनिया रोटी चामलको पीठोलाई पकाएर मेसिनबाट पीठोको रेसा निकालिन्छ । त्यसलाई चाउचाउ जस्तै गोलो आकारमा निर्माण गरी २–३ दिनसम्म घाममा सुकेपछि झिनिया बजारमा बेच्न योग्य हुने गर्दछ । तानसेनको टक्सारमा उत्पादित झिनियाले तिहारका बेला राम्रो बजार पाउँदा झिनिया उत्पादन गर्ने यहाँका महिलाको आयआर्जन समेत बढ्न थालेको छ । फुर्सुदका बेला झिनिया उत्पादन गर्दै आएका महिलाले दर्जनको ५० रुपैयाँदेखि ५ सय सम्म बेच्दै आएका छन् ।

टक्सारटोलकी झिनिया व्यवसायी निर्मया श्रेष्ठ भन्छिन्, ‘दसैं र तिहारका समयमा माग उच्च हुन्छ । अन्य समयमा यसको न्यून रुपमा प्रयोग हुने भएता पनि शहरमा यसको माग भने भइरहेको छ । ’श्रेष्ठले चारवर्ष अघिदेखि झिनियाँ रोटी बनाएरै जीविकोपार्जन गर्दै आएकी छन् । ‘बाबु बाजेले पनि झिनियाँ रोटी बनाएर जीविकोपार्जन गर्नुभएको थियो, हामीले पनि अहिले त्यही काम सिक्यौं अहिले झिनियाँ रोटी बनाएर जीवन चलाएका छौ’ उनले भनिन् ।  श्रेष्ठले वार्षिक २ लाखको झिनियाँ रोटी विक्री गर्दै आएको बताईन् । ‘मेसिन छ  फुुर्सदको समयमा बनाएर राख्यो तिहारमा विक्री भईहाल्छ’ उनले भनिन्,‘धेरै मेहनत पनि पर्दैन । आम्दानी पनि राम्रै हुन्छ ।’

हाते मेसिनले यहाँ झिनियाँ रोटी बनाउने चलन छ । घरखर्च चलाउनेदेखि लिएर छोराछोरी पढाउन समेत रोटी सहयोगी बनेको व्यवसायी श्रेष्ठले बताईन् । झिनिया  बनाउन उनलाई श्रीमान सुरेन्द्र श्रेष्ठले समेत सहयोग गर्दै आएका छन् । जागर मिहेनत गर्न सके झिनिया रोटीबाट राम्रो आम्दानी हुने सुरेन्द्र बताउँछन् । बर्ष भरी नै उत्पादन गरिने भए पनि दशैँ र तिहार नै यसको मुख्य सिजन भएको उनको भनाई छ ।

सिजनको समयमा उत्पादन गरेकै ठाउँमा किन्न आउनेहरुको भिड लाग्ने गर्दछ । उनीहरु जस्तै  टक्सार टोलका अन्य महिलाहरुले पनि झिनिया बनाएरै राम्रो आम्दानी गर्दे आएका छन् । पाल्पाको तानसेन, रामपुर, हार्थाक, ताहुँ, सराई लगायतका अधिकाश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने स–साना घरेलु उद्योगहरू नै सञ्चालनमा छन् । तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रुपमा झिनिया तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनियाको  व्यापार फस्टाउँदो छ ।

नेवार समुदायको पुजाआजाका समयमा अनिवार्य जस्तो भएको भएता पनि पछिल्लो समयमा सबै सम्प्रदाय तथा समुदायमा झिनिया रोटीको आकर्षण बढेको छ । यसका कारण झिनिया रोटीको व्यवसाय पनि फस्टाउँदै गएको हो । पाल्पाबाट उत्पादित झिनिया गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहुँलगायतका जिल्लामा ठूलो मात्रमा आयात हुँदै आएको झिनिया व्यवसायी बताउँछन् । तानसेनको टक्सारटोल, बगनासकाली गाउँपालिकाको पोखराथोक, माथागढी गाउँपालिकाको सराईमा  पनि व्यवसायिक रुपमा झिनीया रोटी बनाउने गर्दछन् । त्यहाँका छानाहरुमा अहिले रंगीचंगी झिनिया रोटी सुकाईराखेको देख्न सकिन्छ । अहिले पाल्पाका  बजारमा झिनियाँ रोटी खरिद बिक्री गर्नेहरूको भिड बढेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update