शिक्षा र समाज

आफैंले खोलेको स्कूलमा प्रअदेखि अध्यक्षसम्म

Shittalpati Reporter

काठमाडौं, गुल्मीका तिलबहादुर थापा श्रीस ७ कक्षा पढेर लाहुर गए र लाहुरे भए । मरुभूमिभन्दा कम रुखो र कम कठिन छैन उनको जीवन । १७ वर्षको कलिलो उमेरमै संघर्ष गर्दै सन् १९७० मा भारतको गोरखपुरबाट भारतीय सेनामा भर्ती भए । गाउँबाट सेनामा भर्ती हुन भनेर झरेका १८ जनामध्ये तिलबहादुरसहित ४ जना मात्र सफल भए । पल्टनको निकै कष्ठपूर्ण तालिम पूरा गरे उनले । तालिमपछि सन् १९७१ मा पूर्वी पाकिस्तानसँगको युद्धमा होमिए उनी ।

पहिलो पोस्टिङ नै ठूलो युद्व भइरहेको स्थान युद्वभूमिमा हुँदा उनको मनमा डर लाग्यो, बाँचिदैन जस्तो लाग्यो तर आत्मबल बढाउँदै उनी निरन्तर युद्वमा होमिए । तिलबहादुर रहेको पल्टन युद्धपछि सिक्किम फर्कियो । रेसुङगा नगरपालिका–८ खानीगाउँका श्रीस ७ कक्षासम्म पढेर भर्ती हुन गएका थिए । उनलाई पढ्ने तीब्र इच्छा थियो । रेसुङगाको महेन्द्र माविबाट ७ कक्षासम्म पढेका उनलाई तत्कालीन प्रवेशिका परीक्षा (एसएलसी) गर्ने धोको थियो । पल्टनमा समय पाउने बित्तिकै स्वअध्ययनसँगै अंग्रेजी र हिन्दी भाषामा नक्सा सम्बन्धी ज्ञानको दोस्रो र तेस्रो चरणको कोर्स गरे उनले । बिदाको समयमा पनि पल्टनमै पढ्थे उनी । उनले भारतको भरतमणि इन्टर कलेजबाट एसएलसी दिए तर गणित विषयमा असफल भए । पुनः सन् १९८३ मा मौका परीक्षा दिएपछि एसएलसी उत्तीर्ण गरे उनले । जागिरसँगै अध्ययनमा उनको ऊर्जा बढ्दै गयो । सन् १९८५ मा उत्तर प्रदेशबाट प्रविणता प्रमाणपत्र तहसम्मको परीक्षा दिएर भारतीय सेनाको नायक पदबाट अवकाश भए उनी । अवकाश लिँदा उनको सेवा अवधि १५ वर्ष पुगेको थियो । अवकाशलगत्तै उनले प्रविणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरे । उनले विभिन्न परिस्थतिका कारण लामो समयसम्म स्नातक तह अध्ययन गर्न पाएनन् । उनी २०५३ सालमा रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक तह पहिलो वर्षमा भर्ना भए । २०५७ सालमा स्नातक उत्तीर्ण गरे । २०५८ सालमा एमए पढ्न त्रिविमा भर्ना भए । २०६० सालमा ५४ प्रतिशत अंक ल्याएर राजनीति शास्त्रमा एमए पूरा गरे । त्यसपछि तानसेन बहुमुखी क्याम्पस पाल्पाबाट १ वर्षे बीएड गरे । उनी ७ दशकभन्दा बढी उमेरमा हिँडिरहेका छन् । देख्दा सामान्य छन् । श्रीसको स्फूर्ति देखेर सबै दंग पर्छन् । उनी २०४३ देखि २०६६ सालसम्म सिद्धबाबा माविको प्रधानाध्यापक भए । उनले आफ्नो जीवनमा गाउँको शिक्षाका लागि गरेको युद्ध अथवा संघर्ष पनि गज्जबको छ । तिलबहादुर ३ भाइमध्ये माइला हुन् । तिलबहादुर गाउँको शिक्षाको ज्योति बनेका छन् । पल्टनबाट सेवानिवृत्त भएपछि तराई झर्ने मनस्थिति बनाएर घर फर्केका थिए उनी ।

गाउँमा दलित र जनजाति समुदायको बाहुल्यता भएकाले अशिक्षित धेरै थिए । पढ्ने उमेरका बालबालिका बरालिएको देखेर श्रीसको मन पोल्थ्यो । उनले गाउँको परिवर्तनका लागि तराई झर्ने सोच त्यागे । बरू घरमै बालबालिका भेला गरेर पढाउन शुरू गरे । त्यो सधैं सम्भव थिएन । त्यसपछि गाउँकै पौवामा बालबालिका जम्मा गरेर पढाउन थाले, उनले गाउँलेहरूको चेतना र ऊर्जा थप्दै गए । खानीगाउँमा रेसुंगा प्राविको शाखाको रूपमा १ र २ कक्षा खुल्यो । स्थायी शिक्षक उत्तमराज मरासिनी र स्वयंसेवक शिक्षकका रूपमा थापा आफैंले पढाउन थाले । २०४२ सालको १ र २ कक्षाको वार्षिक परीक्षामा उनका परीक्षार्थी नै उत्कृष्ट हुन् थाले । परीक्षाफल राम्रो आएपछि गाउँलेहरू उत्साहित भए । चन्दा उठाएर र भैलो खेलेर विद्यालयका लागि जग्गा किने । जनश्रमदान, जिल्ला पञ्चायत र भारतीय राजदूतावासको सहयोगमा विद्यालयका विभिन्न संरचना निर्माण भए । २०४३ सालमा सिद्धबाबा प्रावि सञ्चालन भयो । विद्यालयले २०४९ सालदेखि ६ कक्षाको अनुमति पायो । २०५२ सालको जिल्ला स्तरीय परीक्षामा सिद्धबाबाकै विद्यार्थी प्रथम भए । समुदायमा शिक्षाको चेतना र उत्साह बढ्दै गयो । विद्यालयले २०५३ सालबाट ९ कक्षा र २०५४ सालमा १० कक्षाको अनुमति पायो । त्यो बेलासम्म सबै व्यवस्थापन अभिभावकले चन्दा संकलन गरेर गर्नुपथ्र्यो । २०५५ सालको पहिलो एसएलसी परीक्षामा ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । विद्यालयकी छात्रा जिल्ला प्रथम भइन् । विद्यार्थी संख्या र समुदायको उत्साह झन् थपियो । बाहिरबाट एसएलसी पास नभएका पनि सिद्धबाबा आउन थाले । १०४ विद्यार्थीमध्ये ६० प्रथम र बाँकी विद्यार्थी द्वितीय श्रेणीमा उत्तीर्ण भएपछि २०६० सालमा सामुदायिक विद्यालयमा सिद्धबाबा नेपालमै प्रथम स्थानमा आयो । शिक्षा मन्त्रालयले विद्यालयलाई पुरस्कृत गर्यो । तत्कालीन जिल्ला शिक्षा कार्यालयले ४ लाख रुपैयाँ दिएर पुरस्कृत गर्यो । २०६१ सालबाट विद्यालयले ११ कक्षा सञ्चालनको अनुमति आयो । ११ कक्षा सञ्चालन गर्न समुदाय डराए तर प्रध्यानाध्यापक थापा कस्सिएर लागे । विद्यार्थी सोचेभन्दा दोब्बर भर्ना भए । विद्यालयमा द्वन्द्वकालका बेला पनि ५०० बढी विद्यार्थी थिए । हालसम्म ११ र १२ कक्षाको पढाइ भइरहेको छ । तिलबहादुरले भारतीय सेनाको सेवाबाट गाउँ फर्किएर घरको पेटी, पौवा हुँदै सिद्धबाबा माविसम्म हजारौ विद्यार्थीलाई शिक्षाको ज्योति दिए । आफू पनि आयोगको परीक्षाबाट सरकारी शिक्षक बने । उनले शिक्षा र सामाजिक कार्यमा गरेको योगदानको सम्मान गर्दै तत्कालीन सरकारले २०६१ कात्तिकमा गोरखा दक्षिण बाहु चौथो पदकबाट थापा श्रीसलाई सम्मान ग¥यो । २०६१ देखि २०६९ सालसम्म ‘प्लस टु’ मा राजनीति शास्त्र विषयको अध्यापन पनि गराए । २०४२ देखि २०६९ सालसम्म प्रधानाध्यापक भए । २०६६ सालपछि डोरविक्रम श्रीसलाई ७० लाख नगद कोषसहित जिम्मेवारी सुम्पिए, उनी २०६९ सालमा अनिवार्य अवकाश भए । २ वर्ष अध्यापन गराएको रकम समेत विद्यालयलाई दिएर छोडे । २०७९ सालमा अनिवार्य अवकाश भएपछि त्यसयता विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन् ।

अहिले श्रीसको शरीरले लठ्ठीको सहारा खोज्न थालेको छ । लठ्ठी टेकेरै भए पनि विद्यालय पुग्छन् । ‘एक छाक खान नपुग्नेहरूले पनि सहयोग गरे । मैले पनि अभिभावकको सल्लाह विना केही गरिनँ,’ श्रीस भन्छन्, ‘सकारात्मक दृष्टिकोणले गरेका काममा सबैको सहयोग हुन्छ ।’ सरकारले निःशुल्क शिक्षा भनेर काम नगरेका कारण सरकारी शिक्षाप्रति नागरिकमा निराशा बढेको उनको बुझाइ छ । शिक्षामा शिक्षकले राजनीति गर्न हुँदैन भन्ने विश्वास उनमा छ । शिक्षक कर्तव्यनिष्ट, निःस्वार्थ, आर्थिक रूपमा पारदर्शी बन्न सके शिक्षादेखि प्रशासनसम्ममा आमूल सुधार ल्याउन सकिने उनी बताउँछन् । उनलाई विद्यालयमा राजनीतिक कमिटी बनाउन दबाब आए तर कहिल्यै बनाउन दिएनन् । तिलबहादुर सिद्धबाबा माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन् । जुन विद्यालय देशभर चर्चामा छ । घरको पिँढी र पौवाबाट शुरू भएको सिद्धबाबा माविले ‘ब्रिटिस काउन्सिल’ ले प्रदान गर्ने ‘अन्तराष्ट्रिय स्कूल अवार्ड’ प्राप्त गरेको छ ।
–लोकान्तर डटकम


प्रकाशित मिति: सोमवार, असार ६, २०७९, ०१:२१:००
प्रतिक्रिया दिनुहोस्