Shittalpati
तानसेनका उपभोक्ताले नगर सरकारलाई भने ‘उपभोक्ता समिति खारेज गरी पानी खुवाऊ’

रामचन्द्र रायमाझी
पाल्पा,
वर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका तानसेनवासीले उपभोक्ता समिति खारेज गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताएका छन् । बुधबार तानसेन नगरपालिकामा भेला भएका उपभोक्ताहरुले वर्तमान खानेपानी उपभोक्ता समिति गैरजिम्मेवार बनेका कारण खानेपानीको समस्या वर्षौंदेखि झेल्नु परेको भन्दै अब समिति खारेज गरी नगर सरकार मातहत ल्याउनुपर्ने बताएका हुन् । 

उनीहरुले उपभोक्ता समितिको गैरजिम्मेवारीपना अब सहन नसक्ने भन्दै तत्काल समिति खारेज गरी नगर सरकारले सर्वसुलभ रुपमा तानसेनवासीलाई पानी खुवाउनुुपर्नेमा जोड दिएका छन् । भेलामा उपभोक्ता चित्रवलिराम सुवालले खानेपानीलाई व्यवस्थित गर्ने गरी नगर सरकारले जिम्मा लिनुर्ने बताए । उनले ‘तानसेनमा पानी नभएको हैन, त्यसलाई उपभोक्ता समितले व्यवस्थित गर्न नसक्दा हामीले दिनहँु खानेपानीको समस्या झेल्नु परेको छ ।’ तत्काल नगर सरकारले स्वच्छ र सफा खानेपानी खुवाउने प्रतिवद्धता जनाउदै जिम्मेवारी लिने बेला आएको बताए ।

तानसेनमा खानेपानीको समस्या समाधान गर्न सम्बन्धित निकायलाई पटक–पटक दवाव दिर्दै सर्घषको अगुवाई गर्दै आएका सुर्यबहादुर बोहोराले अवैधानिक समितिलाई खारेज गरी उपभोक्तालाई सहज रुपमा खानेपानी दिने गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताए । उनले भने ‘खानेपानी समस्या समाधानका लागि बरु पार्टी छोडौं तर पानी खुवाऊ भन्दै हामीले पटक–पटक समितिको नेतृत्वलाई आग्रह गर्‍यो तर त्यसतर्फ समितिले चासो दिएन्, तानसेनमा खानेपानीको समस्या छैन्, व्यवस्थापनको अभाव हो ।’ उपभोक्ता रमा पन्तले खानेपानीबाट महिला बढी पिडित रहेको भन्दै त्यसको समाधानमा नगर सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले उपभोक्ता समितिले पानी खुवाउन नसकेको भन्दै नगर सरकारले अब त्यसको जिम्मा लिएर आम उपभोक्तालाई पानीको व्यवस्था गर्न आग्रह गरिन् । पन्तले भनिन् ‘काकाकुल जस्तो धरानमा मेयरले पानी खुवाउन सक्ने, यहाँका मेयरले नसक्ने ? यस्तो हुँदैन, अब नगर सरकारले खानेपानीको जिम्मा लिओस् र सर्वसुलभबाट पानी खुवाओस् ।’

पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जनले सबै उपभोक्ताको एउटै धारणा नगर सरकारले खानेपानीको जिम्मा लिनुपर्ने रहेको भन्दै त्यसका लागि नगर सरकारले पानी खुवाउने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए । उनले उपभोक्ता समितिले जस्तो काम नगरी पानीलाई व्यवस्थित गर्ने गरी त्यसको जिम्मा लिनुपर्ने धारणा व्यक्त गरे । भेलामा होमनाथ न्यौपानेले शान्त र मर्यादित ढंगबाट उपभोक्ता समिति र नगर सरकारबिच छलफल गरी खानेपानी व्यवस्थित गर्ने दिशामा सोच्न नगर सरकारलाई आग्रह गरे । शिवचन्द्र खनालले पानी खान पाउने नागरिकको नैसर्गिक अधिकार रहेको भन्दै यसको दायित्व स्थानीय सरकाले लिनुपर्ने बताए । विद्यार्थी सुवास गैरेले खानेपानीको समस्याका कारण तानसेनबाट ५० प्रतिशत  विद्यार्थी पलायन भएको बताए । उनले खानेपानी जस्तो संवेदशील विषयमा राजनतिक अखडा बनाउन नहुने भन्दै समितिलाई स्वयत्ता बनाउनुपर्नेमा जोड दिए । भेलालाई सम्बोधन गर्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले विगतमा पाल्पा उद्योग वाणिज्य संघले तानसेनमा पानी ल्याएको स्मरण गर्दै अब स्थानीय सरकारले त्यसतर्फ सोच्नुपर्ने बेला आएको बताए । उनले भने ‘अब पनि स्थानीय सरकारले नसोच्ने हो भने तानसेन नगरपालिका हैन गाउँपालिका बन्ने निश्चित छ ।’

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले करोडौं लगानीका होटल खुले पनि पानी अभावले समस्या झेल्नु परेको बताए । उनले मेलञ्चीको पानी काठमाडौंमा ल्याएर खानेपाीको समस्या समाधान गर्न सकिएको भन्दै तानसेनमा पनि स्थानीय सरकारले चाहेमा गर्न सकिने बताए । पाल्पा व्यापार संघका थानेश्वर गैरेले खानेपानीको जिम्मा नगर सरकारलाई दिर्दै गर्दा भोलि उपभोक्ता समितिको जस्तै अवस्था नहोस् भन्दै नगर सरकारलाई सचेत गराए । नगर प्रमुख सन्तोष लाल श्रेष्ठले नगर सरकार नियमन गर्ने निकाय भएको भन्दै उपभोक्ताहरुबाट आएको सुझावलाई आत्मसाथ गर्ने बताए । उनले भने ‘खानेपानी खुवाउने दायित्व नगर सरकारको हो, तर यसको प्रक्रिया हुन्छ, सोही प्रक्रिया अनुुसार नगर सरकारले काम गर्नेछ ।’ नगरपालिकाले एउटा समिति बाउने र त्यसबाट स्पष्ट धारणा बनाउने समेत उनले बताए । उनले समिति बनाएर नगरवासीलाई सहज र सुुलभ रुपमा पानी खुुवाउने प्रतिवद्धा व्यक्त गरे ।

भेलामा उपभोक्ताहरु ताराबदादुर राना, दिनेश गौतम, भेषराज नेपाल, विष्णुबहादुर खाती, पुष्करराज रेग्मी, किरण चित्रकार, धुर्ब खाती, बलबहादुर राना, लक्ष्मण रेग्मी, लक्ष्मण काफ्ले, केशरी बस्नेत, सुमित्रा थापा, विष्णुमाया थापा, पशुुपती राना, मालती पौडेल, रामप्रसाद पाण्डे, गंगा पौड्याल, ठाकुरध्वज कार्की, डुकुलराज ढकाल, माधवप्रसाद पाण्डे, अर्जुन कार्की, दिनेश रावल, वसन्त जिआर, महेन्द्र खाती लगायतका उपभोक्ताहरुले पुरानो समिति खारेज गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताएका थिए । कार्यक्रममा पूर्णमाया महर्जनको अध्यक्षता, उपप्रमुख प्रतिक्षा सिंजालीको स्वागत, नगर प्रवक्ता यादवसिं कार्कीको सञ्चालनमा भएको थियो ।

उपभोक्ता समिति खारेज गर्ने निर्णय
यस्तै उपभोक्ताहरुको भेलाले तानसेन खानेपानी उपभोक्ता समिति खारेज गर्ने निर्णय गरेको छ । पूर्णमाया महर्जनको अध्यक्षतामा बसेको भेलाले म्याद सकिएपछि पनि गैरकानुनी तरिकाले सञ्चालनमा रहेको समिति तत्काल खारेज गर्ने निर्णय गरेको हो । 

भेलाले तानसेन नगरपालिकाको प्रत्यक्ष संलग्नता र निगरानीमा नगरकार्यपालिकाको बैठकबाट अर्को निर्वाचन नभएसम्मको लागि तदर्थ समिति गठन गरी सञ्चालन गराउन तानसेन नगरपालिकालाई अख्तियारी प्रदान गर्ने बताएको छ । उसले तदर्थ समितिले बढीमा ६ महिनाभित्र, तानसेन नगरपालिकाले मिति २०८०/०१/२८ मा दिइएको ३ महलिय, १८ बुँदे विधान संसोधन सम्बन्धी लिखित सुझावका साथै अन्य आवश्यक सुझावहरु समावेश गरी विधानलाई नियमनकारी निकायबाट प्रमाणिकरण गराई संसोधित विधान बमोजिम निर्वाचन सम्पन्न गरी उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने अधिकार दिने समेत निर्णय गरेको छ । साविक उपभोक्ता समितिले सञ्चालन गरेको बैंक खाताहरु कार्यपालिकाले निर्माण गर्ने तदर्थ समितिको मातहतमा नआएसम्म रोक्का गर्ने, नगरपालिका र सम्बन्धित बैंकलाई अनुरोध गर्ने पनि भेला निर्णय गरेको छ । निर्वाचनको माध्ययमबाट नयाँ उपभोक्ता समितिले कार्यभार ग्रहण नगर्दासम्म तानसेन खानेपानीको सञ्चालन रेखदेख, नियन्त्रण, कर्मचारी व्यवस्थापन लगायतका सम्पूर्ण कार्यहरु तानसेन नगरपालिकाको प्रत्यक्ष निगरानीमा गठित तदर्थ समितिबाट गर्ने गराउने गरी अख्तियारी दिने समेत भेलाले निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update