कला/संस्कृति/मनोरन्जन

होली पर्व र तानसेनको संस्कृति

Shittalpati

जुजुया होली तँ चाया ला ल्यासे , अविर छँगु ख्वा हिसी दयका वि ।।
राजाको होली रिसायौ कि तरुनी अविरले तिम्रो मुख राम्रो बनाइ दिन्छु ) ।।
विगतमा होलीको बेला नेवारी समुदायमा गाइने यी हरफहरु आज पनि त्यतिकै लोकप्रिय छन् । रंगीन होली हाम्रो अगाडि आइसकेको छ । हुन त होलीलाई कसैले होली भन्छन् त कसैले फागु । आफ्ना घर परिवार, आफन्त, साथीभाई मिलेर हर्षोउल्लासका साथ अविर लगाई दिने, विभिन्न रंग र पानीले छ्याप्ने, नाचगान गरी मनोरञ्जन गर्ने खुसीयालीको पर्व हो होली । विभिन्न रंगहरुको माध्यमबाट एक आपसमा प्रेम, आत्मियता, सद्भाव आदान–प्रदान गर्ने पर्व हो होली अर्थात् फागु पूर्णिमा । यो हाम्रो परम्परा हो जुन प्राचीनकालदेखि चल्दै आएको छ ।
वास्तवमा परम्परा कहिले मर्दैन तर यसमा समयानुसार परिवर्तन हुन्छ परिमार्जन हुन्छ । परम्परा नै मर्नु भनेको संस्कृति मर्नु हो । देशको एउटा पहिचान मेटिनु हो । सानै रुपमा भए पनि परम्परा चलिनै रहनु पर्छ, आज पनि चलिरहेको छ । प्राचीनकालमा वसन्तोत्सवको रुपमा मनाइने गरिएको यो परम्परा कालान्तरमा भगवान कृष्ण, प्रल्हाद, होलिका, ढुण्डा आदि कथाहरुमा आधारित हुँदै गएको देखिन्छ । नेपालमा होली अष्टमीको दिनदेखि पूर्णिमाको दिनसम्म मनाउने चलन छ । होलीको आरम्भ चीर ध्वजोत्थान गर्ने परम्पराबाट हुन्छ । फागुण शुक्लपक्षको अष्टमी तिथिमा विभिन्न रंगीविरंगी कपडाले सजाइएको चीर ठड्याएपछि होली प्रारम्भ भएको मानिन्छ । विभिन्न रंगीन कपडै कपडाले सजाएको चीर ध्वज होलीको अन्तिम दिन पूर्णिमाको रात्री चीरदाह गरे पछि समापन हुन्छ । होलीको खास रौनकता भने पूर्णिमाको दिन मात्र हुन्छ त्यसैले पनि यस दिनलाई होली पूर्णिमा वा फागु पूर्णिमा भनिन्छ ।
फागु खेल्ने यो परम्परा कहिले र कसरी प्रारम्भ भयो भन्ने सम्बन्धमा पुराण र धर्मशास्त्रमा अनेकन कथा र किंवदन्तीहरु पाइन्ंछन् । भगवान विष्णु भक्त प्रल्हाद, हिरण्यकशिपु र होलिकाको कथा, भगवान शिवजीबाट विभिन्न वर प्राप्त गरेका ढुण्डा नामको राक्षसीलाई बालकहरुले मारेको कथा, बालक कृष्णलाई विषालु दूध पिलाउन आएकी राक्षसी पुतनालाई बालक कृष्णले संहार गरेको कथा आदि आदि रहेका छन् । तर यस पर्वमा गरिने होलिका दहनको सम्बन्ध पौराणिक कथासँग जोडिएकाले यो पर्व प्राचीनकालदेखि नै चल्दै आएको मानिन्छ । फागुको प्रारम्भिक शब्द रुप होलका थियो जसलाई हिजोआज होली भनिन्छ । होलकाको अर्थ हुन्छ रंग । रंगसंग सम्बन्ध भएकाले यसलाई होलका पर्व भनिएको हो । होली पर्व वसन्त ऋतुको आरम्भको बेला मनाइन्छ । फागुण पूर्णिमामा पर्ने फागुपर्वलाई कतिपयले बसन्तोत्सव अर्थात् मदनोत्सवको रुपमा पनि मनाउने गर्दछन् । फागुपर्वको इतिहास ऋतुराज बसन्त र बसन्तका मित्र मदन अर्थात् कामदेवकोे पूजाबाट सुरु हुन्छ । त्यसैले यस उत्सवलाई मदनोत्सव या बसन्तोत्सव भन्ने गरिन्छ । संसारमा मदन अर्थात कामदेवको अस्तित्व तथा महत्वलाई कसैले नकार्न सक्दैन । सम्पूर्ण श्रृष्टि नै कामको वशमा छ । वेदमा कामलाई श्रृष्टिको मूल मानिएको छ । फागु पर्व दुई महापर्वहरुको बीचमा पर्ने वसन्त ऋतुको उत्सव हो । यो पर्व महाशिवरात्री र चैत्र नवरात्रीको बीचमा पर्ने हुँदा यस पर्वले शिवलाई शक्तिसँग जोडी सृष्टिलाई गतिशील बनाउँदै शरिरलाई उर्जाशील बनाउन मद्दत गर्दछ । स्वस्थानी व्रतकथामा दक्षकन्या सतीदेवीले यज्ञ कुण्डमा हाम फालि देहत्याग गरे पछि विक्षिप्त बनेका महादेवपछि कठोर तपस्यामा लिन भएको बेला कामदेवले कामवाण प्रहार गरी महादेवको शरिरमा कामको अनुभूति सञ्चार गरी संसारप्रति सम्मोहित बनाउने प्रयास गरेका थिए तर यस कार्यमा तपस्यारत शिवजीको तेश्रो नेत्रबाट निस्केको आगोको ज्वालाले कामदेव भष्म भएको वर्णन गरिएको छ । भनिन्छ मदनोत्सवका देवता कामदेवले प्रकृति र पुरुषलाई मेल गराई सृष्टिलाई गतिशील तुल्याउँछ । उराठिलो शिशिर ऋतु समाप्त भई वसन्त ऋतु प्रारम्भ हुन लागेको अवसरमा मनाइने यो पर्वलाई मानिसहरुको मन भित्र सञ्चित भएर गुम्सिएर रहेको भावनहरुलाई बाहिर निकाली शान्ति र शितलताको अनुभव गरिदिने पर्व मानिन्छ । बसन्तको आगमनसंगै प्रकृतिले काँचुली फेर्न थालेपछि प्राकृतिक सौन्दर्य र रसरंगको उमंगले प्राणी जगत र मानवलाई तरंगित तुल्याएको हुन्छ । यो होलीको मौसमलाई प्रकृति र पुरुष तत्व एक आपसमा सन्निकर्षण हुने समय मानिन्छ । जीवनलाई स्वस्थरुपले सञ्चालन गर्न र यसलाई प्राकृतिक वातावरणसँग सम्बन्ध राख्दै जानु आवश्यक हुन्छ । त्यसैले प्रकृतिमा चलिरहने ऋतु परिवर्तन भईरहन्छ र यो परिवर्तनसंगै मानव जीवनका प्रक्रियाहरु पनि सोही अनुरुप परिवर्तन भइरहन्छन् । वास्तवमा ऋतुहरुको परिवर्तनले हावापानीमा परेको प्रभावले वनस्पतिदेखि लिएर सम्पूर्ण प्राणीहरुको जिन्दगीमा पनि असर पर्न जानु स्वभाभिक हो । शीत ऋतुको चीसो हावा र हिउँले सारा पातहरु झरी सुकेर विरुप भएका रुख विरुवाहरुमा बसन्तको आगमनले नयाँ–नयाँ कोपिलाहरु आउन थाल्दछन् । विस्तारै रंगीविरंगी फूलहरु फूल्न थाल्दछन् । जाडोको कठोर प्राकृतिक यातनाले मूक रहेका चराचुरुगीहरुमा पनि पुरुष तत्वले स्त्री तत्वलाई आकर्षण गर्न प्रकृतिले नै विशेष सुन्दर बनाई दिएका भाले चराहरुले आ–आफनो सुन्दरतालाई प्रदर्शन गरेर स्त्री तत्वलाई आकर्षण गर्न अनेक मधुर आवाजले मस्त भई गाउन प्रेरित गरेको देखिन्छ । त्यस्तै गरी शीत ऋतुले संकुचित भई निरुत्साह भएका मानवदेहमा पनि बसन्तको आगमनले नयाँ उत्साह नयाँ उम·को सञ्चार हुन थाल्दछ ।
यसप्रकार शरिरमा काम तृष्णा बढ्ने र सो को निराकरणको लागि नयाँ वातावरणमा होली कै रुपमा नाच्ने गाउने आदि क्रियाकलाप तथा आमोदप्रमोदका आवश्यकतालाई महसूस गराएको भनिन्छ । होली पर्व वास्तवमा एक आपसमा ख्याल ठट्टा, हंसीमजाक गर्ने पर्व हो । यो पर्वमा कसैको मानसिकतामा चोट पुग्ने, पीडा मर्का पार्ने, गाली बेइज्जती गर्नु एकातिर कानूनको बर्खिलाप हुन्छ भने होलीको रमाइलोपना सारा खतम भएर जान्छ । यो त सभ्य तरिकाले खेल्ने मनाउने पर्व हो । यो अवसरमा मान्यजनको हातबाट अविर वा रङ्ग लगाई आर्शिवाद लिने पर्व भएकाले यो अवसरमा भएका पुराना रिसराग समेत सबै त्यागेर प्रेमभाव र आत्मियता कायम गर्ने पर्वको रुपमा लिनु पर्दछ । तानसेन संस्कृतिमा धनी थियो । काठमांडौ उपत्यका पछि नेवारी संस्कृतिको धनी भनिएको तानसेन आज विस्तारै संस्कृतिमा गरीब हुँदै गइरहेको छ ।
पाल्पाका अन्तिम सेनबंशी राजा पृथ्वीपाल सेनको हत्या पछि पाल्पा नेपालमा विलय भयो । त्यसपछि पाल्पाका लागि आएका तैनाथवालाहरुले तानसेनमा विभिन्न संरचनाहरु निर्माणको क्रममा काठमाडौं उपत्यकाबाट ल्याएका हिन्दू तथा बौद्ध नेवार कालिगढहरु तानसेनका स्थायी नागरिक भए । तिनीहरुले आफुहरुले उपत्यकामा मनाउँदै आएका सबैजसो जात्रा चाडपर्वहरु तानसेनमा पनि स्थापित गराए, मनाउन थाले । त्यसमध्ये कतिपय संस्कार, संस्कृति अहिले जेनतेन गरी बाँचिरहेका छन्, कतिपय लोप भैसकेका छन् । आफ्ना पूर्खाहरुले गर्दै आएका पारम्परिक संस्कृति अहिले कतिपयले छोड्न सकिरहेका पनि छैनन् मनाउन पनि सकिरहेका छैनन् । तानसेन बजार त्यसबेला नेवार बस्ती थियो । आफ्नो व्यापार व्यवसायमा मस्त थिए नेवारहरु । तर विकासको क्रमले फड्को मारे सँगै तानसेनको बजार सुक्दै गयो नेवारहरुले तानसेन छोडद्ै गए । संस्कृति ओझलमा पर्दै गए लोप हुँदै गए । अहिले एउटा टक्सारटोल मात्र सकि नसकि संस्कृति संरक्षणमा लागिरहेको छ । नेवारी संस्कृति अन्तर्गतका करिव करिव सबैजसो चाडपर्वहरु यहाँ मनाइन्छ । तर अहिले टक्सारटोलले पनि संस्कृति संरक्षण कार्यलाई छोड्दै गईरहेको छ । पहिले दरवार प्राङगणमा, शीतलपाटीमा चीर गाडिन्थ्यो तर पछि यो चीर गाड्ने काम टक्सारमा मात्र हुन थाल्यो । अन्तिम पटक २०७१ सालमा चीर गाडिएको थियो त्यसपछि चीर गाड्न छोडियो । चीर गाड्ने काम संस्कृति जोगाउने काम केवल टक्सारटोलबासीले मात्र गर्दै आएका छन् भने पनि हुन्छ त्यो पनि अग्रजहरुको पहलमा । तर अहिले कतिपय अग्रजहरु निधन भैसेकेका छन् बाकी भएका अग्रजहरु पनि अशक्त हुँदै गइरहेका छन् अब उहाँहरु सक्रिय हुन सक्नुहुन्न । युवा पुस्ता अंग्रजहरुले संरक्षण गर्दै आइरहेको संस्कृतिको संंरक्षणको बेडा थाम्न अगाडि आउनु पर्ने हो तर युवा पुस्ता कोही पनि अगाडि आउने कोसिस गरेको देखिदैन । युवा पुस्तामा उदासिनता देखिएको छ । युवा पुस्ताले संस्कृति प्रति चासो नदेखाएकोमा अब टक्सारटोलले थामिरहेको संस्कृति लोप हुने चिन्तामा हुनुहुन्छ अग्रज दाजु मगलप्रसाद बज्राचार्य । काठमाडौं उपत्यकामा चीरको लागि लामो लिंंगो गाडिन्छ भने तानसेनमा म्यालको रुखको हाँगा गाडिन्छ । हुन त चीरको लागि यसरी म्यालको रुखको हाँगा गाड्ने चलन मल्लराजाहरुको पालादेखि नै प्रारम्भ भएको मल्लकालिन अभिलेखबाट थाहा हुन्छ । चीर गाड्न भजन गाउँदै म्यालको हाँगा लिन जानुपर्छ, र ल्याएर टक्सार गणेश मन्दिर अगाडि रंगी विरंगी कपडाका टुक्राहरु बाँधि गाडिन्छ ।
भजनमा उपस्थित सबैलाई समयबजी खुवाउनु पर्छ, द्वादशीको दिन फागु भजन गाइन्छ त्यसबेला पनि समयबजी खुवाउनु पर्छ । फागु पूर्णिमाको दिन चीर दहन गरे पछि फेरि सबैलाई समयबजी खुवाउनु पर्छ । परम्परादेखि चल्दै आएको चलन यद्यापि चल्दैछ तर अहिले यो परम्परा अरु कसैले चासो नलिएको कारणले लोप भयो । होली भजन सबैले गाउन सक्दैन यस्को लागि अग्रजहरुको आवश्यक्ता हुन्छ । हुन त गत वर्षदेखि नै कोरोनाको त्रासले कुनै पनि जात्राहरु हुन सकेनन् अब यसपाली पनि हुने कुरै भएन तर कोरोनाको त्रास पछि शायद युवा पुस्ता संरक्षणको प्रयासमा जुटलान कि ? तानसेनमा भएका पुराना संस्कृति संरक्षणको जिम्मा अब स्थानीय सरकारको हो तर स्थानीय सरकारको ध्यान यतातिर छ जस्तो लाग्दैन । हेरौ कस्ले बचाउँछ अब तानसेनको संस्कृति । अस्तु ।
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)


प्रकाशित मिति: सोमवार, चैत्र ९, २०७७, ११:२६:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

लकडाउनका सय दिन सोमवार, चैत्र ९, २०७७, ११:२६:००
अथकको ‘अमर पात्र’अध्ययन गर्दा सोमवार, चैत्र ९, २०७७, ११:२६:००