Shittalpati
शिक्षण सहयोग अनुदानमा अनियमितता

पाल्पा, जिल्लाको तानसेन नगरपालिकास्थित एक विद्यालयमा शिक्षण सहयोग अनुदानबापत आएको रकममा अनियमिता भएको पाइएको छ । तानसेन नगरपालिका–११ रानीपोखरी बन्दीपोखरामा रहेको गार्गी माध्यमिक विद्यालयमा शिक्षण अनुदानको रकममा अनियमिता भएको पाइएको हो ।

विद्यालयका दुई शिक्षिकाका लागि संघीय र स्थानीय सरकारबाट प्राप्त भएको शिक्षण सहयोग अनुदानबापतको १३ लाख ४१ हजार ९ सय २९ रुपैयाँ रकम अनियमिता भएको छ । मावि लेखा विषय शिक्षिका मीना भाट र अंग्रेजी विषय शिक्षिका पार्वती सुन्दौलीले शिक्षण सहयोग अनुदान कोटामा अध्यापन गराउदै आएका छन् तर विद्यालयले उनीहरुलाई अनुदानबापत प्राप्त भएको रकम नदिएर कर कट्टी गरी मासिक १४ हजार ८ सय ५० रुपैयाँ मात्र दिंदै आएको छ । मावि तहको लागि अनुदान रकम अनुसार ३७ हजार ९ सय ९० मासिक तलब हुनुपर्ने हो, तर विद्यालयले ति शिक्षिकाहरुलाई १४ हजार ८ सय ५० दिंदै आएको छ । विद्यालयले आर्थिक अनियमिता मात्र गरेको छैन शिक्षिकाहरुको श्रममा समेत शोषण गरेको प्रष्ट हुन्छ । २०७८/११/२७ मा ससर्त बजेट अन्तर्गतको अनुदान दिने गरी पार्वती सुन्दौलीलाई नियुक्त गरिएको थियो । उनलाई आर्थिक वर्ष २०७८/०७९ मा मासिक ३५ हजार ९ सय ९० अनुसार ४ लाख ३१ हजार ८ सय ८० दिनुपर्नेमा विद्यालयले ५५ हजार ३ सय ८० मात्र भुक्तानी गरेको छ । यस्तै सुन्दौलीलाई आर्थिक वर्ष २०७९/०८० मा अनुदान घटेर आएकाले विद्यालयलले २०७९/१०/२२ मा पुनः निमाविको नियुक्ती दिएको थियो । उक्त अवधिमा पनि विद्यालयले मासिक १४ हजार ८ सय ५० नै दियो । यस्तै २०७६/१०/२१ मा निसर्त बजेट अन्तर्गतको अनुदान दिने गरी शिक्षिका मीना भाटलाई मावि तहमा नियुक्त गरिएको थियो । उनलाई पनि मासिक ३७ हजार ९ सय ९० अनुसार ४ लाख ५५ हजार ८ सय ८० दिनुपर्नेमा आर्थिक वर्ष २०७९/०८० मा २ लाख ५ हजार मात्र भुक्तानी दिइएको छ । शिक्षिका भाटले नियुक्ती भएदेखि १६ लाख १९ हजार ७ सय ६० बराबर भुक्तानी पाउनु पर्नेमा ७ लाख मात्र पाएको देखिन्छ । उनको ९ लाख १९ हजार ७ सय ६० रुपैयाँ विद्यालयले अनियमिता गरेको छ । यस्तै शिक्षिका सुन्दौलीले पनि पाउनुपर्ने ४ लाख २२ हजार १ सय ६९  पाएकी छैनन् ।  

अनियमिता गरिएको रकममा विद्यालयका प्रधानाध्यापक यादव घिमिरे र व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेको नाम मुछिएको छ । उनीहरुकै मिलोमतोमा रकम अनियमिता भएको बताइएको छ । प्रधानाध्यापक घिमिरेले भने विद्यालयको बचाउ गर्दै शिक्षिकाहरुसँगको आपसी समझदारीमा तलब दिर्दै आएको बताए । अनुदानमा आएको रकममा आपसी समझदारी गर्न नमिल्ने व्यवस्था भए पनि उनले मौखिक समझदारी गरेको दावी गरे । घिमिरेले बाँकी रकम अनियमिता नगरेको तर विद्यालयको मर्मत सम्भार र मसलन्दमा खर्च गरेको बताए ।

जुन शिर्षकका लागि आएको रकम हो त्यो भन्दा बाहिर गएर खर्च गर्न नपाइने व्यवस्था भए पनि विद्यालयले सम्बन्धित शिर्षक भन्दा बाहिर गएर खर्च गर्नुले पनि अनुदानमा अनियमिता भएको प्रष्ट हुन्छ । २०७६ माघदेखि अध्यापन गराउदै आएकी शिक्षिका मिना भाटले पहिले आफ्नो तलब यति धेरै हुन्छ भन्ने थाहा नै नभएको बताइन् । उनले भनिन् ‘नियुक्ति दिँदा तपाईको तलब १५ हजार हुन्छ मात्रै भन्नुभयो, दुई/चार पैसा भए पनि आम्दानी हुने घरपाई मिलेको जागिर भनेर पढाउन थाले ।’ दुई वटा तलवी भरपाईमा सिग्नेचर गर्नुपर्ने भाटले बताइन् । उनले भनिन् ‘हामीलाई विद्यालयमा राख्ने भरपाईमा १४ हजार ८ सय ५० र नगरपालिकालाई बुझाउनुपर्नेमा ३७ हजार ९ सय ९० को तलबी भरपाईमा सिग्नेचर गर्न लगाईन्छ, हामीले पनि नबुझेर सही गर्दै आयौं ।’ अहिले नगरपालिकाबाटै फोन गरेर कति तलब बुझ्नु भएको छ भनेर सोधेपछि मात्र थाहा पाएको उनले सुनाइन् । २०७८ देखि अध्यापन गराउँदै आएकी अर्की शिक्षिका पार्वती सुन्दौलीले नियुक्ति लिँदा व्यवस्थापन समितिले १५ हजार तलब हुन्छ भनेको बताइन् । उनले भनिन् ‘जसोतसो जागिर पाइएको छ । हुन्छ थोरै भएपनि गर्छु भनेर पढाउन थालेकी हुँ, तर हाम्रा नाममा यत्रो तलब हुन्छ भन्ने नै थाहा भएन ।’ अहिले दुवै जना पीडितले पुरा तलब उपलब्ध गराउन माग गर्दै तानसेन नगर सरकारको शिक्षा शाखामा निवदेन समेत दिएका छन् । 

नगर शिक्षा शाखामा बुझाउने भरपाईमा भने वास्तविक तलबमा नै हस्ताक्षर गरेर पठाइएको शिक्षा शाखा अधिकृत कोपिला न्यौपानेले बताइन् । उनले भनिन् ‘विद्यालयले नगरमा पेशको गरेको भरपाईमा तलब सहि दिएको प्रमाण पेश भएको छ तर विद्यालयको भरपाईमा भने १५ हजार भुक्तानी दिइएको पाइयो, यो नियम विपरीतको कार्य हो ।’ शिक्षण सहयोग अनुदानमा अनियमिता भएको थाहा पाउन साथ नगर शिक्षा शाखाबाट स्थलगत अनुगमन समेत गरिएको शिक्षा अधिकृत न्यौपानेले बताइन् । प्रतिवेदन तयार पछि आवश्यक प्रक्रिया अगाडि बढाइने उनको भनाई छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update