Shittalpati
गुल्मीमा कभर्डहलको उद्घाटन

रमेश विश्वकर्मा
गुल्मी । जिल्ला खेलकुद विकास समिति गुल्मीको नवनिर्मित कभर्डहल तथा भवन उद्घाटन गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा निर्माण भएको नव निर्मित कभर्डहल तथा भवन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्वारा बुधबार एक कार्यक्रमको बीच उद्घाटन गरिएको हो ।

नव निर्मित कभर्डहल तथा भवनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले खेलकुदले स्वास्थ्यको लागि र राष्ट्रको पहिचानको लागि मात्र नभएर समुदायको बीचमा सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले खेलकुदले संस्कार निर्माण गर्नको लागि पनि निकै मदत गर्ने दाबी गरे ।

खेलकुदले सम्पूर्ण बिभाजित बिषयहरुलाई बिर्सने गराउछ । अनि हामी सबै नेपालीहरुलाई भावनात्मक रुपमा एक हुने सिर्जना गरेको मन्त्री ज्ञवालीले बताए । त्यस्तै उनले देशको पहिचान र छबि निर्माण गर्नका लागि खेलकुद एउटा प्रभाबकारी माध्यम बन्न सक्ने दाबी गरे ।

गुल्मी जिल्लाले विगत देखि अहिलेसम्म खेलकुद क्षेत्रमा छुट्टै पहिचान बनाएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने,‘नेपालले खेलकुद क्षेत्रमा केही हदसम्म लगानी गर्न सक्यो भने खेलाडीहरुको प्रबल सम्भावना रहेको प्रमाण दक्षिण एशियाली खेलकुद समारोहले देखाएको छ ।’

खेलकुदलाई आफ्नो संस्कृती र जिवनशैलीको रुपमा विकास गर्नुपर्छ भन्ने सरकारले नीति बनाएको बताए । त्यस्तै प्रदेश र स्थानीय सरकारले पनि खेलकुद क्षेत्रमा लगानी गर्न मन्त्री ज्ञवालीले आग्रह गर्दै भने,‘अन्य विकास निर्माणमा जसरी हामीले लगानी गर्छौ, त्यसरी नै खेलकुद क्षेत्रमा पनि लगानी गर्नुपर्छ।’

कभर्डहल तथा भवन ५० लाखको लागतमा निर्माण भएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए । उनका अनुसार नव निर्मित भवनमा पाँचवटा सटर रहेको छ । उक्त सटरहरु टेण्डर प्रक्रियाद्वारा भाडामा प्रदान गरिएको छ । सटरबाट वार्षिक १३ लाख ५३ हजार ६० रुपैयाँ आम्दानी हुने कार्यालय प्रमुख विश्वकर्माले बताए ।

वर्षौ पुरानो जीर्ण भवन भत्काई सोही स्थानमा नयाँ भवन निर्माण गरिएको हो । नयाँ भवन निर्माण भैसकेपछि खेलकुद क्षेत्रमा काम गर्न निकै सहजता आएको छ । अब विस्तारै जिल्लामा खेलकुद क्षेत्रको विकास हुने बताईएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update