Shittalpati
आज पत्रकार महासंघको निर्वाचन: जिल्लाबाटै मतदान गर्न पाइने

पाल्पा,  नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएपछि बुधबार पहिलो पटक देशभर एकैदिन निर्वाचन हुँदैछ । १३ हजारभन्दा बढी पत्रकार सदस्यहरुले आफ्नो नेतृत्व चयनका लागि मतदान गर्दै छन् । महासंघको आगामी तीन वर्षे कार्यकालका लागि आज नयाँ नेतृत्वको निर्वाचन हुँदैछ । जिल्ला, प्रदेश र केन्द्रको एकैसाथ हुने निर्वाचनमा ७७ वटै जिल्लामा उम्मेदवारी मनोनयन दर्ता सकिएपछि आज निर्वाचन हुन लागेको हो । महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने छन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ । पाल्पामा पनि निर्वाचनको तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा पाल्पामा विभिन्न पदमा २९ जनाले उम्मेदवारी दिएका छन् । २५ वटा पदका लागि हुने निर्वाचनमा २९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । २९ जनामा केही उम्मेदवार भने निर्विरोध निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार हुन लागेको छ । उम्मेदवारी दर्ता फरक–फरक दिन भए पनि निर्वाचन भने संघीय, प्रदेश र जिल्लाको आज एकै दिन हुँदै छ । नेपाल पत्रकार महासंघका पाल्पाको अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ । प्रेस चौतारी नेपालबाट कमलराज तिमिल्सीना, प्रेस सेन्टरबाट रेखीराम राना र स्वतन्त्रबाट जीवलाल सुवेदीले उम्मेदवारी दिएका छन् । त्यसैगरी, उपाध्यक्षमा नेपाल प्रेस युनियनका सभापति भरत शर्मा, महिला उपाध्यक्षमा प्रेस चौतारीको सिर्जना घिमिरेको उम्मेदवारी परेको छ । उपाध्यक्षमा खुला एक र महिलामा एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु दुवै जना निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिवमा कृष्ण कार्की, यज्ञमुर्ति तिमिल्सीना र भोजराज भट्टराईको उम्मेदवारी परेको छ ।


सचिव पदका लागि तीनै जनाको प्रतिष्पर्धा हुने देखिएको छ । कोषाध्यक्षमा नेपाल प्रेस युनियनका मुक्तिप्रसाद न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै खुला सह–सचिवमा नारायण न्यौपाने, रिमा सोमै र समावेशी सह–सचिवमा कृष्ण दर्नालले उम्मेदवारी दिएका छन् । समावेशी तर्फका दर्नाल पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै दलित सदस्यमा विजय बौडेल, अल्प संख्याकमा रन बहादुर कुमाल, समावेशीमा अनिल लिगलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै खुला सदस्यमा ४ पदको लागि कृष्ण प्रसाद पोखरेल, भुवन रायमाझी, दुर्गेश मल्ल, सितादेवी डोटेल, सुनिल कार्की, दयाराज न्यौपाने, अमृत अधिकारी, विष्णु प्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका सदस्य भरत प्रसाद आचार्यले जानकारी दिए ।


महिला सदस्यमा भने कसैको उम्मेदवारी परेको छैन । यसैगरी २ वटा राष्ट्रिय परिषद सदस्यमा भगवान भण्डारी, देव पचभैया, गिता ज्ञवाली र केशव नेपालको उम्मेदवारी परेको छ । राष्ट्रिय परिषद सदस्यमा उम्मेदवारी दिएकी ज्ञवाली भने र्निविरोध निर्वाचित भएकी छन् । प्रदेश परिषद सदस्यमा नरभुपाल(मिलन) वि.क. र सुकुम नेपालीको उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध निर्वाचित भएका छन् । मतदान बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update