Shittalpati
प्रेस युनियन पाल्पाका पूर्व सभापति चापागाई पासंअसको संयोजकमा मनोनित

पाल्पा । नेपाल प्रेस युनियन पाल्पा शाखाका पूर्व सभापति सतिश चापागाई पाल्पाली संगमको अन्तर्राष्ट्रिय समन्वय(पासंअस)को संयोजकमा मनोनित भएका छन् । विश्वभर छरिएर रहेका पाल्पालीहरुलाई संगठित गरी एउटै सञ्चालनमा ल्याउने गरी संगमले चापागाईलाई अन्तर्राष्ट्रिय संययोजक तोकेको हो । संगमको केही दिन अघि बसेको बैठकले विभिन्न देशहरुमा रहेका पाल्पालीहरुलाई संगठित गर्ने, पाल्पाली संगमको सम्पर्कमा ल्याउने, विदेशमा पाल्पाली संगमको शुभेच्छुक पाल्पाली संस्थाहरु गठन गर्ने तथा स्थापना भइसकेका पाल्पाली संस्थाहरुको सवलीकरण का लागि चापागाईलाई अन्तर्राष्ट्रिय समन्वय संयोजकमा मनोनयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार उनलाई संयोजकमा नियुक्त गरिएको संगमका अध्यक्ष पदम न्यौपानेले बताए ।

आपसी सहयोग र पाल्पाको विकासका लागि समन्वयकारी भूमिका खेल्न र संगमलाई विश्वव्यापी बनाउने कार्यक्रमा चापागाईको नेतृत्व महत्वपूर्ण रहनेमा आफुहरु विश्वस्त रहेको संगमका महासचिव विष्णु खत्रीले बताए । पाल्पाको रामपुर नगरपालिका १० स्थायी बसोवास भएका चापागाई परिवार सहित विगत लामो समयदेखि अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी गैर आवसीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सञ्चार संयोजक, नेपाली डायस्पोरा नामक अनलाईन र जोगसंजोग नामक चर्चित अनलाईन टिभी कार्यक्रमका प्रोस्तोता समेत हुन् । उनले पाल्पाबाट आफ्नो पत्रकारिताको सुरुवात गरेका थिए ।

संयोजकमा मनोनित भएपछि शितलपाटी डटकम र नवजनचेतना दैनिकसँगको कुराकानीमा संयोजक चापागाईले विश्वभर छरिएर रहेका पाल्पालीहरुलाई संगठित गर्ने अभियानमा सक्रिय भएर लाग्ने बताएका छन् । बैठकले पाल्पाली संगमको वेभसाइटलाई व्यवस्थित गरेकोमा सचिव तथा वेभसाईट समिति संयोजक जीवन भण्डारीलाई धन्यवाद समेत दिएको छ । विभिन्न पेशा व्यवसाय र अध्ययनका लागि काठमाडौमा रहेका पाल्पालीहरुले २०३८ सालमा संगमको गठन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update