Shittalpati
भाडगाउँ–मझेङ खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता

रमेश विश्वकर्मा
गुल्मी । रेसुङ्गा भाडगाउँ, मझेङ खोला खानेपानी आयोजना निर्माणका लागि त्रिपक्षिय सम्झौता भएको छ । जलवायु अनुकुलित वृहत खानेपानी आयोजना अन्तर्गत रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि रेसुङ्गा भाडगाउँ, मझेङ खोला खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता गरिएको हो । संघीय खानेपानी आयोजना डिभिजन कार्यालय अर्घाखाँची, उपभोक्ता समिति तथा त्यस खानेपानी आयोजना निर्माणको जिम्मा लिएको कन्काई जयमाता जेभी प्रालि बिच २५ करोड १२ लाख लागत स्टमेटको सम्झौताको भएको छ । यस खानेपानी आयोजना २१ महिनाभित्र सम्पन्न गरिसक्नुपर्छ । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि आयोजनाले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले समयमै निर्माण कार्य सम्पन्न नगर्ने व्यवसायीलाई नछाड्ने दाबी गर्दै मेयर भुसालले गौरवको आयोजनाको रुपमा सञ्चालन भएका आयोजनाहरुको समयमै सम्पन्न गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गरे । प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले विकास निर्माणको काममा बलौटे नभई चिम्टाईलो भएर काम गर्नुपर्ने बताए । महत्वपूर्ण योजनाका रुपमा रहेको यस खानेपानीको आयोजनालाई समयमै सम्पन्न गर्ने तर्फ सबैको सहयोग रहनुपर्ने बताए । नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले मेलम्ची खानेपानी आयेजना जस्तो ढिलासुस्ती नगरी समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । उनले भने ‘सिङ्गो देशले प्रतिक्षा गरेको मेलम्ची खानेपानी आयोजना जस्तै बृहत बनोस् तर मेलम्ची जस्तै ढिला सुस्ती नबनोस् ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिव वीरबहादुर कार्कीले जिल्लाका राजनैतिक दल विकास निर्माणका कार्यमा बाधक नबन्ने बताए । संघीय खानेपानी आयोजना डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख रामप्रसाद घिमिरेले आयोजनालाई समयमै सम्पन्न गर्नका लागि जिल्लामा रहेका सबै राजनैतिक दल, सरोकारवाला निकायको सहजीकरण तथा सहयोगको आवश्यकता रहेको बताए । यस खानेपानी आयोजना निर्माण सहजीकरणका लागि ११ सदस्यीय रेसुा भाडगाउँ, मझेङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरिएको छ । जसको अध्यक्षमा थम्मन बहादुर खत्री, उपाध्यक्ष सावित्रा आचार्य, सचिवमा खगेन्द्रबहादुर केसी, कोषाध्यक्ष सञ्जीवनी अर्याल रहेका छन् । सदस्यहरुमा चेतमान कुँवर, बलबहादुर कुवँर, कल्पना पन्थी, पदमलाल पाण्डे, ओमकला थापा, धर्मराज पाण्डे, भगवती खत्री रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update