Shittalpati
आजदेखि मनुसन थप सक्रिय हुने

पाल्पा, आजदेखि मनुसन थप सक्रिय हुने भएको छ । बिहीबारसम्म मनुसनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागको नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन निकाल्दै बिहीबारसम्म मनुसन थप सक्रिय हुने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन आग्रह गरेको छ । मौसमी प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही देशका पहाडी भूभागका धेरै र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस्तै मंगलबारदेखि बिहीबारसम्म कर्णाली प्रदेशका अधिकाशं स्थानहरुमा हल्कादेखि मध्यम वर्षा/झरी भई एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले औंल्याएको छ । महाशाखाका अनुसार असार १२ गते सुदूरपश्चिम प्रदेशमा मनसुनी प्रणाली पुगिसकेको छ । योसँगै देशभरी मनुसनी वायुको प्रभाव थप सक्रिय भएको महाशाखाले जानकारी दिएको छ । विभागले मध्यम तथा भारी वर्षाका कारण देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको समेत जनाएको छ । ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने विभागले प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update