Shittalpati
  पाल्पामा स्थानीय तहका कर्मचारी काम रोकेर धर्नामा

पाल्पा,  पाल्पामा स्थानीय तहका कर्मचारीहरु काम रोकेर धर्नामा बसेका छन् । संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।  

अत्यावश्यक बाहेक सबै कामकाज बन्द गरी धर्नामा बसिएको स्थानीय तह कर्मचारी मञ्च पाल्पाका सदस्य नारायण तिमिल्सीनाले बताए । उनले अनिश्चितकालीन रूपमा ‘पेन डाउन’ गरिएको बताए । तिमिल्सीनाले भने ‘सरकारले आफ्ना मागलाई बेवास्ता गरेमा अझ सशक्त रुपले आन्दोलनका कार्यक्रम अघि बढाइने छ ।’ अहिले प्रतिनिधिमूलक रुपमा केही कर्मचारीहरु काठमाडौंको आन्दोलनमा छौं भने अन्य कर्मचारी स्थानीय तहबाटै सरकारलाई दवाब दिइरहेको उनले बताए । 

तानसेन नगरपालिकाका कर्मचारीहरुले आइतबारदेखि लगातार अत्यावश्यक बाहेकका सेवा रोकेर धर्ना बसेका छन् । सरकारले स्थानीय सेवाका कर्मचारीहरुको मागबारे प्रतिक्रिया नजनाएपछि आफुहरु नियमित काम रोकेर धर्ना बस्न बाध्य भएको तानसेन नगरपालिकाका राजश्व शाखा प्रमुख मधुसुदन घर्तीले बताए । अत्यावश्यक काम भने भइरेहको उनले बताए । ‘बिहीबारसम्म हाम्रा मागको सुनुवाइ भएन, हामीले पूर्वघोषित कार्यक्रमअनुसार स्थानीय तहमा अत्यावश्यक बाहेकका सेवा दिएका छैनौं’, उनले भने,‘ हाम्रो माग पुरा नभएसम्म जारी रहन्छ ।’ यसले स्थानीय तहहरुको सेवा अनिश्चितकालसम्मका लागि प्रभावित हुने देखिएको छ । तानसेन नगरपालिकामा जस्तै अन्य पालिकाहरुमा पनि कर्मचारी धर्नामा बसेका छन् । 

स्थानीय तहहरुमा उपस्थित भएपनि कर्मचारीहरुले ‘पेन डाउन’ भन्दै नियमित सेवा नै रोकेका हुन् । यसले गर्दा स्थानीय तहका कार्यलयहरु खुले पनि कर्मचारी आन्दोलनका कारण सेवाग्राही प्रभावित भएका छन् । स्थानीय तह र वडा कार्यालयहरुमा कामकाज रोकिएको विभिन्न स्थानीय तहका जनप्रतिनिधिले जानकारी दिएका छन् । संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै पाल्पासहित देशैभरका स्थानीय तहका कर्मचारी  आन्दोलनमा उत्रिएका हुन् ।  संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको भन्दै काठमाडौं केन्द्रीत आन्दोलन गरेका कर्मचारीहरु अहिले ७ सय ५३ वटै स्थानीय तहमा आन्दोलित भएका छन् । १५ असोजदेखि स्थानीय तहका कर्मचारी केन्द्रीय संघर्ष समितिले काठमाडौं केन्द्रित आन्दोलन थालेको थियो ।  काठमाडौंमा ७ सय ५३ स्थानीय तहकै कर्मचारीहरुले दैनिक माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन  गरिरहेका छन् । उनीहरुले काठमाडौंको आन्दोलनलाई निरन्तरता दिदै अहिले आ–आफ्ना पालिकाबाट समेत विरोध प्रदर्शन गरिरहेका छन् । जिल्ला–जिल्लामा संघर्ष समिति बनाएर आन्दोलन थालेका उनीहरुले शुक्रबारदेखि भने सम्बन्धित पालिकामा कामकागज रोकेर धर्ना बसेका हुन् । 
 स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग गरेका छन् । त्यस्तै, समायोजनका कर्मचारीहरूको उचित व्यवस्थापन गर्नुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्तिविकासको व्यवस्था गर्नुपर्ने र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि पनि कर्मचारी कल्याणकारी कोषको अनिवार्य व्यवस्था गर्न माग गरेका छन् । स्थानीय तहका कर्मचारीलाई पनि ट्रेड युनियन अधिकार प्रदान गर्नुपर्ने,अस्थायी तथा करार कर्मचारीको उचित व्यवस्था गर्नुपर्ने, साविक स्थानीय निकायबाट समायोजन भएका कर्मचारीहरुको समेत अन्तरपालिका सरुवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने लगायतका माग उनीहरुको छ । माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्थानीय तह कर्मचारी मञ्च पाल्पाले जनाएको छ ।
                                                                                                                                                                                          

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update