Shittalpati
आज साउन पन्ध्र : खिर खाने दिन

पाल्पा, साउन १५, आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको पाइन्छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

असारे चटारो पछिको फुर्सदका साथै वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिन्छ । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । दूधमा प्रोटिन र फ्याटको  मात्रा हुने र चामलबाट कार्बोहाइड्रेड र अन्य  ड्राइ फ्रुट्सले भिटामिन, मिनरल्स प्रदान गर्ने भएकाले पनि खिरलाई पोषिलो परिकारका रुपमा लिने गरिन्छ । खिरमा प्रयोग गरिने मरिचले कफ हटाउन मदत गर्ने, दूधले शरीरमा शीतलता प्रदान गर्ने, दाख अग्निवद्र्धक हुने हुँदा पित्त नाश गर्ने, केसरले बल प्रदान गर्ने, र नरिवल आफैंमा बहुगुणकारी फल भएकाले पनि खिर खानु स्वास्थ्यवद्र्धक भएको आर्यूवेदशास्त्रमा उल्लेख छ । धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप साउन १५ मा खिर खाने चलन रहेको पाल्पा पूर्वखोलाकी लक्ष्मीदेवी देवकोटा बताउँछिन् । उनी भन्छिन् ‘साउन महिनामा गाउँ–घरमा खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा र धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।’ साउनलाई भगवान् शिवको महिना पनि भनिन्छ । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाई विधिपूर्वक चढाउने पनि गर्ने गरिएको देवकोटाको भनाई छ ।

पछिल्लो समय गाउँघरमा गाई, भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद भने हराउँदै गएको छ । पहिले–पहिले प्रत्येकको घरमा गाई भैँसी पाल्ने गर्थे । घरमा गाई, भैसी हुनेले दूध, दही, मोही, नौनी खाने चलन थियो, तर त्यो हिजो आजभोलि भने हराउँदै गएको छ । वर्षको एकदिनमात्र परम्परा धान्न र अरुलाई देखाउनकै लागि भएपनि डेरीको दूधमा खिर बनाएर खाने चलन अहिले बढेको छ । डेरीको दूधबाट बनाइएको खिरको मौलिक स्वाद भने हुँदैन् । पहिले जस्तो खिरमा मौलिक स्वाद नभएको पुराना पुस्ताहरुको गुनासो छ । पहिले–पहिले घरमै भएको दूधबाट बनाइएको खिरको स्वाद नै बेग्लै हुन्थ्यो, अहिले भने डेरीबाट किनेर ल्याएको दूधको खिर खासै स्वादिष्ट हुँदैन, गुल्मीको मुसिकोटबाट बुटवलमा छोरासँगै बस्दै आएकी ७३ वर्षीय लीला खत्रीले भनिन् । आज साउन १५ मा घरपरिवारका सदस्य भेला भई खिर खाने योजना बनाइएको उनको भनाई छ । नेपाली समाजमा साउन १५ गते खीर, बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ  ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update