Shittalpati
गौं हत्याको विरोधमा तानसेनमा शान्तिपूर्ण र्‍याली निकालिदैं

पाल्पा,गौं वंश हत्याको विरोधमा भोली पाल्पाको तानसेनमा वृहत्त शान्तिपूर्ण र्‍याली निकाल्न लागिएको छ । विश्व हिन्दु महासंघ पाल्पा र ॐकार परिवारले गौं हत्याको विरोधमा वृहत्त र्‍याली निकाल्न लागेका हुन् ।    

हिन्दु महासंघले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी शान्तिपूर्ण र्‍याली निकाल्न लागिएको जनाएको छ । गौं वंशका हत्यारा र धर्मान्तरण गराउने अपराधीहरुलाई शीघ्र नियन्त्रणमा लिएर कडा कारवाहीको माग गर्दै दवाबमूलक शान्तिपूर्ण र्‍याली निकाल्न लागिएको महासंघका  जिल्ला अध्यक्ष कमल पौड्यालले बताए ।  उनले भने ‘नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावरको मान्यता दिए पनि सामाजिक सद्भाव खलबलिने गरी वर्तमानमा भएको गौं वंश हत्या र सामाजिक सञ्जालहरुमा छरपष्ट रुपमा प्रचार–प्रसार भइरहेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ’

राज्यको संविधानले संरक्षण गरेको गौं वंश बधले संविधानको मर्यादा खुलेआम उलङ्घन हुँदा सरकार मुखदर्शक हुनु दुःखद् भएको भन्दै आफुहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएको अध्यक्ष पौड्यालले बताए । सामाजिक सद्भाव कायम राख्नका निम्ति आफ्नो आवाज उठाउन बाध्य भएको उनको भनाई छ ।  अध्यक्ष पौड्यालले गाई काट्नु र संविधान जलाउनु एउटै भएको भन्दै त्यसतर्फ सरकार गम्भीर बन्नुुपर्ने बताए । उनले भने‘ जलिरहेको संविधानमा सरकारको आखाँ र कान पुगोस् भन्ने उद्देश्यले चरणबद्ध आन्दोलनका कार्यक्रमा गरेको हौं ।’ शान्ति सद्भाव कायम गरिनुपर्ने  हिन्दु महासंघका केन्द्रीय सदस्य भीमलाल भट्टराईले बताए । उनले भने ‘संविधान अनुसार देश चल्नुु पर्छ । हामीले केही लाद्न खोजेका छैनौं । सबै जातजाति, लिंग, धर्मको देश हो । कसैले कसैलाई अपमान गर्न हुदैन ।’

 गैं वंश हत्याको भत्र्सना गरौं, हिन्दु राष्ट्र नेपाल कायम गरौं, संवैधानिक कानुुनको पालना गर, सामाजिक सद्भाव कायम गरौं लगायतका नारा सहित दबाबमूलक शान्तिपूर्ण सद्भाव र्‍याली निकाल्न लागिएको महासंघका प्रदेश सदस्य एवं ब्रहामण समाज पाल्पाका अध्यक्ष धर्मचन्द्र नेपालले बताए ।  उनका अनुसार तानसेनको टुंडीखेलबाट र्‍यालीसुरु हुनेछ । र्‍यालीमा जिल्ला भरिका एक हजार बढीको सहभागिता रहने उनले बताए ।  यो दोस्रो चरणको आन्दोलन रहेको नेपालले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update