Shittalpati
विपद् यौन तथा प्रजनन् स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड

पाल्पा, विपद् तथा जोखिमका समयमा पनि यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रभावकारीता तथा  निरन्तरता हुनुपर्नेमा सरोकारवाला पक्षहरुले जोड दिएका छन् । विश्व मानवतावादी दिवस २०२५ को अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पाले तानसेनमा गरेको अन्तरक्रिया कायक्रममा विपद् र आपतकालीन अवस्थामासमेत यौन तथा प्रजनन् स्वास्थ्य सेवाको लागि पुर्व तयारीको रुपमा सरोकारवाला निकायको भुमिका महत्वपुर्ण हुनेमा बक्ताहरुको जोड थियो ।  

प्राकृतिक तथा गैर प्राकृतिक रुपमा हुने विपदका घटनाहरुका सबैभन्दा बढी बालबालिका, महिला र बृद्ध बृद्धाहरु पिडित हुने, हिंसामा पर्ने भएकोले बसाई व्यवस्थापनसंगै यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा पनि विशेष ख्याल राख्नुपर्ने बक्ताहरुले जोड दिए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री विर बहादुर रानाले हरेक किसिमका विपद्का घटनापछी महिला बालबालिकाहरुलाई बढी जोखिममा पर्दै आएकोले सरोकारवाला निकाय तथा व्यक्तिसंगको छलफल अन्तरक्रिया तथा संवादले आगामी दिनमा हुने  विपद् स्वास्थ्य जोखिमलाई न्युनिकरण गर्ने बताए । विगतामा  भुकम्प, कोरोना कहर बाट पाठ सिक्दै  तथा जिल्लामा हुने गरेको बाढि पहिरो, आगलागी जस्ता विपद घटनामा महिला तथा बालबालिकाको स्वास्थ्य सुरक्षा तथा उपचारको लागि कार्ययोजना बनाएर काम गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताए । कार्यक्रममा नेपाल नेत्र ज्योति संघ पाल्पाका सभापति बुद्धि प्रसाद शर्मा, स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स शान्ति भण्डारी, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपानेलगायतका वक्ताहरूले विपदपश्चात देखिने स्वास्थ्य जोखिमका बीचमा महिलाहरू र संवेदनशील समुदायलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । सो अवसरमा सहभागीहरूले विपद्का बेला महिलाको सम्मान, सुरक्षित वातावरण र प्रजनन् स्वास्थ्य अधिकारलाई आधारभूत मानवीय अधिकारको रूपमा व्यवहार गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पाका प्रवन्ध निर्देशक सोवाकान्ता न्यौपानेले विपद् र आपतकालीन अवस्थामा महिला तथा बालवालिकाहरुमा पर्ने असरको बारेमा प्रष्ट पारे । उनले  विपद्मा गर्नुपर्ने , प्रजनन् स्वास्थ्य सेवाको पूर्वतयारी, आवश्यक औषधि तथा सामग्रीको उपलब्धता, तालिम प्राप्त स्वास्थ्यकर्मीको परिचालन र महिलाको सुरक्षा अवस्था बारे जानकारी दिए । उनले विपद् आएपछि गर्भवती, सुत्केरी र महिलाहरू बढी जोखिममा पर्ने भएकाले सुरक्षित प्रसूति सेवा, परिवार नियोजन, यौन हिंसाबाट जोगाउने उपाय, तथा स्वास्थ्य संस्थासँग सहकार्य अनिवार्य हुनेमा जोड दिए । कार्यक्रममा वक्ताहरूले विपद् व्यवस्थापन योजनामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न, सञ्चार माध्यममार्फत जनचेतना अभिवृद्धि गर्न र स्थानीय तह तथा समुदायबीच सहकार्य मजबुत बनाउनुपर्ने सुझाव दिए ।

संघका कार्यवाहक सभापती माधव अर्यालको अध्यक्षता, सदस्य पुष्करराज रेग्मीको सञ्चलनमा कार्यक्रम भएको थियो । संस्थाले विपद् स्वास्थमा सहयोग पु‘याउने सुरक्षा निकाय, विभिन्न संघ–संस्थाहरुलाई सम्मान गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update