पाल्पा, पूर्व नव जनचेतना राष्ट्रिय दैनिककर्मी सतीश चापागाई अमेरिकाको मेरिल्याण्ड राज्यको निर्वाचन ७ ए बाट हाउस अफ डेलिगेट्सको प्राईमरीमा विजयी भएका छन् । मेरिल्याण्ड राज्य अन्तर्गत डिष्ट्रिक्ट सेभेन ए का लागि डेमोक्रेटिक पार्टीबाट प्राईमरीमा उम्मेदवार बनेका नेपाली मूलका चापागाई अन्य दुई प्रतिस्पर्धीलाई पछाडी पार्दै दोस्रो स्थानमा विजयी भएका हुन् ।
यो उनको आफ्नै पार्टीभित्र प्राईमरी निर्वाचन हो । जुन २३ मा सम्पन्न निर्वाचनको ९९ प्रतिशत मतगणना हुंदा चापागाईले खसेको कुल १० हजार ४ सय २ मतमध्ये २ हजार ७ सय १८मत प्राप्त गरेका छन् । यो जितसंगै अब चापागाईले नोभेम्बरमा रिपब्लिकन उमेद्वारहरुसंग फेरि चुनाव लड्नुपर्ने हुन्छ । उनका मुख्य प्राथमिकतामा ‘अफर्टएबल मेरिल्याण्ड, सेफ कम्युनिटीज र स्ट्रङ विजिनेस’ रहेका छन् । बढ्दो महँगी नियन्त्रण, सुरक्षित समाज निर्माण र स्थानीय व्यवसायलाई थप सशक्त बनाउने विषयलाई उनले आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेका छन् ।
लामो समय पाल्पाबाट प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकमा काम गरेका चापागाईं विगत ३० बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । नेपाल प्रेस युनियन पाल्पाका पूर्व सभापति समेत रहेका उनी हाल नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक र सञ्चालक समेत हुन् । सन् २००८ मा अमेरिका गएका चापागाई २०१४ देखि एनआरएनएमा आवद्ध छन् । पाल्पाको रामपुर नगरपालिका १० स्थायी बसोवास भएका चापागाई परिवार सहित अमेरिकामा रहेर पत्रकारिता, समाजसेवा , राजनीति र व्यवसाय गर्दै आएका छन् ।
चापागाईले पाल्पाबाट आफ्नो पत्रकारिताको सुरुवात गरेका थिए । उनले कविता र गीतहरु पनि लेख्छन् । उनले लामो समय एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटरको जिम्मेवारी समेत सम्हालिसकेका छन् । चापागाईं हाल डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्यको निर्वाचित केन्द्रिय सदस्यसमेत हुन् । यसले स्थानीय राजनीतिक क्षेत्रमा उनको सक्रियता र अनुभवलाई झन् स्पष्ट बनाएको छ । उनी साना व्यवसायीका रूपमा स्थापित हुनुका साथै बाल्टिमोर काउण्टि पब्लिक स्रपयुलमा दोभाषेका रूपमा कार्यरत छन् । चापागाईंले श्रमिक परिवार, कमजोर वर्ग र समुदायका आवाजलाई प्राथमिकतामा राख्दै सार्वजनिक सहभागिता र सामाजिक न्यायका पक्षमा निरन्तर वकालत गर्दै आएका छन् ।


