Shittalpati
अचाक्ली बढ्यो गर्मी, धामाधम हुन थाले विद्यालय बन्द

पाल्पा, केही दिनयता देशका विभिन्न स्थानहरूमा अचाक्ली गर्मी बढेको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा अचाक्ली गर्मी बढेको हो ।

तराईमा अध्याधिक बढेको गर्मी पाल्पासहित पहाडी जिल्लामा समेत देखिएको छ । तराई क्षेत्रमा बढेको गर्मीका कारण विद्यालयको पठनपाठन समेत प्रभावित बनेको छ । छिमेकी जिल्ला रुपन्देहीमा केही दिनयता बढेको प्रचण्ड गर्मी कम नभएपछि विद्यालयहरु धामाधम बन्द हुन थालेका छन् । अत्यधिक गर्मी बढेपछि पठनपाठन गर्न गराउन नसक्ने स्थिति सिर्जना भएको भन्दै तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका भित्रका विद्यालयहरु आजदेखि बन्द भएका हुन् ।

सैनामैना नगरपालिकाले आजदेखि जेठ २४ गतेसम्म ३ दिन नगरपालिका भित्रका सबै विद्यालयलाई बिदा दिने निर्णय गरेको छ । अत्यधिक गर्मी बढेपछि बालबालिकाहरू कक्षा कोठामा बसेर पढ्नै नसक्ने अवस्था भएकाले ३ दिनका लागि विद्यालय बन्द गर्न आह्वान गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले बताए । उनले भने ‘विगत केही दिनदेखि अत्यधिक मात्रामा तापक्रम वृद्धि हुँदा दिउँसोको समयमा विद्यालय जाँदा, आउँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकोले नगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरु जेठ २२ देखि २४ गतेसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी गर्मी बिदा दिन सूचना जारी गरिएको छ ।’ लु लाग्ने सम्भावना समेत भएकाले थप दुुई दिन विदा बढाउन सकिने प्रमुख प्रशासकिय अधिकृत थापाले बताए । मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा ‘लु’ लाग्न सक्ने चेतावनी समेत दिएको छ । महाशाखाले शुक्रबार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको भन्दै तराईका भू–भागमा आउँदो पाँच दिन लु लाग्न सक्ने चेतावनी दिएकाले पनि विद्यालयहरु बन्द गर्नु परेको नगरपालिकाले जनाएको छ ।

यस्तै, तिलोत्तमा नगरपालिका भित्रका विद्यालय पनि आजदेखि बन्द हुने भएका छन् । नगरपालिकाले ५ दिन विद्यालय बन्द गर्न सबै विद्यालयलाई आग्रह समेत गरिसकेको छ । गर्मी बढ्दो क्रममा रहेकाले शुक्रबारसम्म विद्यालय बन्द गर्न भनिएको प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले एनजेडीलाई बताए । उनले भने ‘नगर प्रमुखस्तरीय निर्णयानुसार विगत केही दिनदेखि बढिरहेको तापक्रमले अत्यधिक गर्मी भइ विद्यालयहरुमा पठनपाठन सञ्चालनमा कठिनाइ भएको हुँदा वार्षिक बिदाबाट समायोजन हुने गरी आजदेखि ५ दिनसम्म नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था (सामुदायिक तथा संस्थागत) हरुमा बिदा गर्ने निर्णय भएको छ ।’ नगरपालिकाले शुक्रबारसम्म विदा दिए पनि आइतबारदेखि भने विद्यालयहरुको बर्खे विदा समेत सुरु हुने जनाइएको छ । अत्यधिक गर्मीले बालबालिकालाई पठनपाठन गर्न र शिक्षक शिक्षिकालाई पढाउन कठिनाई भएको कुरालाई मध्यनजर राख्दै ५ दिन गर्मी बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत अर्यालले बताए । आगामी बर्खे बिदासँग समायोजन गर्ने गरी अहिले बिदा दिने निर्णय गरेको उनले बताए । नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले समेत विद्यालय बन्द गराउन आग्रह गर्दै आएको छ । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको अवस्थामा विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर गरेको र विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न तथा कक्षाकोठामा बसेर अध्ययन गर्न कठिनाइ भएको हुँदा केही समय विद्यालय बन्द गर्न महासंघले आग्रह गर्दै आएको हो ।

 महासंघका विज्ञप्ती जारी गर्दै केही दिनयता तराईका जिल्लाहरुमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र बढ्ने क्रम रहेको हुँदा उच्च तापक्रममा स–साना बालबालिकाहरुलाई घरबाट विद्यालय जान र विद्यालयबाट घर फर्कन समस्या भइरहेको, विद्यालय गए पनि नियमित शिक्षण सिकाई क्रियाकलापमा सामेल हुन असहज भइरहेको भन्ने अभिभावकहरुको गुनासो आएको हुँदा विद्यार्थीहरुको जीवन रक्षाका लागि विद्यालय बन्द गर्नु उपयुक्त देखिएकाले स्थानीय सरकार, शिक्षा विकास तथा समन्वय इकाइ, विद्यालय सञ्चालक तथा सरोकारवाला संस्थाहरुको ध्यानाकर्षण गराएको छ । रुपन्देही लगायतका लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा उच्च गर्मीका कारण झाडापखाला, उच्च ज्वरोका बिरामीहरूको संख्या बढेको समेत अस्पतालहरुले जनाएका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । तराईमा लू चल्न थालेको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत रहन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update