Shittalpati
तानसेनमा ‘श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’, विद्यार्थीले गरे क्षमता प्रदर्शन 

पाल्पा, तानसेनमा ‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ आयोजना गरिएको छ । आइतबार कोएस्ट नेपालको आयोजना, श्रीनगर हब र पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कुलको आतिथ्यतामा कन्भेन्सन आयोजना गरिएको हो ।  

नीजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुमा भएको क्षमताको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा नीजी विद्यालयका विद्यार्थीहरुमा रहेको कला, सिप र क्षमताको प्रदर्शन गरिएको थियो ।  

जहाँ विद्यार्थीहरुले विद्यालयमा गरेका शैक्षिक गतिविधिहरुको अनुुसन्धानात्मक केस स्टडी, हाजिरी जवाफ, कथा लेखन, पेण्टिङ ड्रोइङका विभिन्न विधामा एक आपसमा प्रतिस्पर्धा गर्नुको साथै सामूहिक छलफल समेत गरेका थिए । सोही अवसरमा उनीहरुलाई फोटो खिच्न र ध्यान गर्न समेत सिकाइएको थियो । पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कुलमा भएको सम्मेलनमा विद्यार्थीहरुले आ–आफुुसँग भएका कला र क्षमता देखाएका थिए । विद्यार्थीले व्यक्तिगत जीवनमा हुने व्यावहारिक कामबारेमा तर्कवितर्क समेत गरेका थिए । सम्मेलनले विद्यार्थीलाई पाठ रटाउने तर पाठ्यक्रमले खोजेको क्रियाकलापमा संलग्न नगराउने शैक्षिक परिपाटीको अन्त्यको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । कन्भेन्समा कक्षा १ देखि १० सम्मका १ सय ३४ विद्यार्थी सहभागिता रहेको कार्यक्रम संयोजक शोभा भट्टराईले जानकारी दिइन् । 

 सम्मेलनले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान सिक्न र उनीहरुमा भएको क्षमताको मूल्यांकन गर्न महत्वपूर्ण भूमिका खेल्ने लुम्बिनी प्रदेश सांसद खेम सारुले बताए । सम्मेलनको उद्घाटन गर्दै उनले विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी व्यवहारिक ज्ञान र सिप अहिलेको आवश्यकता रहेको औल्याए । सांसद सारुले विद्यार्थीको गुणस्तरीय क्षमता अभिवृद्धि र अब्बल विद्यार्थी उत्पादनमा यस्ता सम्मेलनले टेवा पुुग्नेमा विश्वास व्यक्त गरे ।  कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुुष्करराज रेग्मी, पाल्पा प्याब्सनका अध्यक्ष महेशमान बज्राचार्य, तानसेन ३ का वडा अध्यक्ष बाबुरत्न शाक्य, पाल्पा व्यापार संघका अध्यक्ष एवं पाल्पा प्यारागनका सञ्चालक बामदेव बस्याल लगायतले विद्यार्थीको व्यवहारिक क्षमताको खोजी गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।  

सम्मेलनले विद्यार्थीलाई गुड र स्मार्ट क्वालिटीको बनाउनेमा एनसी एसक्यूसी नेपालका केन्द्रीय सदस्य गंगाबहादुर खत्रीले विश्वास व्यक्त गरे । उनले भने ‘हाम्रो शिक्षा प्रणालीमा प्राप्तांकले विद्यार्थीमा योग्यतताक्रम हासिल भए पनि विशेष सीप नहुने हुँदा समस्या भएको छ ,यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने छ । ’ ‘पढेर धेरै नम्बर ल्याउनुपर्छ भन्ने मात्रै सोंच छ । अहिलेका समालोचनात्मक चिन्तन, आत्मबोध, आत्ममूल्याड्ढन जस्ता सीप नै छैन । यस्ता सीप विद्यार्थीहरुका लागि आवश्यक छ ’ खत्रीले भने । विद्यार्थी गुणीयचक्र एउटा प्रक्रिया भएको र उनीहरुमा अन्तर्निहित रहेका प्रतिभाको प्रस्फुटन गर्न यो कार्यक्रमले उपयोगी भूमिका निर्वाह गर्ने पाल्पा हवको पूर्व संयोजक अशेष भट्टराईले बताए । आधुनिक शिक्षासँगै वैज्ञानिक तरिकाले संस्कारयुक्त ज्ञान प्राप्त गर्न कार्यक्रम प्रभावकारी बनेको उनले विश्वास व्यक्त गरे । श्रीनगर हवकी कार्यक्रम संयोजक शोभा भट्टराईको अध्यक्षता, सचिव कृष्ण खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update