Shittalpati
पाल्पामा पनि अचाक्ली गर्मी, हुन थाले विद्यालय बन्द

पाल्पा, देशका अन्य जिल्लाका तुलनामा पाल्पाको हावा, पानी राम्रो मानिन्छ । चिसो मौसममा होस् वा गर्मी मौसममा नै किन नहोस् यहाँको मौसम मध्यम नै रहने गर्छ । तर यस पटक भने तराईमा बढेको अत्याधिक गर्मीको प्रभाव पाल्पामा पनि परेको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा जिल्लाको रामपुर, तानसेन लगायतका क्षेत्रमा पनि अचाक्ली गर्मी बढेको हो ।

तराईसँग जोडिएको जिल्ला भएकाले पनि रामपुरमा यस पटक अचाक्ली गर्मी बढेको छ । तानसेनमा पनि दिउँसोको समयमा अध्याधिक गर्मी हुुने गरेको पाइन्छ । बढेको गर्मीका कारण जिल्लाका विद्यालयहरु समेत धामधम बन्द हुन थालेका छन् । रामपुर क्षेत्रमा दैनिक गर्मी बढ्दै गएपछि रामपुर नगर सरकारले पाँच दिनका लागि विद्यालय बन्द गर्न आÞवान गरेको छ । अत्यधिक गर्मी बढेपछि पठन–पाठन गर्न गराउन नसक्ने स्थिति सिर्जना भएको भन्दै नगर सरकारले नगरपालिका भित्रका विद्यालयहरुमा सोमबारदेखि विदा दिएको हो ।

गर्मीका कारण विद्यालय सञ्चालनमा कठिनाइ भएकाले ५ दिन विदा दिइएको रामपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाले जेठ २८ गतेको निर्णय अनुसार एक सूचना जारी गर्दै २०८० जेष्ठ २९ गते देखि असार १ गतेसम्म रामपुर नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीहरुमा विदा दिने निर्णय गरेको हो । नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेद्धारा जारी सूचनामा हाल अत्याधिक गर्मी बढेको र त्यसको प्रभाव रामपुर नगरपालिकामा पनि परेकोले विद्यालय सञ्चालनमा कठिनाईसँगै विद्यार्थीको स्वास्थ्यमा असर परेको भनेर अभिभावक र विद्यार्थी संगठनबाट गुनासो आएको हुँदा वर्षे र हिउँदे विदामा मिलान हुने गरी विदा दिइएको बताईएको छ ।

अत्यधिक गर्मी बढेपछि बालबालिकाहरू कक्षा कोठामा बसेर पढ्नै नसक्ने अवस्था भएकाले ५ दिनका लागि विद्यालय बन्द गर्न आह्वान गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनले भने ‘विगत केही दिनदेखि अत्यधिक मात्रामा तापक्रम वृद्धि हुँदा दिउँसोको समयमा विद्यालय जाँदा, आउँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकोले नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु वर्षे र हिउँदे बिदाबाट कट्टा हुनेगरी गर्मी बिदा दिन सूचना जारी गरिएको हो ।’ ‘बढ्दै गएको घामको रापले स–साना बालबालिका विद्यालयमै आलसतालस पर्न थाले’, नगर प्रमुख थापाले  भने, ‘यसले स्वास्थ्य समस्या बढाउन सक्ने हुनाले विद्यालय बन्द गर्ने निर्णय गर्‍यौं ।’ जिल्लाका अन्य स्थानीय सरकारहरुले समेत गर्मीलाई मध्यनजर गरी विदा दिने तयारी गरेका छन् । जिल्लामा पछिल्ला केही दिनयता यसअघि कहिल्यै नखेपिएको प्रचण्ड घामको राप बढेको छ । अहिले यस भेगमा प्रचण्ड गर्मीको रापले सामान्य हिँडडुल गर्न पनि सकस भएको छ । प्रचण्ड घामको रापले विद्यालय पढ्न जाने स–साना नानी, वृद्धवृद्धा र कडा शारीरिक श्रम गर्ने मजदूर मारमा परेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update