Shittalpati
विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने

तम्घास, (रासस) :गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो । भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिनुभयो ।

“झण्डा राखिएको घर कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “यसबाट अन्य तथ्याङ्क सङ्कलनमा पनि सहज हुनेछ ।” गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ । गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्वयम्सेविका रहेका छन् । अबको एक हप्ता उनीहरुलाई खाजाको व्यवस्था गरेर परिचालित गरिनेछ । अब स्वास्थ्य स्वयम्सेविकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update