Shittalpati
सिद्धबाबा सुरुङमार्गको दुवै प्रवेशद्वारमा पहिरो खस्यो

पाल्पा, केही दिनदेखि परेको अविरल वर्षाका कारण निर्माणधिन सिद्धबाबा सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशद्वारमा पहिरो गएको छ । पहिरोका कारण दुवै प्रवेशद्वारामा क्षति पुगेको छ ।

एक हप्ता अघि दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेशविन्दु रिब पोर्टल पहिरोले पुरेको थियो । त्यस यता पटक–पटक गएको पहिरोले उत्तरतर्फको प्रवेशविन्दुमा क्षति पनि पुर्याएको हो । यहाँ ५० मिटर माथिबाट ठूलो चट्टानसहित पहिरो खसेर ढोकालाई क्षति पुर्याएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ । दक्षिणतर्फ सिद्धबावा मन्दिर नजिकैको प्रवेशविन्दूमा ढोकासमेत पहिरोले बगाएको छ ।

पानी पर्नासाथ पुनः पहिरो खस्ने जोखिम रहेको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ । सुरुङ्गमार्ग निर्माणको कामले गति लिइरेहका बेला निरन्तर गएको पहिरोका कारण अवरोध सिर्जना गरेको छ ।

पहिरोका कारण सुरुङमार्गमा क्षति पुगेको भए पनि  यकिन विवरण  भने आएको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको काम अगाडि बढाएको थियो । मध्यवर्षामा नेपाली प्राविधिकरुले ढलान गर्न नहुने भने पनि परियोजनाले एक हप्ता पहिले नै प्रवेश द्वारको ढलान गरेको थियो ।

सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले भने ठेकेदार कम्पनीलाई वर्षा लागिसकेकाले पहिले नै काम नगर्न सचेत बनाए पनि गरेकाले क्षति भएको बताएको छ । सुरुङमार्गको विस्तृत परियोजना तयार नहुँदै ठेकेदारले काम थालेको थियो । 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update