मानवको लक्ष्य खुसी प्राप्ति नै हो । मानिस सधैं खुसी र सुखमा रमाउन चाहन्छ । कहीं गुमाउँदा प्राप्त गरेको खुसी पाउँदाको भन्दा बढी हुन पनि सक्छ । मानिस खुसीमा जिउने चाहना हुनु अस्वाभाविक पनि होइन । सुख र दुःखसँग जोडिने खुसीले चेतनशील जीवमा महत्वपूर्ण स्थान बनाएको हुन्छ । खुसीको भावले मानव मन र मस्तिष्कलाई स्वस्थ बनाउँछ । मानिस खुसी हुनु भनेको स्वस्थ हुनु पनि हो । तर मानिस खुलेर खुसी हुन सक्दैन । धेरैजसो समय मानिस चिन्ताग्रस्त, तनावग्रस्तरुमा हुन्छ । उसको दैनिकी धपेडीमा बित्छ । अहिले तनाव विश्वकै प्रमुख समस्याको रूपमा देखापरेको छ । तनावको उचित व्यवस्थापन गर्न नसक्दा व्यक्तिहरू मानसिक रोग (डिप्रेसन) को सिकार बनी आफ्नो उत्पादनशील समय पीडा र छट्पटीमा बिताउन विवश छन् । चिन्ता गर्दा–गर्दा चिन्ताले नै चिताको बाटोमा लैजान्छ । तसर्थ चिन्ताको भुमरीबाट मुक्ति पाई खुसी, उमङ्ग र उल्लासमय जीवन जिउन जरुरी छ ।खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन् । कोही शान्त वातावरणमा रमाउँदा खुसी हुन्छन् त कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुसी हुन्छन् । कोही चाँही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुसी मान्छन् । जे जस्तो भएपनि खुसी रहनु ठूलो कुरा हो । खुसीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ । खासमा खुसी भन्ने कुरा भौतिक कुराबाट प्राप्त हुने होइन । यद्यपी त्यो खुसीको माध्यम भने बन्न सक्छ । जब मानसिक विकार हटाएर सकारात्मक सोंच, धारणाको विकास हुन्छ, खुसी आफै प्राप्त हुन्छ । खुसीका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउनका लागि हरेक वर्ष विश्व खुसी दिवस मनाइने गरिन्छ ।
आज पनि विश्वभर अन्तर्राष्ट्रिय खुसी दिवस मनाइँदै छ । सयुक्त राष्ट्रसंघले हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको हो । यो दिवस मानिसले खुसी हुन पाउनु अधिकार हो भनेर मनाउन सुरु गरिएको हो । आशा खुसीको उज्यालो चहक हो भने निराशा खुसीमा लागेको ग्रहण । निराशाको ग्रहणलाई छिचोल्दै छाएका किरणले खुसीका संकेत निर्माण गर्छ । आशा र निराशाको पौंठाजोरीमा प्राप्त नतिजाले मात्र मानव जीवनको खुसी निर्धारण गर्छ । तसर्थ मानिस हरेक क्षण खुसी हुन सिकौं ।

