Shittalpati
तानसेन बहुमुखी क्याम्पसको यात्रा ३४ वर्षमा 

पाल्पा,  तानसेन नगरपालिका–७ काजीपौवामास्थित जिल्लाको पहिलो सामुदायिक क्याम्पस  तानसेन बहुमुखी क्याम्पस ३४ वर्षको यात्रामा प्रवेश गरेको छ । २०४७ असार १९ गते त्रिभुवन बहुमुखी क्याम्पसको पुरकको रुपमा स्थापना भएको क्याम्पसले ३४ वर्षको यात्रा तय गरेको हो ।

व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी क्याम्पसको स्थापना भएको थियो । यो यात्रामा क्याम्पसले आफुलाई नेपालकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । त्यसबेला धेरैले विश्वास नगरेको विषय थियो पाल्पामा सामुुदायिक तवरबाट स्थापित क्याम्पस ३४ वर्षसम्म खडा हुनेछ तर धेरैको आकलनलाई गलत सावित गर्दै तानसेन बहुुमुुखी क्याम्पसले आफ्नो ३३ वर्षे यात्रा पार गर्न सफल भएको छ । कक्षा ११ देखि स्नाकोत्तरमा शिक्षा, व्यवस्थापन र मानविकी संकायको शैक्षिक कार्यक्रम विकासमा यस क्याम्पसको ठूलो योगदान रह्यो । 

३४ वर्षमा प्रवेश गरेको खुसीयालीमा क्याम्पसले साताव्यापी कार्यक्रमहरुको आयोजना गरी वार्षिक उत्सव मनाएको छ । उत्सवको बुधबार एक औपचारिक कार्यक्रमकाबिच समापन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि एवं क्याम्पसका संस्थापक/संरक्षक डा. रामप्रसाद शर्माले समापन गरेका हुन् । कार्यक्रममा संरक्षक शर्माले सबैको सहयोग र साथका कारण क्याम्पस जिल्लाकै प्रतिष्ठित क्याम्पस बन्न सफल भएको बताए । उनले पश्चिम क्षेत्रलाई लक्षित गरी सामुदायिक क्याम्पसका रुपमा क्याम्पस स्थापना गरिएको बताए । डा. शर्माले मान्छे मरेर गए पनि धर्तीमा नाम रहने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले भने ‘कृति राखेर मर्ने व्यक्ति मरेर पनि सधै बाँचिरहन्छ, त्यसैले हामीले कुनै न कुनै रुपमा नाम लेख्ने गरी काम गर्नुपर्छ ।’  डा. शार्मले क्याम्पसमा अध्ययन गरेका र गरेर गइसकेका विद्यार्थीहरुलाई क्याम्पसप्रति माया गर्न समेत आग्रह गरे ।

 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजनप्रसाद पन्तले यही पढौं, यही बसौं भन्ने भावनामा ह्रास आएकाले सामुुदायिक क्याम्पसहरु समस्यामा परेको बताए । उनले भने‘ पछिल्लो समय विद्यार्थीहरु बसाईसराई र विदेश पलायन हुँदा शैक्षिक संस्थाहरु सञ्चालनमा गाह्रो भइरहेको छ ।’ अध्यक्ष पन्तले क्याम्पस व्यवस्थापनमा कुुनै पनि समस्या नरहेको तर विद्यार्थी पलायन हुुने प्रवृत्तिले क्याम्पस सञ्चालनमा समस्या सिर्जना भएको बताए । अहिलेको राष्ट्रिय समस्या भएकाले कसरी विद्यार्थी टिकाउने र वृद्धि गर्ने भन्ने विषयमा क्याम्पस व्यवस्थापन समिति अत्यन्त चिन्तित रहेको उनले धारणा व्यक्त गरे । अध्यक्ष पन्तले शैक्षिक संस्थालाई जिवन्त राख्न सबैको सहयोग आवश्यक रहेको बताए ।

वडा अध्यक्ष प्रदीप खनालले क्याम्पसमा विद्यार्थी आउने वातावरण सिर्जना गर्ने कुरामा स्थानीय सरकारले ध्यान दिने बताए । उनले  काजीपौवा आउने सडक स्तरन्नोतिका लागि प्रदेश सरकारबाट २५ लाख बजेट विनियोजन गरिएकाले क्याम्पस आउने विद्यार्थीहरुलाई सहज हुने विश्वास व्यक्त गरे । वडा अध्यक्ष खनालले क्याम्पसमा छात्रा विद्यार्थीहरुका लागि वडाबाट स्टेनरी  प्याडको व्यवस्था गरिदिने समेत प्रतिवद्धता जनाए । पूर्व क्याम्पस प्रमुख  तथा सामुदायिक क्याम्पस संघका जिल्ला अध्यक्ष राधेश्याम ज्ञवालीले कोभिड महामारीका कारण शैक्षिक संस्थाहरु प्रभावित भएकाले त्यसको समाधानमा कोही कसैलाई दोष दिएर भन्दा पनि आफै सजग हुनुपर्ने धारणा व्यक्त गरे । उनले कार्ययोजना बनाएर अगाडि बढ्न क्याम्पसलाई आग्रह गरे ।

प्राध्यापक रामप्रसाद ढकालले क्याम्पसले शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सरकारको गलत नीतिका कारण विद्यार्थीहरु विदेश पलायनको अवस्था सिर्जना भएको भन्दै त्यसलाई परिवर्तन गर्नु पर्नेमा जोड दिए । पत्रकार महासंघ पाल्पाका पूर्व उपाध्यक्ष प्रकाश नेपालले पश्चिम नेपालमै क्याम्पसले छुुट्टै ब्राण्ड बनाउन सफल भएको बताए । उनले अहिलेको समय प्राविधि शिक्षाको भएकाले प्राविधिक  धारको शिक्षा सञ्चालनमा ध्यान दिन क्याम्पसलाई आग्रह गरे । विद्यार्थी हित शाखाकी प्रमुख नविना सारुले क्याम्पसले लगानी मात्र नभई गुणस्तरीय शिक्षा प्रदानमा समेत ध्यान दिनुपर्नेमा जोड दिइन् ।  

कार्यक्रममा क्याम्पस प्रमुख  पुष्करराज रेग्मीले  क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनदेखि प्राविधिक शिक्षाको व्यवस्था गर्दै क्याम्पसलाई सामुदायिक शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकसित गर्ने बताए । विद्यार्थी संख्या वृद्धिका आकर्षक कार्यक्रमसहित रणनीति तय गरिने, कप्युटर प्रयोगशला, पुस्तकालय एवं ईलाइब्रेरी कक्षलाई अध्याधिक रुपमा सञ्चालन गरिने  प्रमुुख रेग्मीले बताए ।

कार्यक्रममा उत्कृष्ट प्राध्यापकका रुपमा रामप्रसाद ढकाल र विभिन्न विधामा विजयी प्रतियोगीहरुलाई सम्म्मान तथा पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा क्याम्पसले वार्षिक विशेषाङ्क समेत विमोचन गरेको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजनप्रसाद पन्तको अध्यक्षता, प्राध्यापक संघका अध्यक्ष श्रीधर कुमार उपाध्यायको स्वागत, प्राध्यापक अरुण ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो । क्याम्पले सोही अवसरमा सरस्वती पुजा समेत गरेको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update