Shittalpati
आज राष्ट्रिय चलचित्र दिवस मनाइँदै

पाल्पा, नेपाली चलचित्र क्षेत्रको योगदान, इतिहास र महत्वलाई स्मरण गर्दै आज राष्ट्रिय चलचित्र दिवस मनाइँदैछ । नेपाली चलचित्रको विकास, प्रवद्र्धन तथा यस क्षेत्रमा संलग्न कलाकार, निर्माता, निर्देशक, प्राविधिक र अन्य श्रमिकको योगदानलाई सम्मान गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिँदैछ ।

गत वर्षदेखि प्रत्येक वर्ष असोज १५ गते यो दिवस  मनाउने  गरिन्छ । नेपाल चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा दिवस मनाउने घोषणा गरिएको थियो । सोही अनुरुप आज देशभर यो दिवस मनाइँदै छ । यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिए पनि असोज १५ घोषणा गरिएको हो । राष्ट्रिय चलचित्र दिवसका अवसरमा चलचित्र प्रदर्शन, अन्तरक्रिया, सम्मान तथा सांस्कृतिक कार्यक्रमलगायतका गतिविधि आयोजना हुने गरेका छन् । दिवसले नेपाली चलचित्रको वर्तमान अवस्था, यसले सामना गरिरहेका चुनौती तथा आगामी सम्भावनाबारे बहस गर्ने अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ । नेपालमा चलचित्र निर्माणको इतिहास लामो भए पनि पछिल्लो समय प्रविधिको विकाससँगै नेपाली चलचित्रको निर्माण शैली, विषयवस्तु र प्रस्तुतीकरणमा समेत परिवर्तन आएको छ ।

नयाँ पुस्ताका कलाकार तथा प्राविधिकको प्रवेशसँगै चलचित्र क्षेत्रमा नयाँ प्रयोग र प्रवृत्ति देखिन थालेका छन् । चलचित्रकर्मीहरूले भने नेपाली चलचित्रको विकासका लागि गुणस्तरीय तथा मौलिक कथावस्तु, दक्ष जनशक्ति, प्रविधिको उचित प्रयोग र व्यवस्थित बजार आवश्यक रहेको बताउँदै आएका छन् । चलचित्र क्षेत्रलाई उद्योगका रूपमा थप व्यवस्थित बनाउन राज्य तथा निजी क्षेत्रबाट प्रभावकारी पहल आवश्यक रहेको उनीहरूको भनाइ छ । राष्ट्रिय चलचित्र दिवसले नेपाली चलचित्रको विगतको समीक्षा गर्दै यसको भविष्यबारे सोच्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update