Shittalpati
निस्दीमा बालविवाह : विवाह गर्न लागेको एक जोडी फरार  

पाल्पा,  जिल्लाका निस्दी गाउँपालिका –१  राउवनमा बालविवाहको तयारी गरेको एक जोडी फरार भएको छ ।  राउवनकी १८ वर्षीया बालिकाको विवाह हुन लागेको जानकारी पाउन साथ प्रहरी, वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारी बालिकाको घर पुुगे पनि उनीहरु त्यहाँ फेला पर्न सकेनन् ।

ति बालिकाको नवलपुरको बौद्धिकालीमा विवाह हुन लागेको जानकारी प्राप्त हुुन साथ टोली उनको घर पुुगे पनि त्यहाँ कोही पनि नभेटिएको वडा अध्यक्ष यमबहादुर रानाले बताए । उनले भने‘ प्रहरी आएको थाहा पाएर हतार हतारमा विवाह गरेर लगि सकेको हुन सक्ने भएकाले हामीले नवलपुर प्रहरी प्रशासनलाई जानकारी गराई सकेका छौं ।’ उनका अनुसार अहिलेसम्म कुनै पनि जानकारी प्राप्त भएको छैन् ।  

निस्दीमा जनजाति र आदिवासी समुदायमा बालविवाह प्रथा अझै कायम छ । अहिले अधिकांश बालविवाह प्रेमविवाहको रुपमा हुने गरेको छ । अभिभावकहरुले भन्दा पनि कलिलै उमेरमा आफै विवाह गर्ने प्रचलन झाँगिएको छ । यहाँ कयौं बालविवाहरु रद्द समेत भएका छन् । ४ असोज २०८० मा वडा नं ३ खादरकी १८ वर्षीया बालिका र वडा नं ४ घोरमाका २१ वर्षीय युवकबीच भएको विवाह रद्द भएको थियो । दुवैका आमाबुबाको मञ्जुरीमा असोज ४ गते उनीहरुको मागी विवाह भएको थियो तर विवाह भएको एक दिनमै उनीहरुको विवाह रद्द भएको हो ।

यस्तै सोही दिन वडा नं ७ ज्यामिरे चारघरेकी १६ वर्षीया बालिका र वडा नं. ४ मित्यालका १८ वर्षीय बालकबीच भएको विवाह पनि रद्द भएको छ । गत असारमा पनि वडा नं ४ झ्यालटुुङ्गकी १६ वर्षीय बालिकाको नवलपरासीका एक केटासँग बालविवाह भएको थियो । उनीहरुको पनि जनप्रतिनिधि, प्रहरीको पहलमा अभिभावकसँग समझदारी गरी विवाह रद्द गरिएको छ । अहिले ति बालिकाले कक्षा १० मा अध्ययन गर्दै आएकी छन् ।  

बालिकाको उम्मेर नपुग्दै बाल विवाह गरेको भन्दै यहाँका जनप्रतिनिधि, प्रहरी र पालिकाका कर्मचारीहरुले अभिभावक र केटाकेटीको समझदारीमा दुुवै जोडीको विवाह रद्द गरेका हुन् ।  वडाका जनप्रतिनिधि, प्रहरी र पालिकाका बालमैत्री स्थानीय शासन कार्यक्रमका फोकल पर्सन सहित दुुवै पक्षका अभिभावकहरुको छलफलबाट विवाह रद्द गरेर ती बालबालिकालाई आफन्तको जिम्मा लगाइएकोे छ । उमेर नपुगी विवाह गरेका ति जोडीलाई विवाह भएको अर्को दिन नै समझदारीमा घर फर्काइएको  गाउँपालिकाका बालमैत्री कार्यक्रमका फोकल पर्सन कुुसमाखर पाण्डेले बताए । मगर संस्कृति अनुसार राती नै विवाह गरेर लैजाने परम्परा भएकाले विवाह भएको अर्को दिन मात्र थाहा भएको उनले बताए । उमेर नपुगी बिवाह गर्नु कानुनी अपराध भएको भन्दै स्थानीयले जनप्रतिनिधिलाई जानकारी गराएपछि  मात्र थाहा पाएको पाण्डेको भनाई छ । 

‘स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहवरमा बालिकाहरुलाई अभिभावको जिम्मा लगाएका छौँ’ फोकल पर्सन पाण्डेले भने । ‘अहिले दुवै जोडीको उमेर २० वर्ष पुुगेको छैन् । कानुनी रुपमा विवाह गर्न अझै केही वर्ष बाँकी छ । २० वर्षपछी यही जोडिले राजीखुशीमा विवाह गर्न चाहेमा विवाह गर्ने शर्तमा कागज बनाएर बाल विवाह बदर गरेका छौँ ।’ उमेर नपुगी हुँने बाल विवाह अझै पनि हाम्रो समाजमा भइरहेका छन् । यस्तो अपराधको अन्त्य गर्न हामी सबैको दायित्व रहेको भन्दै उमेर नपुगी विवाह भएका जोडीलाई घर फर्काएको बालमैत्री कार्यक्रमका फोकल पर्सन पाण्डेले बताए ।

पढ्ने लेख्ने यस्तो कलिलो उमेरमा गर्ने विवाहले धेरैको शारिरिक रुपमा पनि कमजोर भएको पाइन्छ । निस्दी गाउँपालिकाले बालविवाह रोक्नका लागि गत वर्षदेखि बालमैत्री कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । बालविवाह गर्नुहुन्न भन्ने जानकारी हुँदाहुँदै र सचेत गराउँदागराउँदै जबर्जस्ती बिहे हुने गरेका छन् । 
मुलुकी अपराध संहितामा केटा वा केटीले २० वर्ष नपुगी विवाह गरेमा बालविवाह ठहरिने र त्यस्तो विवाह स्वतः बदर हुने व्यवस्था छ । यस्तै बालविवाह गराउनेलाई ३ वर्षसम्म कैद तथा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update