Shittalpati
अपरिचित व्यक्तिलाई अनुमति विना गाउँ प्रवेशमा रोक

इमान सिं राना
पाल्पा(रामपुर),निस्दी गाउँपालिका ६ अर्चले नारी भञ्ज्याङ्ग टोलका स्थानीयहरुले अपरिचित तथा अन्य स्थानबाट आएका व्यक्तिहरुलाई गाउँ प्रवेशमा रोक लगाएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण फैलन नदिन सरकारले लकडाउनको घोषणा गरे पनि मानिसहरुको आवतजावत नरोकिए पछि नाकाहरुमा ढाडसंगै भाँजा हालेर प्रवेश निषेध गरेका हुन् । लेकाली युवा क्लबको सक्रियतामा स्थानीयहरुले पूर्वखोलाको सिलुवाबाट अर्चले हुँदै मित्याल जोड्ने सडकको दुर्व तर्फ ढाड राखेका छन् । ४४ घरपरिवारको बसोबास रहेको नारी भञ्ज्याङ्ग भएर गाडीबाट ओहोरदोहोर गर्ने तथा विभिन्न बहानामा गाउँमा नयाँ नयाँ मान्छे प्रवेश हुने गरेपछि टोलले गाउँलाई पूर्ण लकडाउन गरेको हो ।

लेकाली युवा क्लब सहसचिव प्रकाश रानाले विदेशबाट पछिल्लो समय गाउँफर्केका युवाहरु नभएको र आउन लागेकाहरुलाई पनि यस्तो बेलामा नआउन आग्रह गरे पनि अन्यत्रबाट आउने मानिसले जोखिम बढाएको भन्दै नाकाहरु बन्द गरिएको बताए । उनले भने, ‘नवलपरासी लगाएत विभिन्न स्थानबाट कहिले खसी खोज्ने त कहिले पाडा खोज्नेहरु आउने क्रम रोकिएन त्यसैले संक्रमण हुन नदिन यस्तो उपाय अपनाएका हौं ।’ रानाले थपे, ‘शनिबार हामीले प्रवेश निषेध ग¥यौं । आईतबार पनि कोदोको रक्सी खोज्न भन्दै आएका थियौ । अहिले हुँदैन भनेर फर्काइदियौं ।’लेकाली युवा क्लबका अध्यक्ष अनिल रानाले अत्यावश्यक सवारीको लागि बाटो खुल्ला गर्ने गरिएको बताए । रानाले भने, ‘अपरिचित मानिसहरुको आवतजावत बढ्यो । सधैं नाकामा कुरेर बस्न पनि नसकिने त्यसैले बरु ढाड राखेर छेकेका हौं ।’ उनले क्लबको सक्रियतामा कोरोना भाईरसको विरुद्ध सचेतना कार्यक्रम समेत गरिएको बताए । कोरोनाबाट बचौ र अरुलाई पनि बचाउ भन्ने उद्देश्यले प्रवेश निषेध गरिएको बताए ।

 

 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update