Shittalpati
विश्व टेलिभिजन दिवसको सार्थकता

आज विश्व टेलिभिजन दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभा बैठकको आह्वानमा प्रत्येक बर्षको २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने गरिन्छ । सन् १९३० को दशकमा प्रशारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले विश्वभरकै सशक्त सञ्चार माध्यमका रुपमा लिइन्छ । नेपालमा २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले करिब तीन दर्जन बढी टेलिभिजन च्यानलहरु प्रसारणमा रहेका छन् । टेलिभिजनको इतिहास हेर्ने हो भने सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ । सन् १९३६ मै अमेरिकामा नेसनल ब्रोडकास्ट टेलिभिजनको स्थापना भएको थियो ।

नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालमा यसले फूल्ने, फल्ने र मौलाउने मौका पायो । आज यो वरदानकै रुपमा विकास भएको छ । आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ । श्रव्यदृष्यका साथ सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेकै कारण छोटो समयमै टेलिभिजन सबैभन्दा प्रभावकारी माध्यमका रुपमा स्थापित भएको हो । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको विकासमा टेलिभिजन र टेलिभिजन पत्रकारिताको महत्वपूर्ण योगदान छ । वर्तमान सन्दर्भमा टेलिभिजन सेटको माध्यमबाट ‘विश्व एक गाउँ’का रूपमा परिणत भएको छ । सूचना, समाचार, सार्वजनिक बहस एवं शिक्षाको अतिरिक्त मनोरञ्जनका दृष्टिकोणले टेलिभिजन जति प्रभावकारी साधन अर्को छैन । अहिले गाउँघरका कुना–कुनामा टेलिभिजनको पहुँच पुगेको छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खवरदारीको भूमिका निर्वाह गर्दै ताजा–ताजा समाचार, कार्यक्रम, विज्ञापन र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गरेर दर्शक र श्रोतालाई सु–सूचित गर्नका लागि टेलिभिजनहरुले महत्वपूर्ण भूमिका खेलका छन् । सूचनाको क्षेत्रमा टेलिभिजनले पुर्‍याएको योगदान अतुलनिय रहेको छ भन्दा फरक पर्दैन । यसर्थ आगामी दिनहरुमा पनि सूचनाबाट सबैको समान पहुँच पुग्ने गरी टेलिभिजनको विकास र विस्तारमा ध्यान दिन सके हरेक वर्ष मनाइँने विश्व टेलिभिजन दिवसको सार्थकता रहन्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update