Shittalpati
सबैको उत्सव, पाल्पा ‘विजयोत्सव’

पाल्पा, एक वर्षपछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बूढाबूढी, युवा, युवती सबैको लागि  भगवती जात्रा उत्सवमय बन्ने छ । आज गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । तानसेन बजार यति बेला दुलहीझैँ सिँगारिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ । नेपालले वि.सं १८७१ पौष देखी १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेको सम्झनामा वि.स. १८७७ देखि मनाउन थालिएको विजयोत्सव अहिले पनि निरन्तरता पाएको छ । प्रत्येक बर्ष पाल्पामा श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समितिले विजयोत्सव स्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको हो ।  

    नेपाल अँग्रेज युद्वमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीको दिन विजय उत्सव मनाईदै आएको छ । कहिंँकतै नहारेको ब्रिटिस सेनालाई नेपालले युद्वमा पराजित गरी विजय हासिल गरेको थियो । विश्वभर आफ्नो साम्राज्य विस्तारको क्रममा हिंडेको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरी जितगढीबाट नै नेपाली विरताको इतिहास रचेको थियो । पाल्पाका तत्कालीन कर्णेल उजीरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले विरता र निडरताको साथ लडाई लडेर विजयको झण्डा फहराएको हो ।

यस वर्ष २ सय ३ औं भगवतीको रथ निकाल्न लागिएको छ । तत्कालीन नेपाली सेनाको पाल्पा कमाण्डर थापाले युद्वमा जानु अघि युद्वमा जितेमा तीन तले मन्दिर बनाई भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । युद्वमा विजयी भएपछि उनले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सव स्वरुप भगवती जात्रा मनाउ थालेका हुन् । जुन परम्परा आजसम्म चल्दै आएको छ । आज साढे १२ बजेदेखि १ बजेको बिचमा विजयोत्सव स्वरुप भगवतीको रथ उठाउने कार्यक्रम रहेको समितिका अध्यक्ष अशोकमान महर्जनले बताए । विधिपूर्वक गरिएको पूजापछि रथयात्रामा राखिने भगवतीको ढलौटको सानो प्रतिमूर्ति र कर्णेल उजिरसिंह थापाको तरवार रथमा राखि नगरका विभिन्न भागको परिक्रमा गराई पुनः मन्दिरमा ल्याई भिœयाइने छ । रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी, निजामती कर्मचारी, संघ संस्थाहरुको सहभागिता रहने छ । हरेक वर्ष कुमाल समुदायबाट विजयोत्सवको रथ बजार परिक्रमा गराउने परम्परा रहेको छ । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रम गर्ने गरिन्छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ ।

जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र विशिष्ट अतिथिको रुपमा नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप रानाको सहभागिता रहने समितिका सचिव प्रकाशनाथ गंगोलले बताए । जात्रालाई भव्य बनाउन बुटवल–तानसेन सवारी साधन चढेर आउने यात्रुहरुको लागि सवारीमा ५० प्रतिशतसम्म  छुट गरिएको छ भने होटलको खाना र बस्नको लागि १५ प्रतिशतसम्म छुट गरिएको समितिले जनाएको छ । जात्राका दिन प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय गौरवको रुपमा रहेको भगवती जात्रालाई सार्वजनिक विदा दिने निर्णय यस अघि नै गरेको थियो । निश्चित जात्रा निकाल्ने समुदाय र ठाउँलाई केन्द्रित गरेर १ दिन विदा छुट्याइएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update