Shittalpati
ट्राफिक नियम उलङघन गर्ने चालक धमाधम कारवाहीमा

पाल्पा, ट्राफिक नियम उलङघन गर्ने र मापदण्ड पुरा नगर्ने गाडी चालकहरु धमाधम कारवाहीमा परेका छन् । चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उलङघन गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा विशेष चेकिंङका क्रममा १४ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उलङघन गर्ने १४ वटा स्कुल बसका चालक कारवाहीमा परेका हुन् । स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस सञ्चालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिहेको छ ।

यो सँगै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उलंघन गर्ने ३ सय २९ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाडौंमा २ सय ८२ र भक्तपुरमा ४७ जना चालक कारवाहीमा परेका हुन् । भक्तपुरको जगातीमा गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४७ सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

१ सय ३० भन्दा बढी सवारी साधन चेक गर्दा ह्‍याण्डब्रेक ठिक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ४७ वटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो । सवारी साधन मर्मत पश्‍चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई काठमांडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् । उनले ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको बताए ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update