Shittalpati
स्याङ्जा र तनहुँवासीलाई पाल्पामा छेकबार

तानसेन । पाल्पासँग जोडिएका स्याङ्जा र तनहुँका कृषक मारमा परेका छन् । स्याङ्जा र तनहुँका बाट पाल्पा आएर काम गर्ने कृषक पुलमा लगाइएको छेकबार तथा जिल्ला बन्द घोषणाका कारण मारमा परेका हुन् । धान तथा मकै गोड्ने अहिलेको समय घर नजिकै भए पनि उनीहरु कालीनदीको पुल तरेर पाल्पा रामपुरको खेतबारीमा जान पाएका छैनन् । खेतबारीमा काम गर्ने समयमा पुलमा छेकबार लगाइएको छ । मुलुक बन्दाबन्दी र जिल्ला बन्दले खेतमा सिंचाइ गर्न जाने सहज अवस्था नहुँदा रोपिएको धान खेतमै सुक्न थालेको कृषकको गुनासो छ । ‘यसअघि बन्द गरिएको पुल दुवै जिल्लाका वडा कार्यालय र प्रहरीसँगको समन्वयमा बिहान र बेलुका कृषकका निम्ति बाटो खुला गरिएको थियो ।

अहिले पुलमा स्थानीय युवा तथा प्रहरी परिचालन गरेर आवागमनमा अवरोध गरिएको छ’, स्याङ्जा, चापाकोट दामाचौरका खगेश्वर कुमालले भने । चापाकोट नगरपालिकादेखि गएर रामपुर नगरपालिकाको खेतबारीमा काम गर्ने करीब ३० जनाको हाराहारीमा कृषक छन् । चापाकोट, दामाचौर र रामपुर प्याक्लुकघाट जोड्ने झोलुङ्गेपुलमा छेकबार लगाउँदा कृषकलाई निकै समस्या छ । ‘खेतमा मकै गोड्ने, हिउँदे धान गोड्ने चटारो छ, बिहानैदेखि बाँदरसमेत लाग्ने क्षेत्र हुँदा मकै कुर्न जान पाइँदैन, पुलमा बार छ’, कृषक कुमालले गुनासो गरे । कालीगण्डकीमा ट्युब चलाई खेतमा पानी लगाउन जान आँट गर्न नसकिएको अर्का कृषक चन्द्रबहादर कुमाल बताउन्छन् ।

‘खेतमा केही घोगा हाल्न थालेका मकै बाँदरले नष्ट पार्ने भो, धान रोपेको खेत सुकेको छ, लौन कसले सहयोग गर्ला’, कुमालले भने । स्याङ्जा र तनहुँ जिल्ला बसोबास भएका तथा पाल्पा रामपुर र बगनासकाली क्षेत्रमा खेतबारी भएका बढी कृषक छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट पाल्पा बगनासकालीमा घरगोठ भएर बसेका करीब १२ कृषक छन् । बगनासकाली गाउँपालिका ७ फाँटमा आएर कृषि काम गर्नेलाई पुल तरेर आउनजान समस्या छ । तनहुँ घिरिङ गाउँपालिकाका गजरकोट, पुट्टार र रामपुर स्याउलीबजार जोड्ने गरी कालीगण्डकीको झोलुङ्गेपुलमा लगाइएको बारले पनि घर र गोठ वारिपारि भएका कृषकको दैनिकी कष्टकर बनेको छ । तनहुँ, पुट्टारमा घर र रामपुर पीपलडाँडामा गोठ भएका कृषक सन्तबहादुर श्रेष्ठ गाईभैंँसीलाई कँुडो, घाँसपराल दिन आउन जान समस्या भएको गुनासो गर्छन ।

‘पुलमा बार छ, जसोतसो बेलुका र बिहान आएर दिनभर फर्केर आउन पाइँदैन, वस्तुभाउ फुके, लडे र खान नपाए पनि हेरचाह गर्न समस्या छ’, श्रेष्ठ भन्छन् । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भने विभिन्न बहानामा आवातजावत गर्न नपाइने तर कृषि कार्यका लागि एक एक जना खेतमा आउनेजाने व्यवस्था मिलाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले खेतीपाती एवं कृषि कामका लागि कोहीकसैलाई प्रतिबन्ध नलगाइएको र यदि यस्तो भएको भए स्थानीय सरकारले व्यवस्थापन मिलाउनुपर्ने बताए । रासस

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update