Shittalpati
गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी

गुल्मी, गुल्मीका विभिन्न क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । मुख्य सडक या सहायक सडक, गल्लीमा साँझबिहान भुस्याहा कुकुरको संख्या बढेको पाइएको छ । विशेष गरी जिल्ला सदरमुुकाम तम्घास, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका लगायतका क्षेत्रहरुमा भुस्याहा कुुकुरको संख्या बढी देखिएको हो ।

सवारीसाधन र मानिसको आवातजावत कम हुने समयमा ती भुस्याहा कुकुरको गतिविधि बढ्ने गरेको छ । हिँडिरहेको मान्छेलाई झम्टिन खोज्ने, मोटरबाइक या गाडीको पछिपछि लागेर दुःख दिने समस्या भोग्न सबै जसो बाध्य छन् । रुरुक्षेत्र गाउँपालिका– ४ तोंगाका दीपक ज्ञवालीले राति १० बजेपछि बिहानसम्म बाटो–बाटोमा चोक चोकमा भुस्याहा कुकुरको बिगबिगी बढेको बताए । उनले कुकुर यसरी बढी देखिएपछि एक्लै हिँड्न कठिन हुने गरेको बताए । गाउँ–बजारभरि भुस्याहा कुकुर आउन थालेपछि अत्यावश्यक काम परेको समयमा पनि बाहिर निस्कन कठिन हुने गरेको उनको भनाई छ । बुधबार र बिहीबार मात्र जिल्लाको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा कुकुरले टोक्दा १७ जना घाइते भएका छन् । बाटोमा हिडिरहेकाहरुलाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

बुधबार यहाँका ३ जनालाई भुस्याहा कुकुरले टोकेको थियो । सूचना अधिकारी पाण्डेका अनुसार छत्रकोट गाउँपालिका–१ उर्लिखोलाकी ४९ वर्षीया राधिका विक, रुरुक्षेत्र गाउँपालिका–४ तोंगाकी ७२ वर्षीया सिता देवी ज्ञावली सोही ठाउँकी ३७ वर्षीया अमृता ज्ञवाली घाइते भएका हुन् । उनीहरुको तानसेनस्थित युनाईडेट मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको  छ । त्यस्तै गरी बिहीबार छत्रकोट गाउँपालिका विभिन्न वडामा भुस्याहा कुकुरले टोकी थप १४ जना घाईते भएका छन् । घाइते हुनेहरुमा छत्रकोट गाउँपालिका–३ लुम्छाकी ४५ वर्षीया लक्ष्मी पन्थी, सोही वडाको काब्रेका २१ वर्षीया कुसल झाक्री, श्रृङ्गाका ५५ वर्षीय चैते चौधरी, लुम्छाका ३३ वर्षीया रमेश श्रेष्ठ, कारपोखराका ५५ वर्षीय लाल मणी कडेल, श्रृङ्गाका २८ वर्षीय राजकुमार कडेल, पल्लीकोटकी २६ वर्षीया संगीता परियार, सोही ठाउँकी ३० वर्षीया जमुना नेपाली, भेडुवाकी लिली टण्डन, हुँगाका ६५ वर्षीया (आँखा नदेख्ने) सोमबहादुर नाम्जाली, काभे्रका ५१ वर्षीय टिकाबहादुर झाक्री, बिरबासकी १३ वर्षीया एनजल बस्नेत, श्रृङ्गाकी ७५ वर्षीया दिमकला कडेल, पल्लीकोटकी ५० वर्षीया कमला सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पाल्पा रिफर गरिएको छ । प्रहरीले स्थानीयहरुको सहयोगमा कुकुरलाई नियन्त्रणमा लिएको छ । छाडा रुपमा देखिएको भुस्याहा कुकुरको व्यवस्था गर्नका लागि स्थानीय सरकारले ध्यान नदिदा धैरै मानिसहरुले अनाहकमा दुख पाउने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update