Shittalpati
तानसेनमा एमालेको निर्वाचन समिक्षा : नगर र सबै वडा कमिटी विघटन

पाल्पा,एमालेले तानसेनमा निर्वाचनको समिक्षा गर्दै तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ । पार्टीका उम्मेदवार ठाकुर प्रसाद गैरे फागुन २१ गतेको निर्वाचनमा पराजय भएपछि समिक्षा गर्न बसेको पहिलो बैठकले  एमाले नगर कमिटी सहित १४ वटै वडा कमिटी  विघटन गरेको हो ।  बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि बढाउन नसकिने भन्दै नगर र सबै वडा कमिटीहरू विघटन गरिएको जनाएको छ ।

नगर भित्रका १४ वटै वडामा एमालेका वडा कमिटी गठन गरिएका थिए । ती सबै कमिटी विघटन गरिएको विघटित कमिटिका नगर अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए । उनले भने “अब कार्यकर्ताहरूको रोजाइ अनुसार चुस्त दुरूस्त र कामकाजी कमिटी गठन हुन्छन्,।” नगर र वडामा अर्को कमिटी गठन नहुँदासम्म भने अहिले विघटन गरिएका पुरानै कमिटीले काम गर्ने छन् । नयाँ कमिटी गठनका लागि जेठ ३ गते नगर कमिटी गठनका लागि अधिवेशन गर्ने निर्णय गरिएको छ भने तीन महिनाभित्र सबै वडा कमिटीहरूले अधिवेशन गर्ने निर्णय भएको आत्रेयले बताए । निर्वाचनको परिणाम सोचे अनुरूप नआएपछि  मंगलबार बसेको समिक्षा बैठकले हालको संरचनाबाट पार्टीलाई गति दिन नसकिने निष्कर्ष निकाल्दै यस्तो कठोर कदम चालेको आत्रेयको भनाइ छ ।

नगरपालिकामा एमालेको हारको प्रतिक्रिया मात्र नभई माथिल्लो कमिटीहरुलाई पुनरसंरचनाको लागि दवाव सिर्जना गर्न आफ्नै अध्यक्षतामा भएको तानसेन नगर कमिटी विघटन गरिएको उनले बताए । अहिलेको केन्द्रीय नेतृत्व र कार्यशैली परिवर्तन नभएसम्म पार्टी अगाडि बढ्न सक्दैन भन्ने हाम्रो निष्कर्ष हो, यो निर्णय जिल्ला र केन्द्रलाई दबाब दिनका लागि पनि लिइएको आत्रेयले प्रष्ट पारे । समीक्षा बैठकमा सहभागी तानसेन नगर कमिटीका अधिकाश सदस्यहरुले सक्रिय राजनीति गर्ने उमेर हद कायम राखी पाका पुस्तालाई सल्लाहकार, युवा पुस्तालाई नेतृत्व दिएर पार्टी पुनरसंरचना गर्नुपर्नेमा जोड दिएका छन् । अब बन्ने कमिटीहरुमा युवा पुस्ताको नेतृत्व र बहुमत हुनुपर्नेमा सहभागीहरुले जोड दिए ।  

एमालेको नगरमा आधा भन्दा बढी मत घट्यो  

२०७९ को निर्वाचनमा तानसेन नगरपालिकामा ९ हजार मत आएको थियो । अहिलेको निर्वाचनमा ७ हजार मतको आशा गरेपनि ३ हजार ८ सय मत एमालेलाई आएकोले पनि कमिटी पुनरसंरचनाको लागि पनि कमिटी भंग गरिएको आत्रेयको दावी छ । एमाले केन्द्रिय सदस्य ठाकुर प्रसाद गैरेले  पाल्पामा पार्टीको मत घट्नुमा जिल्ला तहको कमजोरी भन्दा पनि बदलिँदो राष्ट्रिय राजनीतिक माहोल र जनमतको बदलिँदो प्राथमिकतालाई मुख्य कारण रहेको बताए ।  पाल्पा क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका गैरेले प्रतिकूल परिस्थितिमा पनि एक पटकको  हारबाट  जनता तथा कार्यकर्ताहरु निराश हुनु पर्दैन, जनताको सेवा गर्न सधैँ पदमै हुनुपर्छ भन्ने छैन, निरन्तरको सेवाले फेरि जनताको मन र मत दुवै जित्न सकिने बताए ।

नगर कमिटी ७० सदस्यीय रहेको छ । नगरका प्रत्येक वडा कमिटीमा ५० जना सम्म सक्रिय कार्यकर्ता छन् । यसरी १४ वटा वडामा मात्र ७०० जना र नगरका ७० जना गरी ७७० जना कार्यकर्ताहरु तानसेन नगर कमिटीमा आवद्ध छन् । कमिटीमा रहेका अधिकाशं व्यक्तिहरु अधिवेशनको दिन मरिहत्ते गरेर पद लिने, पद पाएपछि सिन्को नभाच्ने, आफ्नो स्वार्थको लागि पद भजाउने कार्यकर्ताको बाहुल्यता बढी छ । अझै पनि एमाले कार्यकर्ताले पार्टी सुध्रियोस, जनताको भावना अनुसार काम गरोस्, नातावाद, कृपावादमा नफसोस्, कानुनको बराबरी पालना गरोस् भनी चाहाना राखेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update