Shittalpati
फेरिएको तिज

पाल्पा,भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तिजकै लागि माइती छोरीचेली र दिदीबहिनी लिन जाने चलन थियो । गाउँमा मोटर गुड्ने सडकको पहुँच थिएन, चेलीबेटी लिन माइती मावली नै पैदल हिँडेर जानुपर्ने बाध्यता थियो । सासू, ससुरा, घरपरिवारको मन जितेर र उनीहरुलाई मनाएर मात्रै माइत जान पाउन्थे । स–साना छोराछोरी पिठ्युँमा बोक्दै र हातमा डो¥याउँदै माइतीको अघिपछि हुँदै साँझपख मात्रै माइतीको आँगनमा पाइलो टेक्दा चेलीहरु औधि खुसी हुन्थे ।तर हिजो आज अवस्था फरक छ । हात–हातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ । त्यति मात्र होइन तिजमा चेलीले गितमार्फत आफ्नो बेदनाहरु पोख्थे र व्रतको अघिल्लो दिन  पेट अडिलो बनाउन पौष्टि तत्व भएका खानेकुराहरु दरको रुपमा  खाने गर्थे । तर  यी सबै कुरा अहिले फेरिएका छन् ।

तिज आयो जाउन बाबु दिदी लिनलाई 

खुट्टैमा ढोँग गरे है भेट्दा भेनालाई ।

हुन्छ आमा दिदी लिन जान्छु जान त

कोसेली पो के लानी हो पर्छ लान त ।

तानसेनकी ८० वर्षीया धनकुमारी तिमिल्सीनलाई यि गीत अहिले पनि सम्झना छ । “गाउँमा मोटर गुड्ने सडकको पहुँच थिएन, चेलीबेटी लिन माइती मावली नै पैदल हिँडेर जानुपर्ने बाध्यता थियो । सासू, ससुरा, घरपरिवारको मन जितेर र उनीहरुलाई मनाएर मात्रै माइत जान पाइन्थ्यो”, उनले भनिन्, “हिजोआज भने गाउँगाउँमा सवारीसाधन पुगेका छन्, हातहातमा मोबाइल छ, न दाजुभाइलाई दिदीबहिनी लिन जाने झन्झट र न दिदीबहिनीलाई कोसेलीपातको व्यवस्था गर्न गाह्रो, पैसा भए बजारमा सबै चिज पाइन्छ, आनन्दै ।

”तिमिल्सेनाले आफ्ना पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाउने गरेको र चेलीले वर्षदिन भरी भोगेका पीडालाई गीतको माध्यमबाट सुनाउने गरेको बताइन् । तिजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका गीत  बजारमा आउने गरेको उनी बताउँछिन् । रैनादेवी छहराकी ५८ वर्षीया सुन्तली नेपालीलाई पनि तिजका गीत बज्यो कि रमाइलो लाग्ने गर्छ ।तर हिजो आजका गीत सुन्दा भने उनलाई रिस उठेर आउन्छ । विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू अमजु, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको नेपालीको अनुभव छ । “आजभोलि त हामीले मनाउने तिज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिकीको चाडजस्तो लाग्छ’, उनले भनिन् । ‘तिजका नाममा छाडा गीतहरू निस्किएका छन् । कर्मघरमा सासुले दुखदिएका पीडा, माइत जान नपाएका गुनासा, घर गरिखान दुःख भएको बिलौना समेटिने तिज गीतमा अचेल यो स्वाद भेटिँदैन । सुनिनसक्नु छ अचेलका तिज गीत’ नोपाली भन्छिन् । पछिल्लो समय आधुुनियकतासँगै भाउजूनन्दका खप्की, सासू–बुहारीका कलह, आमा–छोरीका बिलौना र माइती घरको सम्झना वरिपरि रहेर तिजमा गाइने पुराना लयका गीत आजभोलि गाउँ–घरमा सुनिँदैनन् । आँगनको डिलमा परालको गुन्द्री ओछ्याइ गाउँभरिका लागि लालटिन र दियालोको उज्यालोमा रातभर तिजका गीत मादलको तालमा गाउँदै÷नाच्दै गरिने रमाइलो एकाएक हराएको छ ।

सोमबार दर खाएर तिजको पहिलो दिन मनाइएको छ । समयमा बिवाहित नारीहरु माईती घर जाने आमाले पकाएको दर खाने र माईतीको आगनमा तिजका गीतहरु गाएर नाचगान गरेर यो पर्वलाई हर्ष उत्साहका साथ मनाउने गर्दछन् । सबै नेपालीहरुले धुमधामका साथ मनाउने पर्वमा खाने दरका परिकारमा भने बिस्तारै परिर्वतन आएको छ । केही समय पहिलेसम्म तिजको बेलामा खाने दरका परिकार र पछिल्ला वर्षहरुमा खाने तिजको दरमा फरकपन देखिएको छ । तिजको दर भन्न बितिकै घिउँमा पकाएको खाजा, खिर, बटुका भरी दुध, घिउ, दही, तामाको अचार, आलु, बोडी सिमीको तरकारी सम्झना आउथ्यो । माइतिको आगनमा जम्मा भएर दर खाने चलन थियो तर अहिले त दर भन्न बित्तिकै मासु भातमा सिमित हुन थालेको छ । धेरै ठाउँमा दर खाने कार्यक्रमहरु आयोजना हुन्छन । प्राय ठाउँमा दिदि बैनिहरु जम्मा हुने ठूूला ठूूला होटलहरुमा दर खाने कार्यक्रमको आयोजना गर्ने, मासु भात खाने अनि स्पिकर बजाएर नाच्ने चलनले कतै तिज पर्वको महत्व नै विस्तारै हराउँदै जाने त हैन भन्ने चिन्ता बढ्न थालेको छ । अझ दरको नाउमा महिनौ दिन अघि देखी ठूूलो धनरासी खर्च गरेर होटलहरुमा कार्यक्रम गर्ने महङ्गा महङ्गा गहना कपडाहरु लगाएर प्रदर्शन गर्ने गरेर यो पर्वलाई बिस्तारै भड्किलो गरी मनाउने चलन बढेर गएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update