Shittalpati
पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व 

पाल्पा, प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो । 

गठेंमंगाः पर्व नेवारहरूको मौलिक पर्व मध्येको एक हो । वर्षको चार वटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो । यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ । घर र परिवारलाई भूतप्रेत नलागोस् भनेर बौ वाय् ज्या (भूत मन्छाउने कार्य) यो पर्वको मौलिक परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् ।

शनिबार तानसेनका नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई घण्टाकर्ण पर्व मनाएका हुन् ।  हरेक वर्ष जस्तै यस वर्ष पनि देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाले तानसेनको शितलपाटी चोकमा नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई राखेको थियो । सो आकृतिसँगै व्यक्तिलाई राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइएको थियो । साँझपख सो राक्षसको प्रतीक स्वरूपको नर्कट र छ्वालीको मानवकृतलाई बाजागाजाका साथ ख्याल ठट्टा गर्दै नजिकको होलाङ्गदी खोलामा लगेर जलाउने तयारी गरिएको प्रतिष्ठानका अध्ययक्ष मदन देउरालीले बताए । 

खेती किसानीको काम सकिएलगतै विशेष गरी नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने गरिन्छ । घण्टाकर्णको दिन फलाम वा पित्तलको औंठी गठांमोमा छुवाएर लगाउने परम्परा छ । महिलाहरू रोपाइं सकिएको खुसियालीमा यसै दिन हातमा मेहेन्दी (लैंचा) लगाउने प्रचलन रहेको छ । बालबालिकाहरूले दोबाटो र चौबाटोमा दिनभर नर्कटको तीन खुट्टे गठांमो ठड्याई बटुवाहरूसँग ‘घण्टाकर्ण जगात दे’ भन्दै जगात अर्थात् कर मागेका थिए । 
 


 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update